१५ जना वागीलाई कारवाही

|

विराटनगरः स्थानीय तहको निर्वाचनमा उम्मेदवारका आकांक्षीलाई रकम मागेको र रकम दिन नसकेपछि टिकट नदिएको भन्दै मोरङमा एमालेका केही नेताले पार्टीबाट राजीनामा दिएका छन्। 

आफूसँग रकम मागेको र रकम दिन नसक्दा अरूबाटै रकम लिएर टिकट बिक्री भएको भन्दै मोरङको मिक्लाजुङका एमाले नेता भेषराज काफ्लेले पार्टीबाट राजीनामा दिएका छन्। उनले आफूसँग एमाले वैकल्पिक केन्द्रीय सदस्य तथा मोरङ सह–इञ्चार्ज रूपनारायण श्रेष्ठले मागेको २१ लाख रुपैयाँ दिन नसकेपछि आफूलाई उम्मेदवार नबनाएको आरोप लगाएका छन्।

यसअघि नै श्रेष्ठले मोरङका विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुखसहित वडाध्यक्षका उम्मेदवार चयनका लागि रकम मागेको सार्वजनिक भइसकेको छ।उनले मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष पदमा आकांक्षी काफ्लेसहित अन्य आकांक्षीसँग मोटो रकम माग गरेका आरोप छ। तर, रकम दिन नसकेपछि आफूले टिकट नपाएको र देवी आचार्यले टिकट पाएको काफ्लेद्वारा जारी अपिलमा उल्लेख छ।

काफ्लेले एमालेभित्र हुर्किंदै गएको स्वार्थी र व्यक्तिवादी चिन्तन र कार्यकर्ताको मूल्यांकनलाई पैसासँग दाँजेर आर्थिक लेनदेनका आधारमा गर्ने आपराधिक प्रवृत्तिदेखि वाक्क भएर एमालेको सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणासमेत गरेका छन्।

२०४७ सालमा पार्टीको संगठित सदस्य बनेका काफ्लेले टोल कमिटी, गाउँ कमिटीको सचिव, उपाध्यक्ष, अध्यक्ष, इलाका कमिटी सदस्य, इलाका सहसचिव, क्षेत्रीय कमिटी सदस्य, जिल्ला कमिटीको विभागको सदस्य भई काम गरिसकेका छन्।

उम्मेदवारको चर्चामै नरहेका आचार्यलाई टिकट दिनुको कारण पार्टीले प्रष्ट पार्न नसकेको काफ्लेले बताए। ‘कति पैसा दिएर टिकट ल्याइयो अथवा दिनेले कति पैसा लिएर टिकट दिएको हो, सो कुराको छलफल होस् र यथार्थ सार्वजनिक गरी दोषी नेतालाई कारवाही होस्’ भन्दा आफ्ना कुराको सुनुवाइ नभएको उनले बताए।

श्रेष्ठले उम्मेदवारका आकांक्षीविरुद्ध रकम मागेको पुष्टि भएपछि एमालेमा हंगामा मच्चिएको थियो। सो घटनाको छानविन गर्न एमालेले पार्टीका प्रदेश सहसंयोजक शेरधन राईलाई जिम्मा दिएको थियो। छानविनको क्रममा श्रेष्ठले रकम मागेको पुष्टि भएपछि उनलाई एमालेले कारवाही स्वरूप मोरङ सह–इञ्चार्जको जिम्मेवारीबाट मुक्त गरेको स्रोतले जनाएको छ।

श्रेष्ठले मोरङको केराबारी गाउँपालिकाको अध्यक्षका आकांक्षी डिल्लीराम खतिवडासँग पनि रकम मागेका थिए। उनले टिकटका लागि श्रेष्ठले पैसा मागेको तर आफूले नदिएपछि अर्कैलाई उम्मेदवार बनाएको भन्दै श्रेष्ठले रकम मागेको अडियो रेकर्डसहित पार्टीमा उजुरी दिएपछि घटना बाहिर आएको थियो।

उजुरीपछि छानविनका क्रममा श्रेष्ठले पार्टीका प्रदेश इञ्चार्ज भीम आचार्यसहित जिल्ला अध्यक्ष विनोद ढकालको पनि सहमतिमा रकम मागेको बयान दिएका थिए। तर उनले आफ्नो गल्ती ढाकछोप गर्न अन्य नेता मुछेको एमाले स्रोतको भनाइ छ।

टिकट वितरणको क्रममा श्रेष्ठले एक करोड रुपैयाँभन्दा बढी रकम संकलन गर्ने योजना बनाएको एमाले नेताहरूकै दाबी छ। उनीमाथि थप अनुसन्धान भइरहेको र चुनावपछि कारवाही हुने बताइएको छ। चुनावको मुखमा भएको घटनालाई एमालेले भने गुपचुप राख्न खोजेको आरोप उनीहरूको छ। त्यसबारे एमाले नेताहरूले कुनै पनि प्रतिक्रिया दिन अस्वीकार गर्दै आएका छन्।

१५ जना वागीलाई कारवाही

यसैबीच नेकपा एमाले मोरङले आफ्ना पार्टीका उम्मेदवारलाई नसघाई स्वतन्त्र उम्मेदवार बनेको भन्दै मोरङका १५ जनालाई कारवाही गरेको जनाएको छ।

एमाले जिल्ला समिति सचिव ऋषिकेश पोखरेलले मंगलबार जारी गरेको विज्ञप्तिमा कारवाहीमा परेका एमाले नेता तथा कार्यकर्ताको नाम सार्वजनिक गरेको छ। 

कारवाहीमा पर्नेहरूमा पथरीशनिश्चरे नगरपालिकाका धनकुमार तामाङ, रत्नबहादुर बस्नेत, सुनवर्सी नगरपालिकाका भीमप्रसाद तिम्सिना, रंगेली नगरपालिकाका भीमेश्वर मण्डल, दिनेशप्रसाद मण्डल, नन्दलाल मण्डल, मा. मन्सुर मियाँ, कटहरी गाउँपालिकाका सुरेन्द्र राई, सुन्दरहरैँचा नगरपालिकाका रेणुका सापकोटा, अमरबहादुर भट्टराई, विराटनगर महानगरपालिकाका माधवराज वाग्ले, खगेन्द्र पोखरेल, कृष्ण काफ्ले, कपिलमणि पौडेल (काशी) र सावित्रा थापा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.