सन्दर्भ : आज विश्‍व शरणार्थी दिवस

|

दमक : झापाको दमक र मोरङको पथरी-शनिश्चरेमा रहेका भुटानी शरणार्थीहरुले मंगलबार १७ औं विश्व शरणार्थी दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएका छन्।उनीहरुले शरणार्थी समस्या समाधान गर्न माग गर्दै शरणार्थी दिवस बनाएका हुन्। नेपाल सरकार र युएनएचसिआरको सहयोग र बेल्डाँगी शिविर व्यवस्थापन समिति र शनिश्चरे क्याम्प व्यवस्थापन समितिको आयोजनामा बेल्डाँगी क्याम्पमा एक भव्य समारोहको आयोजना गरिएको थियो।

कार्यक्रमको अवसर पारेर दुवै क्याम्प व्यवस्थापन समितिले भुटानी शरणार्थी समस्याको दिगो समाधान गर्न कार्यक्रमका प्रमुख अतिथि समेत रहेका झापाका प्रमुख जिल्ला अधिकारी उत्तर कुमार खत्रीलाई ज्ञापनपत्र बुझाए।

उनीहरुले भुटानी शरणार्थीहरुलाई अन्तराष्ट्रिय शरणार्थीको मान्यता दिनु पर्ने, स्वदेश फर्कन चाहने शरणार्थीलाई सरकारले प्राथमिकता दिनु पर्ने त्यस पछि मात्र नेपालमानै वस्न चाहने र तेश्रो मुलुक पुर्नवास हुन चहानेको मागलाई समेटेर प्रजिअ खत्रिलाई ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खत्रीले शरणार्थी समस्या समाधानमा आफूहरु गम्भीर भएको बताए। उनले नेपाल सरकारसंग यो समस्या राख्ने प्रतिबद्धता ब्यक्त गरे। उनले भने, ‘तपाईहरुको समस्याका विषयमा म पहिला देखिनै जानकार छु, यो विषयमा म गम्भीर पनि छु, नेपाल सरकारसमक्ष म तपाईहरुको माग गम्भीरता पूर्वक राख्नेछु।’

कार्यक्रममा भूटानी शरणार्थी स्वदेश फिर्ती समितिका अध्यक्ष डाक्टर भम्पा राईले भूटानी शरणार्थी समस्याको दिगो समाधान भनेको स्वदेश फिर्तीनै रहेको बताए। उनले भने, ‘हामीलाई हाम्रो जन्मभूमिको माया छ, हाम्रो समस्याको समाधान भनेको स्वदेश फिर्तीनै हो, यसका लागि हामी सबैसँग पहल गर्न आग्रह गर्छौं।’

कार्यक्रममा विविध सांकृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो। शरणार्थी कलाकारहरुलले आफ्नो देशको पहिचान झल्कने नृत्य प्रस्तुत गरे। कार्यक्रममा हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि शरणार्थीहरुलाई हसाएका थिए। उनीहरुलाई भूटानी शरणार्थीहरुले अभिनन्दन समेत गरे।

स्वदेश फिर्तीलाई प्राथमिकता दिइनुपर्छ

दिवस मनाइरहँदा भुटानी शरणार्थीहरुले स्वदेश फिर्तीलाई शरणार्थीसम्बन्धी हेर्ने संघसंस्थाहरुले प्राथमिकता नदिएको गुनासो गरेका छन्। उनीहरुले आफूहरुको स्वदेश फर्कने अधिकारले प्राथमिकता पाउनुपर्ने बताए। शरणार्थी शिविर बेल्डाँगीमा बसोबास गर्दै आएका शरणार्थी हर्क बहादुर घलेले आफूहरुले स्वदेश फर्कन पाउनुपर्ने बताए। उनले भने,‘हाम्रो प्रमुख माग भनेकै स्वदेश फर्कन पाउनु पर्ने हो, पटक पटक स्वदेश फर्कन पाउँनु पर्ने माग गर्दै आन्दोलन गर्यौँ तर सुनुवाई भएन।’

तेस्रो मुलुक पुनर्बास बन्द गरेर स्वदेश फर्काउन पर्ने बताए। उनले भने, ‘तेस्रो मुलुक पुनर्वास गर्नाले स्वदेश फर्कन चहानेहरु पनि निरासाले तेस्रो मुलुक पुनर्वास गएका छन्, त्यसैले पहिला स्वदेश फर्कन चाहनेलाई स्वदेश फर्कन दिईनुपर्छ।’

परिचयविहीनलाई परिचयपत्र दे

अहिले झापा र मोरङमा रहेका यी दुई क्याम्पमा १६ सय ४१ जना परिचय पत्रविहीन शरणार्थीहरु आफूहरुलाई पचियपत्र दिनुपर्ने माग गरेका छन्। आफूहरुलाई यो संसारमा मानव भएर बाच्न परिचय उपलब्ध गराउन माग गरेका हुन्। आफूहरुले लामो समय सम्म शिविरमा बस्दासम्म परिचयपत्र नापाएको सिंहवीर तामाङले दुखेसो पोखे।

उनले भने‘ हाम्रो परिवार सबैको परिचयपत्र छ, उहाँहरु सबै विदेश जानुभयो, पहिला फोटो खिचाउने बेला हामी पढ्न बाहिर गएका थियौँ, अहिले सम्म हामी परिचय विहीन बन्नु पर्यो’। आफूहरुलाई परिचयपत्र उपलब्ध गराउन उनले सबै संग आग्रह समेत गरे।

तेस्रो मुलुक पर्नवासले पारिवारीक विचलन

शरणार्थीको तेस्रो मुलुक पुनर्वासले परिवारमा ठूलो विचलन ल्याएको छ। हालसम्म अमेरिका, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, डेनमार्कमा लयागत देशमा एक लाख ३० हजार बढी तेस्रो मुलुक पुनर्वास भइसकेका छन्।आधा परिवार तोस्रो मुलुक र आधा नेपालमा हुँदा शरणार्थीमा पारिवारिक विचलन आएको छ।

आधि परिवार अमेरिका भएको र आफू पनि जान चाहँदा पनि नसक्दा धेरै समस्या भएको बेल्डाँगी शिविरमा बस्दै आएका भूटानी शरणार्थी कृष्ण बहादुर दर्जीले बताए। उनले भने, ‘मेरो दूई जना छोरीहरु अमेरिका छन्, यहाँ श्रीमती र म छौं हामीले पनि धेरै जाने कोशिष गर्यौँ तर हाल सम्म जान सकेका छौनौँ श्रीमतीको पहिला दर्ता गर्न छुटेको अहिले सम्म परिचयपत्र पाउन सकेकी छैनन्, त्यसैले म पागल हुने अवस्थामा पुगिसकें।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.