नेपाल फर्केर नाटक घर निर्माणमा लाग्ने

|
भारतको हरियाणामा मञ्चन गरिएको 'मालिनी: द प्रिन्सेस अफ गार्डेन' नाटकको एक दृश्य, फोटो: थिएटर भिलेज

काठमाडौँ: थिएटर भिलेज नाटक लिएर युरोप यात्रामा जाने भएको छ। रंगकर्मी विमल सुवेदी निर्देशक रहेको नाटक 'मालिनी: द प्रिन्सेस अफ गार्डेन'को मञ्चनका लागि थिएटर भिलेज युरोप जान लागेको हो।

विश्वप्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टेगोरको नाटक 'मालिनी'को समसामयिक व्याख्या गरेर तयार पारेको नाटकको मञ्चनका लागि थिएटर भिलेजलाई युरोपको अमेच्योर नाट्यसंस्थाहरूको छाता संस्थाले निमन्त्रणा गरेको हो। थिएटर भिलेजको युरोप यात्रा २१ दिनको रहने निर्देशक सुवेदीले जानकारी दिए।

थिएटर भिलेजले 'मालिनी: द प्रिन्सेस अफ गार्डेन'को मञ्चन जर्मनीको राजधानी बर्लिनलगायतका विभिन्न शहरमा र बेल्जियमका शहरमा गर्नेछ।

नाटक यात्राका क्रममा थिएटर भिलेजका कलाकारहरूले युरोपका प्रसिद्ध नाट्य संस्थाले आयोजना गर्ने कार्यशालामा सहभागिता जनाउनुका साथै नाटकसम्बन्धी तालिम पनि लिने बताइएको छ। त्यस्तै रंगकर्मी विमल सुवेदीले युरोपका नाट्य समूहहरूलाई तालिम दिने कार्यक्रम पनि रहेको थिएटर भिलेजले जानकारी दिएको छ।

नेपालबाट युरोपमा मञ्चन हुन लागेको 'मालिनी: द प्रिन्सेस अफ गार्डेन' नाटकलाई विमल सुवेदीले निर्देशन गरेका छन् भने राजेन्द्र श्रेष्ठ, सुजन ओली, दिपेश राई, जेनी सुनुवार र नवराज पराजुलीको अभिनय रहेको छI दिलीप रानाभाटको ध्वनि व्यवस्थापन र विपुल पाण्डेको प्रकाश संयोजन रहेको यो नाटकलाई जीवेश रायमाझीले नेपालीमा अनुवाद गरेका हुन्।

'मालिनी: द प्रिन्सेस अफ गार्डेन'लाई थिएटर भिलेजले सन् २०१४ मा ‘नेसनल एकेडेमी अफ पर्फर्मेन्स आर्ट’ पाकिस्तानमा मञ्चन गरेको थियो। यही नाटकलाई सन् २०१६ मा थिएटर भिलेजले नै भारतीय संस्कृति मन्त्रालयको सहकार्यमा हरियाणा, राजस्थान र गोवालगायतका शहरहरूमा मञ्चन गरेको थियो। यसको सुरुवाती मञ्चन भने सन् २०१६ मा थिएटर भिलेजमा गरिएको थियो।

नाटकमार्फत नेपाली समाज देखाउन युरोप यात्रामा जान लागेको निर्देशक सुवेदीले बताए। नेपाली नाटकमा राम्रो काम भइरहेको र विश्वलाई देखाउन सकिन्छ भन्ने देखाउन यो यात्रा सहयोगी हुने बताउँदै युरोप यात्राबारे सुवेदीले भने, 'विश्व रंगमञ्चमा नेपाली नाटक निकै माथि उठिसकेको छ भन्ने कुरालाई युरोपमा देखाउने यो अवसर र चुनौती दुवै होI'

नाटक युरोपेली दर्शकका लागि नयाँ हुने विश्वास लिएका सुवेदीले नाटकबारे भने, 'यस नाटकको नाट्य बनावटको प्रक्रिया र न्यारेटिभ (कथावाचन शैली) संरचना भारतीय नाटकमा नै पहिलो पटक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त विज्ञहरूबीच संलग्न भएकोले यहाँको लागि मात्र नभई युरोपेली दर्शकको लागि पनि नयाँ हुने विश्वास छI'

थिएटर भिलेज नाटकघर अहिले बन्द भएको छ। तर थिएटर भिलेजका कलाकारहरूले नाटक तयार पारेर अन्तर्राष्ट्रिय रंगमञ्चमा नेपालको प्रतिनिधित्व गरिरहेका छन्। यसै क्रममा थिएटर भिलेजले नाटक लिएर बेलायत, भारत, पाकिस्तानको यात्रा गरिसकेका छन् भने यस पटक युरोप यात्रामा जान लागेका छन्। युरोप यात्रापछि आफ्नै नाटकघर निर्माणमा लाग्ने योजना रहेको थिएटर भिलेजका अध्यक्ष जीवेश रायमाझीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.