|

उदयपुर :  मनोनयन दर्ता भएको दुई दिन बित्दा पनि उदयपुरमा उम्मेदवारको संख्या टुंगिएको छैन। जिल्लाका ८ स्थानीय तहका ७५ वडाबाट कति उम्मेदवारले मनोनय पत्र दर्ता गरे भन्ने संख्या नै यकिन भएको छैन ।

जिल्ला निर्वाचन कार्यालयले सोमबार दिउँसोसम्म मनोनय दर्ता गर्ने उम्मेदवारको संख्या सार्वजानिक गर्ने भने पनि आज बिहानसम्म पहाडी क्षेत्रका स्थानीय तहबाट संख्या नआएको जानकारी दिएको छ।

निर्वाचन कार्यालयका कर्मचारी रुना कार्कीले स्थानीय तहका निर्वाचन अधिकृतले तथ्याङ्क नै  नपठाएको जानकारी दिइन्। ‘इन्टरनेट नचलेका कारण सफ्टवेयरले काम गरेको छैन,’ उनले भनिन्, ‘धेरै ठाँउबाट मौखिक रूपमा टिपिएको छ, कुनै तहको पनि तथ्याङ्क ठ्यक्कै भन्ने अवस्था छैन।’

 इन्टरनेटको कारण देखाउँदै सुगम क्षेत्रमा पर्ने कटारी, चौदण्डी र त्रियुगा नगरपालिकाको समेत मनोनय दर्ताको आधिकारिक संख्या दिइएको छैन। निर्वाचन अधिकृतहरुले दिएको जानकारी अनुसार त्रियुगा नगरपालिकामा ४१६, बेलकामा १९८, कटारी नगरपालिकामा २७० र चौदण्डी नगरपालिकामा २६० जनाले मनोनय दर्ता गराएका छन्।

चार गाँउपालिकामध्ये सुनकोसीमा ९८, उदयपुरगढी गाँउपालिकामा १३७ जना छन् भने रौतामाई र ताप्ली गाँउपालिकामा उम्मेदवारको संख्या अझै  यकिन भएको छैन।  जिल्ला निर्वाचन कार्यालयका प्रमुख एकबहादुर बस्नेत र सूचना अधिकारी अर्जुन खड्का तालिममा रहेका कारण पनि तथ्यांक आउन ढिलो भएको कार्कीले बताइन्।

अन्य जिल्लामा दाबी विरोध परेको जानकारी आइरहेको बेला उदयपुरमा मनोनय पत्र गर्ने उम्मेदवारको संख्या नटुंगिएकाले  जिल्ला निर्वाचन कार्यालयप्रति शंका उब्जिएको सर्वसाधारणको गुनासो छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.