|

  • सन्तोष अधिकारी-

गोरखाः नेपालीमा एउटा उखान छ ‘जब भयो राती, तब बूढी ताती।’ यस्तै छ अहिले गोरखामा। जताततै विकास निर्माणको काम धमाधम भइरहेको छ यहाँ। 

असार मसान्त नजिकिँदै गर्दा जिल्लाका प्राविधिक कार्यालय गोरखामा रहेका प्राविधिकहरूलाई पनि भ्याई नभ्याई छ। मनसुन सक्रिय भइसकेपछि पनि अहिले जिल्लाका विभिन्न ग्रामीण सडक आयोजनाहरू धमाधम खन्ने काम भइरहेको छ। यही बर्खे विकासको जिल्ला प्राविधिक कार्यालयका प्राविधिकहरूले अनुगमन गरिरहेका छन्। 

अनुगमनमा खटिने कुनै प्राविधिकले ठेकेदार अथवा निर्माणको जिम्मा लिएको कम्पनीलाई खबरदारीसमेत गर्दैनन्। 

चालु आर्थिक वर्षमा गोरखामा ७५३ वटा सानाठूला आयोजनामध्ये ७२५ आयोजनाको सम्झौता भएको जिल्ला समन्वय समितिले जनाएको छ। ‘जिल्लाभर ७२५ वटा आयोजना निर्माण हुनुपर्नेछ’, स्थानीय विकास अधिकारी नारायण आचार्यले भने, ‘यतिका योजना जम्मा सात जना प्राविधिकहरूले अनुगमन गरिरहनुभएको छ। कहिले कता कहिले कता प्राविधिकहरू मिलेर अनुगमनको काम गरिरहनुभएको छ।’

विभिन्न आर्थिक केन्द्र तथा अहिलेको गाउँपालिकाको केन्द्र जोड्ने सडक खन्ने काम, कृषि, सडक, खानेपानी आयोजना, सिंचाई आयोजनाको धमाधम निर्माणको काम भइरहेको आचार्यले बताए। यिनै आयोजनाहरूका ठेकेदारहरूले असार मसान्त नजिकिँदै गर्दा हतार हतारमा काम गरिरहेका छन्। 

मनसुन भित्रिएसँगै पानी परिरहँदा पनि गोरखा सदरमुकामको बिसौनी मोड हुँदै गोरखा क्याम्पस जाने सडकमा अहिले पनि पिचको काम भइरहेको छ। 

‘काम सम्पन्न भए वा नभएको हेर्न दौडधुप छ’, जिल्ला प्राविधिक कार्यालयका प्राविधिक लालु गुरुङ भन्छन्, ‘हामी कम संख्यामा प्राविधिक छौँ। कुदेको कुद्यै छौँ।’ स्टमेट गर्दादेखि नै समूह बनाएर काम बाँडफाँड गरेर गरिरहेको उनले बताए। भने, ‘हेरौँ, भ्याइन्छ कि भ्याइँदैन।’ 

जिल्ला समन्वय समितिले अगामी असार २० गतेसम्म सबै काम सम्पन्न गर्न निर्देशन दिएको छ। जिल्ला समन्वय समितिले यस वर्ष गोरखाको विकास निर्माणको प्रगति ९० प्रतिशतभन्दा धेरै हुने जनाएको छ। जेठ र असार महिनामा गोरखाका अधिकांश क्षेत्रमा ग्रामीण सडक निर्माण सुरु गर्ने गरिएको छ।

सोही सडकलाई फेरि वडादशैँ आउने बेला जिल्ला समन्वय समितिले बजेट विनियोजन गरेर मर्मत गर्ने प्रचलन विगतदेखि नै चलिआएको स्थानीय बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.