|

चितवन : चितवनमा २०७४ सालको शुरुआतसँगै ४ जनामा स्क्रब टाईफस रोग फेला परेको छ।  गएको पुसदेखि नियन्त्रणमा आएको स्क्रब टाइफस रोग यो बर्षको शुरुआती दुई महिनाको अन्तरालमा ४ जनामा रोग देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए।

उनका अनुसार संक्रमित हुनेमा चारैजना महिला छन्। ३ जना चितवनका र १ जना नवलपरासीका विरामी हुन्। चितवनमा वैशाख २५ र २९ तथा जेठ महिनाको १ र १२ गते टाइफस रोग लागेको विरामी फेला परेको हो। असारको प्रतिवेदन भने आइनसकेको केसीले जानकारी दिए। चारैजना विरामी चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा भेटिएका हुन्।

चितवनमा गएको बर्षदेखि स्क्रबटाईफस रोग देखिएको थियो। गएको वर्ष बैशाखदेखि पुस महिनासम्म यहाँ कुल ५३३ जनामा टाइफस रोग देखिएकोमा ५ जनाको मृत्यु भएको थियो।

अघिल्लो वर्ष देशभरी ४७ जिल्लामा देखिएको रोगबाट कुल ८३० जना विरामी मध्य १४ जनाको मृत्यु भएको ईपिडिमियोजोडी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले जानकारी दिए।

अब पुन चितवनमा रोग देखिन थालेकाले देशभर ७५ वटै जिल्लामा सर्कुलर गरेर आवश्यक तयारीका साथ रहन निर्देशन दिइएको लामिछानेले जानकारी दिए। देशका अन्य क्षेत्रबाट रिपोर्ट आईनसकेको उनले बताए। नेपालमा २०७२ सालमा पहिलो पटक पुर्वी नेपालमा यो रोग देखिएको थियो। त्यो बेला १०१ जनामा संक्रमण हुँदा ८ जनाको मृत्यु भएको थियो।

कसरी सर्छ स्क्रब टाइफस

माइट नामको मुसाको कानमा बस्ने एक प्रकारको संक्रमित किराले टोकेमा यो रोग सर्छ। यो ओरेन्सीया सुसुगामुसी भन्ने जिवाणुबाट सर्छ। यो रोग मानिसबाट मानिसमा सर्दैन। मुसाबाट झारमा झर्ने र त्यसबाट मानिसमा टाँसिएर यसले टोक्छ। यो रोग लागेमा १०४ जति ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने, शरीरका विभिन्न अंग दुख्ने हुन्छ।

मुख्य गरी मुसाको नियन्त्रण गर्ने, झारका काम गर्दा सावधानी अपनाउनुपर्ने चिकित्सकले बताएका छन्। चितवनमा गएको बर्ष गरिएको अनुसन्धानमा मुसा र माइटमा समेत टाइफस रोग संक्रमण पुष्टि भएको थियो। रोग पत्ता लागेमा उपचार सहज रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख नरहरि शर्माले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.