|

काठमाडौं : असार १४ गते हुने स्थानीय तह निर्वाचनमा दाङका दुई उपमहानगरपालिकाको चुनावी नतिजा प्रदेश ५ को मात्र नभई सिंगो मुलुकको चासो बनेको छ।घोराही उपमहानगरपालिका ५ नम्बर प्रदेशको सम्भावित राजधानीको रुपमा चर्चामा छ भने राप्ती अन्चलको अन्तल सदरमुकाम रहेको तुल्सीपुर उपमहानगरपालिकाको नतिजामा पनि धेरैको चासो छ। 

सल्यान, रुकुम र पश्चिम रोल्पाबाट तराइ झर्ने केन्द्रका रुपमा रहेको तुलसीपुर उपमहानगरपालिका साविकको राप्ती अञ्चलको सदरमुकाम समेत हो। पश्चिम दाङको प्रमुख द्वारको रुपमा लिइने तुलसीपुरमा मुख्य राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा देखिन्छन्। यद्यपी कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने कतिपयको विश्लेषण छ।

नेपाली कांग्रेसले तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा गेहेन्द्र गिरीलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले घनश्याम पाण्डेलाई प्रमुखको उम्मेदवार बनाएको छ। नेकपा माओवादी केन्द्रबाट शेषुराम भण्डारी उम्मेदवार छन्।  गेहेन्द्र पूर्व सांसद हुन् भने पाण्डे तत्कालिन तुलसीपुर नगरपालिकाका उपप्रमुख थिए। यस्तै नयाँ शक्ति पार्टीले जीवन भण्डारीलाई प्रमुखका रुपमा अगाडि सारेको छ।

उपप्रमुखमा नेपाली कांग्रेसबाट देविका नेपाली, नेकपा एमालेबाट माया आचार्य, माओवादी केन्द्रबाट सीता वली उम्मेदवार छन्। ७६ हजार बढी मतदाता रहेको तुलसीपुर उपमहानगरपालिकामा १९ वटा वडाहरु रहेका छन्।

एमालेले २०५४ सालको निर्वाचनमा प्रमुख र उपप्रमुखमा विजयी हासिल गरेको थियो। तत्कालिन पवननगर, फूलबारी, मानपुर, विजौरी र डुरुवा गाविसमा पनि अध्यक्ष र उपाध्यक्ष पदमा जितेको एमालेले यसपाली तुलसीपुर उपमहानगर पनि आफूले नै जित्ने दाबी गर्दै आएको छ।

तुलसीपुरमा नेकपा माओवादी केन्द्र पनि विजयी हुने दावी गर्दै आएको छ। नेकपा माओवादीले यसक्षेत्रमा पहिलो संविधानसभाको निर्वाचनमा मात्रै विजयी भएको थियो। क्षेत्र नम्बर ४ बाट २०६४ सालमा शिवराज गौतम र क्षेत्र नम्बर ५ बाट सुष्मा शर्मा विजयी हुनुभएको थियो। तुलसीपुर उपमहानगरपालिकामा अन्य साना दलहरु पार्टीको अस्तित्व राख्नका लागि चुनावी अभियानमा रहेका छन्। तुल्सीपुर नगरपालिकामा प्रमुख पदका उम्मेदवार को कस्ता थाहा पाउनुस् 

गेहेन्द्र गिरी-नेपाली कांग्रेस

घोराहीको सेवारमा २००८ सालमा जन्मिएका गेहेन्द्र गिरी दाङका कांग्रेसका पाका नेता हुन्। राजनीतिक परिवारमा हुर्किएकाले गिरी कांग्रेसका प्रजातन्त्र सेनानी बाजे चित्र गिरीको प्रेरणाले राजनीतिमा लागेका थिए। सामान्य शिक्षा दाङमै लिएर भारतको बनारसबाट एसएलसी सम्मको अध्ययन पूरा गरेका उनी बनारसबाटै राजनीतिसँग नजिकिएका थिए।

तरुण सहयोग समितिको सदस्य भएका गिरीले ०२३ सालमा कांग्रेसको पार्टी सदस्यता प्राप्त गरेका हुन्। त्यसयता प्रशासनको तारो बनेका उनी ०२९ सालसम्म भारतमा निर्वासित जीवन बिताएर ०३० सालमा नेपाल फर्किएका थिए। २०३० सालदेखि २०३४ सालसम्म बन्दी जीवन बिताएका गेहेन्द्र पञ्चायत विरुद्ध बहुदलको पक्षमा आन्दोलन चर्किन थालेपछि रिहा भएका थिए।

२०४९ सालदेखि ०५८ सालसम्म नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य हुँदै दुई कार्यकालसम्म सभापति भएका गिरी ०५६ सालको आम निर्वाचनमा दाङ क्षेत्र नम्बर ४ बाट सांसदमा निर्वाचित भएका थिए।

दोस्रो संविधानसभा निर्वाचनमा समेत दाङ क्षेत्र नम्बर ५ बाट टिकटको दाबेदार रहेपनि भाइ दीपक गिरीलाई पार्टीले टिकट दिएको थियो। त्यसयता दाजुभाइबीच सुमधुर सम्बन्ध नरहेको कांग्रेस वृत्तमा चर्चा पनि हुने गर्दछ। यद्यपी गेहेन्द्र तुलसीपुर उपमहानगरको उम्मेदवार भएपछि भने यी दुई सँगै कार्यक्रममा देखिन थालेका छन्।

नेपाली कांग्रेस तुलसीपुर नगर सभापतिको जिम्मेवारीमा रहेका गेहेन्द्र माओवादी युद्धबाट प्रभावित समेत हुन्। तत्कालिन माओवादीले गेहेन्द्रको घर नजिक बम पड्काएर टरिगाउँमा रहेको १७ बिघा जग्गा कब्जा गरेको घोषणा गरेको थियो। शान्तिप्रक्रिया पछि माओवादीले उनको जग्गा फिर्ता गरेका थिए।

२०७० सालको संविधानसभामा दाङका ५ वटै क्षेत्रमा बिजयी हासिल गरेको र कांग्रेसको पकड पनि राम्रो भएकाले तुलसीपुर उपमहानगरमा कांग्रेसले नै बिजय हासिल गर्ने काँग्रेसका उम्मेदवार गेहेन्द्र बताउछन्।

तुलसीपुर बनाउने कांग्रेसको योजना

  • तुलसीपुरलाई स्मार्ट सिटि सहित उज्यालो, सफा र हरियाली तुलसीपुर बनाउछौं।
  • सुकुम्वासी वस्ती व्यवस्थापन गरि ऐलानि जग्गामा बसोवास गरेकाहरुलाई उनिहरु वसोवास गरेको जग्गाको जग्गाधनि प्रमाणपुर्जा उपलब्ध गराउने।
  • नगरक्षेत्रमा सडक विस्तारका साथै आधुनिक कृषि प्रविधिको विकास र एक घर एक रोजगारको व्यवस्थालाई जोड दिने।
  • साँझ विहान हिडने सडकको स्तरवृद्धि, गाउँमा आएको खानेपानी योजना र सिचाईपानिका साथै विभिन्न खोलाहरुमा वनेका झुलुङ्गे पुलको विकास।

घनश्याम पाण्डे-नेकपा एमाले

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति शुरु गरेका घनश्याम पाण्डे सामुदायिक वन उपभोक्ता महासंघको पूर्व अध्यक्ष हुन्। किसान परिवारमा जन्मेका पाण्डेले २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालीन तुलसीपुर नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए। 

२३ वर्षको उमेरमै निर्वाचित उनी नेपालमै कान्छो उपप्रमुख समेत भएका थिए। त्यतिबेला राम्रो छवि बनाएका उनले सामुदायिक वन महासंघ लगायत वन क्षेत्रसँग सम्बन्धित धेरै संघसंस्थामा काम गरेका छन्। पाण्डेले एम. ए. र कानुनमा स्नातक गरेका छन्। 

एमालेको सामुदायिक वन केन्द्रीय विभागको सचिवको भूमिकामा काम गरेका पाण्डे हाल एमालेको प्राकृतिक स्रोत विभागको सदस्य छन्। पाँच वर्षभित्रमा तुलसीपुरको मुहार फेर्ने एमालेको योजना रहेको पाण्डे बताउँछन्। 

तुलसीपुर बनाउने एमालेको योजना

  • सडक सञ्जालको निर्माणलाई प्राथमिता दिइनेछ। तुलसीपुर प्रवेशद्धारको सडकलाई चार लेन बनाउनुका साथै सार्वजनिक सवारी, एम्वुलेन्स अनि दमकलका लागि सहायक मार्गको निर्माण गरिनेछ।
  • तुलसीपुर उपमहानगरपालिकालाई सफा, स्वच्छ, सुन्दर, समृद्ध, सुरक्षित, आधुनिक र सुविधा सम्पन्न हरित बनाइनेछ।
  • विभिन्न धर्म र संस्कृति अनुसारका शवदाह गृह निर्माण गरिनेछ। साथै अल्पसंख्यक र पछाडि पारिएका समुदायलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गरिनेछ।
  • घोराही तुलसीपुर मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययन गरी सबै खोलाहरुमा यातायातको सहजताका लागि पक्की पुल निर्माण गरिनेछ।
  • हरेक गाउँमा सिचाई सुविधा पुर्‍याउनका लागि ‘एक बस्ती एक पोखरी’ निर्माण गर्नुका साथै बबई नदीको पानी लिफ्ट प्रणालीबाट ल्याएर सिंचाई सुविधा विस्तार गरिनेछ।
  • तुलसीपुरलाई पर्यटनको हबका रुपमा विकास गर्नका लागि हरेक वर्ष ‘तुलसीपुर घुम्न जाउँ’ भन्ने राष्ट्रिय अभियान सञ्चालन गरेर हरेक वर्ष हजारौको संख्यामा पर्यटक भित्राउने कार्यलाई प्रोत्साहन गरिनेछ।
  • वर्तमान पुस्ताको माग बमोजिक प्रेम पार्क निर्माणका साथै सार्वजनिक ठाउँमा फ्रि वाइफाइको व्यवस्था गरिनेछ।

शेषुराम भण्डारी - माओवादी केन्द्र

तुलसीपुर उपमहानगरपालिकाको माओवादी केन्द्रबाट प्रमुखको पदमा उम्मेदवारी दिएका शेषुराम भण्डारी २०१५ सालमा प्युठानको लुङमा जन्मिएका थिए।तुलसीपुर उपमहानगरपालिका-४ वनहरीमा बसोबास गर्दै आएका उनी ०२९ सालमा माले निकट अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरु गरेका थिए।

२०५५ सालमा एमालेको जिल्ला कमिटी सदस्य भएका शेशुराम २०५७ मा सचिवालय सदस्य, जिल्ला कार्यालय सचिव हुँदै क्षेत्रीय ईञ्चार्ज भएका थिए। २०६३ बैशाखमा एमालेको तुलसीपुर क्षेत्रको प्रमुखको जिम्मेवारी सम्हालेका उनी २०६४ मा एमालेबाट तत्कालीन नेकपा माओवादीमा प्रवेश गरेका थिए।

माओवादीबाट मोहन वैद्य अलग भएपछि वैद्य माओवादीमा लागेका शेषुराम वैद्य माओवादीको एक घटक रामबहादुर थापा बादलसँगै उनी प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा फर्किएका हुन्। हाल माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका सदस्यको जिम्मेवारीमा रहेका उनी अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रका केन्द्रीय उपाध्यक्ष समेत हुन्।

२५ वर्षदेखि निरन्तर सहकारी आन्दोनलमा सक्रिय रहेका शेषुराम जिल्ला सहकारी संघ दाङका उपाध्यक्षको जिम्मेवारीमा समेत छन्। तुलसीपुर क्षेत्रमा रहेर विगत २५ वर्षदेखि राजनीति गर्दै आएको र माओवादी नेतृत्वको सरकारका पालामा लोडसेडिङ अन्त्य लगायतका जनमुखी कामहरु गरेका कारण यो निर्वाचनमा तुलसीपुरमा माओवादी केन्द्र नै बिजय हुने प्रमुखमा उम्मेदवार शेषुरामको दाबी छ।

तुलसीपुर बनाउने माओवादीको योजना

  • तुलसीपुरलाई भ्रष्टाचाररहित उपमहानगर बनाउनेछौ। हिजो का दिनमा भएका भ्रष्टाचारलाई अन्त्य गरी त्यसको  पर्दाफास गर्ने।
  • तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र रहेका फो हो रका थुप्रोलाई व्यवस्थापन गर्नेछौ।
  • सुकुम्बासीहरुलाई घरबास दिने , जग्गाको  मालिक बनाउने  कार्य गर्नेछौ।
  • दक्ष जनशक्ति सहित प्रविधियुक्त अस्पतालको  स्तरो न्नति गरिनेछ।
  • सुरक्षित आवास क्षे त्रको  निर्माण, जग्गा प्लटिङको व्यवस्थापन, वनको  संरक्षण, जलाधारको  विकास, हाइड्याम निर्माण गरे र पानी रिचार्जको  व्यवस्था गर्नेछौ।
  • छिल्लीको ट, सुकौ राको टलगायतका क्षे त्रको  विकास गरी अग्ला भूभागमा भ्यू टावर निर्माण गर्ने। तथा ती क्षे त्रलाई पर्यटकीय क्षे त्रको  रुपमा विकास गर्ने।
  • हो मस्टेको व्यवस्था गरी स्वरो जगारी सिर्जना गर्ने।

— दाङका थाहाखबर सम्बाददाता बिकास डाँगीको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.