|

बाँकेः गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले निर्वाचनमा सहभागी भएर निर्वाचनविरोधी काम गर्ने कार्य अनैतिक हुने बताएका छन्। 

नेपालगञ्जमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्री शर्माले राष्ट्रिय जनता पार्टी र विप्लव माओवादीले समेत स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएकाले उनीहरूले निर्वाचनविरोधी गतिविधि नगर्ने विश्वास व्यक्त गरे। ‘आफैँ सहभागी भएको निर्वाचन बिथोल्ने कल्पनासमेत गर्न सकिँदैन’, उनले भने।

राजपा र सरकारबीच भएको सहमतिका आधारमा प्रदेश नं. २ को निर्वाचन असोज २ गते सारिएको बताउँदै उनले सरकारसँगको सहमतिकै आधारमा राष्ट्रिय जनता पार्टीले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएको दाबी पनि गरे। ‘सरकारले निर्वाचन गराउने र उक्त निर्वाचनमा राजपा सहभागी हुने सहमति सरकार र राजपाबीच भएकै हो’, गृहमन्त्री शर्माले भने। 

स्थानीय तह निर्वाचनको विषयमा नेपालगञ्जमा आयोजित सुरक्षा गोष्ठीपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री शर्माले निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्था सरकारले मिलाइसकेको स्पष्ट पारे। ‘निर्वाचनको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन भइसकेका छन्’, उनले भने। 

उनले निर्वाचनविरोधी गतिविधि र चुनावमा भाग लिएका राजनीतिक दलबीचको अस्वस्थ प्रतिष्पर्धा सुरक्षा चुनौतीका रूपमा रहेको बताए। ‘संवेदनशील क्षेत्रको पहिचान गरी सुरक्षाकर्मी परिचालन भइसकेका छन्’, उनले भने, ‘निर्धक्क साथ मतदान गर्ने वातावरण सरकारले मिलाइसकेको छ।’

उनले निर्वाचनका क्रममा सामान्य खालका चुनौती हुनु स्वाभाविक भएको बताउँदै एकाध घटना हुनुलाई खासै ठूलो मान्न नहुने बताए। बाँकेका केही स्थानीय तहमा राजपाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएको उनको दाबी थियो। ‘सहमतिकै आधारमा राजपाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ’, उनले भने। 

गृहमन्त्री शर्माको उपस्थितिमा बाँकेसहित ५ नम्बर प्रदेशका छ जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको नेपालगञ्जमा भएको बैठकपछि गृहमन्त्री शर्माले दोस्रो चरणको निर्वाचनमा जनताले ढुक्कसँग मताधिकार प्रयोग गर्न पाउने बताए।

मनोनयनका क्रममा भएका छिटपुट घटनालाई सूक्ष्म रूपमा अनुसन्धान गरिएको भन्दै उनले आगामी दिनमा त्यस्ता घटना हुन नदिन सुरक्षा निकाय सतर्क रहेको पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.