|

जुम्ला : मंगलबारदेखि सुरु भएको चौथो स्थानीय खाद्य मेलाको दोस्रो दिन अवलोकनकर्ताहरुले देउडा गीतमा नाचगान गरेका छन्। मेलामा आएका दर्शकहरुले देउडा गीत सुन्दै कर्णालीको स्थानीय बालीबाट बनेका परिकारको स्वाद चाखेका हुन्। 

फापरको केक, मम, रोटी, लगड, कोदो र मकैको केक, नम्किन, चिनो कागुनोको खीर, मार्सेको लड्डु लगायतका अर्गानिक परिकार स्वाद दर्शकले मेलामा लिएका थिए। मेलामा आएका तिला गाउँपालिका ४ का स्थानीय चक्रबहादुर शाहीले स्थानीय परिकार मिठो र आडिलो भएको अनुभवन सुनाए।  मेलामा ‘हामीसँग यति राम्रो चिज बन्दो रहेछ तर थाहा नपाएर हाम्रा बालीहरु चौपटमा जाँदा रहेछन्,’ उनले भने।

चन्दननाथ नगरपालिका १ दानसाँघुकी माया गुरुङले कर्णालीमा उत्पादित अन्नबालीको महत्वका बारेमा जानकारी गर्ने माध्यम नै देउडा रहेको बताइन्। ‘देउडाले मनोरञ्जन पनि दिन्छ, सन्देश छर्न सघाउ पुग्छ, र यहाँको संस्कृतिको पनि संरक्षण हुन्छ,’ उनले भनिन्,‘मेलामा ८ वटा देउडा समुहले फरक–फरक भाषामा देउडा खेले। उनीहरुको गीतको सन्देश बाहिरबाट आउने वस्तुको निषेध गर्ने र कर्णालीमा उत्पादन हुने वस्तुको निर्यात गर्ने थियो।’

वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले भाषण र मन्तव्यभन्दा पनि सरल तरिकाले देउडाका माध्यमबाट धेरै सन्देश छर्न सकिने बताए। मेलामा एकल गीत तथा नाटकमार्फत कृषि सन्देश प्रवाह भइरहेको उनले बताए। 

दैनिक २ सय देखि ५ सय जनाले मेला अवलोकन गर्ने गरेको जानकारी उनले दिए। कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत बालकराम देवकोटा देउडाले संस्कृति र कृषि दुबैैको संरक्षण गर्दै आएको बताए। ‘वर्षमा एकपटक मेला आयोजना गरेमा किसानको सिप र दक्षता बढेको छ,’ उनले भने । मेलामा लोकतान्त्रिक धामी तिलप्रसाद चौलागाईले धामी नाच देखाएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.