|

  • गोविन्द महतो

जनकपुरधाम : सम्बन्धित निकायले सरसफाइमा चासो नदिँदा जनकपुरको यातायात कार्यालयको भवन दुर्गन्धित बनेको छ। कर्मचारीहरुले जाँगर लगाएर काम नगर्दा सेवाग्राही मर्कामा छन्। लेखापढी व्यवसायीसँगको साँठगाँठमा पैसा लिएर मात्रै कमैचारीहरुले काम गर्ने गरेको आरोप सेवाग्राहीहरुको छ।

लेखापढी व्यावसायीले मिलाउँछन् कर्मचारीसँग सेटिङ

सेवाग्राहीलाई आफ्नो काम सहज ढंगले पूरा गर्न लेखापढी व्यवसायीकै साहारा लिनुपर्ने बाध्यता छ। तयार पारिएका कागजात बोकेर लेखापढी व्यवसायीहरु कार्यालयभित्र प्रवेश गर्छन्। उनीहरुले लगेको काम कतै रोकिँदैन। तर सेवाग्राही आफैले त्यो काम गर्ने हो भने गाह्रो छ। 

‘कर्मचारीहरुले एक टेबलबाट अर्को टेबल, एउटा कागज, अर्को कागज माग्दै र एउटा हाकिमबाट अर्को हाकिमलाई देखाउदै दिन बिताउँछन, तर काम बन्दैन,’ कार्यालयमा आएका एक सेवाग्राहीले भने,‘अन्तिममा लेखापढी व्यावसायीलाई सम्पर्क गरेर पैसा दियो भने, लेखापढी व्यवसायीले एकैछिनमा काम गरेर ल्याईदिन्छन्। त्यसको लागि सेवाग्राहीले सय देखि ५ हजारभन्दा बढी पनि खर्च गर्नुपर्ने हुन्छ।’

कागजात तयार पारेर लेखापढी व्यवसायीलाई नै पठाएर काम गराउने सेवाग्राहीहरु धेरै छन्। आफैले काम गर्दा धेरै झन्झट व्यहोर्नुपर्ने भएका कारण बाध्य भएर उनीहरुले यसो गरेका हुन्। सरकारी कर्मचारीको कार्यकक्ष भित्र पस्न सेवाग्राहीलाई निषेध छ। लेखापढी व्यवसायीहरु कर्मचारीको सिट नजिकै गएर काम गराइरहेका हुन्छन्। सेवाग्राहीहरु लाईनमा टुलुटुलु हेरिरहन बाध्य छन्। नाम नबताउने शर्तमा एक लेखापढी व्यवसायी भन्छन्,‘कर्मचारीहरुले नै पैसाको बार्गेनिङ गर्छन्। सेवाग्राही जादाँ काम नबन्नुको कारण पैसा हो। उनीहरुले डाईरेक्ट पैसाको डिल गर्न मिल्दैन। त्यसैले बन्ने काम पनि गर्दैनन्।’

फाईल खोज्न घण्टौं लाग्छ

जनकपुरको यातायात व्यवस्था कार्यलयमा अत्यावश्यक कागजातहरु छरपस्ट छन्। महत्वपूर्ण कागजातहरु बिना फाइलिङ थुप्रो लगाएर भद्रगोल अवस्थामा राखिएको छ। कागजको थुप्रोमाथि चढेर कर्मचारी तथा विचौलियाहरुले कागज खोजिरहेका हुन्छन्। सेवाग्राहीहरुलाई आफ्नो कागजात भेट्न घण्टौं लाग्छ। 

कर्मचारी भन्छन्, सिस्टमले काम गर्दैन

काम गर्न सजिलो होस् भनेर सरकारले यातायात कार्यलयहरुमा अनलाइन प्रणाली र टोकन सिस्टमको व्यवस्था गरेको छ। तर, कुनै पनि जनकपुरका कार्यालयमा त्यो सिस्टम चलाउन कर्मचारीहरुले जाँगर देखाएका छैनन्। अनलाईन प्रणालीलाई दोष देखाएर कर्मचारीहरुले घुस खान खोजेको आरोप जनकपुर १४ का ऋषि रञ्जन चौधरीको छ। ‘ सिस्टमले काम नगरेको बहाना बनाउँछन्। लेखापढी मार्फत घुसदिने हो भने सम्पुर्ण काम पनि उत्तिखेरै हुने रहेछ। तर घुस नदिंदा कामै नहुने रे !” उनले भने। 

दुर्गन्ध पनि उस्तै 

सेवाग्राहीदेखि कर्मचारीसम्मले पान, राजनीगन्धा, पराग जस्ता सुर्तीजन्य पदार्थ खाएर कार्यालयकै हातामा थुक्ने गरेका छन्। केही वर्ष यता कार्यालयका सिंढी र कुनामा भगवानको फोटो झुन्ड्याइएको छ। यस कार्यालयमा आउनेहरुले भित्तामा पान खाएर नथुकुन् भन्ने उद्देश्यका साथ यस्तो उपाय अबलम्बन गरिएको हो। तर यो उपाय पनि सफल हुन सकेको छैन्।  अझै पनि यातायात कार्यालयका भित्ता र सिंढी पानको पितले राताम्यै छन्। अव्यवस्थित तरिकाले कार्यालय हातामा पार्किङ गरिएका मोटसाइकललाई व्यवस्थित तवरले राख्‍नका लागि समेत कसैले पहल गरेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.