चैते धानमा रोग लागेर उत्पादन शून्य, किसानहरु चिन्तित

|

गोरखा : सबै किसानले मानो रोपेर मुरी फलाउने आशामै खेती गरेका हुन्छन्। तर पालुङ्टार नगरपालिकाका एक किसानले भने रोग लागेर धान नफलेपछि खेतमै आगो लगाएका छन्।  कृषि अनुसन्धान परिषद (नार्क) ले गोरखाका किसानहरुलाई हर्दिनाथ धानको बिउ सिफारिस गरेको थियो।

कृषिले दिएको बिउ रोप्दा सबैतिर भुस मात्र फल्यो

जिल्ला कृषि विकास कार्यालयले किसानहरुलाई ७५ प्रतिशत अनुदानमा घरघरमै धानको बिउ उपलब्ध गराएको थियो। गोरखा नगरपालिका तथा पालुङ्टार नगरपालिकाका सयौं रोपनी फाँटमा लगाइएका हर्दिनाथ जातको चैते धान भुस मात्र फलेपछि किसानहरु ठगिएका छन्।

‘लोभले लाभ, लाभले बिलाप भन्थे हो रहेछ’ पालुङटार नगरपालिका ९ कुँडुलेफाँटका किसान उमेश ढकालले भने, ‘पोहोर करिब पाँचसय मुरी उत्पादन भएको फाँटमा यो बर्ष भुस मात्रै फल्यो।’ २२ जना किसानले यस वर्ष चैतेधान भित्र्याउन नपाएका उनले बताए।

सित्तैमा पाइयो भनेर लिँदा फसियो

सित्तैमा पाइयो भनेर लिँदा फसेको यहाँका किसानहरु बताउँछन्, ‘अनुदानमा पाइयो भनेर सबैले लिए तर यस्तो भयो’ ढकालले भने, ‘धेरै फल्छ भनेर हाइब्रिड जातको धान रोपेको धोका भयो।’ बाला निकाल्ने बेलासम्म धान राम्रो भएको भन्दै उनी भन्छन्, ‘बाला पनि लाग्यो। तर जब धान पाक्ने बेला भयो, अनि चामल नै नपसी बाला सुक्न थाल्यो। करिब पाँच दिनको अन्तरालमा फाँटै भुस भयो।’ खेत जोत्ने, रोपाइँ गर्ने गोड्ने श्रम तथा मलमा गरेको खर्च बेकार भएको भन्दै उनले गुनासो गरे।

बोट काटेर फाल्न झन्झट

धानको बोट काटेर खोलामा फ्याँक्ने किसानहरुले तयारी गरेका छन्। ‘धानैसहित जोत्न नमिल्ने रहेछ। रोग लागेको धान बस्तुभाउलाई खुवाउनु हुँदैन भन्छन् त्यसैले काटेर खारखोलामा फाल्ने सल्लाह भएको छ।’ ढकालले भने, ‘रोपाइँको बेला छ। खोलामा बाँध थुन्न पनि प्रयोग हुन्छ।’

किसानहरुका अनुसार पालुङ्टार ९ को कुँडुलेफाँट, बैरेनीफाँट, घडेरीखोला फाँट, वडा नं. ८ का विभिन्न फाँटमा पनि सोही जातको धानको बोटमा भुस फलेको छ। त्यस्तै गोरखा नगरपालिका ११ को सिर्दिखोलाफाँट, माथिल्लोफाँट, झोलुंगेफाँटमा लगाइएको हर्दिनाथ जातको धानको बिउबाट पनि किसानहरु ठगिएका छन्।

क्षतिपूर्ति पाउनुपर्ने माग

‘आधाआधी झुलिसकेपछि एक्कासि धानमा रोग देखा पर्‍यो’ सिर्दिखोलाफाँटका किसान केशव न्यौपानेले भने, ‘तीन दिनको बीचमा ३० किसानको करिब पाँचसय २५ मुरी फल्ने गरेको धानको बोट मर्‍यो। पतेराले होला भनेर औषधी राख्दा पनि ठिक भएन।’ सुकेको धानको बोट काटेर जलाएको उनले बताए। ‘अरु धानमा नफैलियोस भनेर सबै धानमा आगो लगाइयो’ न्यौपानेले भने, ‘धेरै पाउने आशाले डुबायो।’ सरकारले उपलब्ध गराएको बिउ हुनाले क्षतिपूर्ति पाउनुपर्ने उनको दाबी छ।

बिमा नगरेकाले क्षतिपूर्ति दिँदैनौं : कृषि कार्यालय

जिल्ला कृषि विकास कार्यालय भने किसानहरुले कृषि बिमा नगरेकाले क्षतिपूर्ति दिन नसक्ने बताउँछ। ‘कृषि बिमा गराउन सरकार लागिपरेको छ तर किसानहरु बिमा गर्दैनन्। अहिले क्षतिपूर्ति कसरी दाबी गर्न मिल्छ?’ वरिष्ठ कृषि विकास अधिकृत यमकुमार श्रेष्ठ भन्छन् ‘अब अर्को वर्ष केही सहयोग गर्न सकिन्छ कि प्रयास गरौं।’

कार्यालयका अनुसार सो जातको धानमा अत्यन्तै खतरनाक मानिने नेकब्लाष्ट नामक रोग लागेको हो। ‘यो रोगले बालाभन्दा तल आक्रमण गरेर बालामा धान विकास हुन दिँदैन’ बरिष्ठ कृषि विकास अधिकृत श्रेष्ठ भन्छन्, ‘यो एकदमै छिटो फैलिने खतरनाक रोग हो। किसानले हामीलाई खबर गर्न पनि भ्याउनुभएन। उपचार गर्न पनि भ्याइएन।’ धेरै तिरबाट यस्तो समस्या र गुनासो आएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.