|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा एक साता लामो राजनीतिक कार्यक्रममा सहभागी हुन ७ नम्बर प्रदेशमा जाने भएका छन्। 

कांग्रेस सभापतिसमेत रहेका देउवा गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला डडेल्धुरा लगायतका ७ नम्बर प्रदेशका विभिन्न जिल्ला जाने कार्यक्रम तय भएको हो। उनी असार १४ गते भोट हालेर मात्र राजधानी फर्किनेछन्।

‘प्रधानमन्त्रीज्यू पार्टीको कार्यक्रममा सहभागी हुन भोलि (शुक्रबार) बिहान धनगढी जानुहुनेछ’, कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, ‘असार १४ गतेसम्म ७ नम्बर प्रदेशकै अन्य कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ।’

प्रधानमन्त्री देउवा शुक्रबार बिहान ७ नम्बर प्रदेशको कैलाली जिल्लाका दुईवटा कार्यक्रममा सहभागी हुने भएका छन्। उनी शुक्रबार नै २ बजे कञ्चनपुर पुग्ने र त्यहाँका दुईवटा कार्यक्रममा सहभागी हुने तय भएको छ। देउवा शुक्रबार महेन्द्रनगरमा बास बस्ने योजना छ। शनिबार महेन्द्रनगरकै एक कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री डडेल्धुराको जोगबूढा जाने छन्।

संविधानसभाको निर्वाचन २०७० पछि गृहजिल्ला डडेल्धुराका लागि समय छुट्याएका प्रधानमन्त्री देउवा परशुराम नगरपालिकाको जोगबूढामा हुने चुनावी सभा र भेटघाटमा सहभागी हुनेछन्। जोगबूढामा दिउँसोको कार्यक्रम सकेर देउवा साँझ डडेल्धुरा सदरमुकामा अमरगढीमा बास बस्नेछन्।

असार ११ गते आइतबार डडेल्धुरामा हुने चुनावी सभा र भेटघाटमा व्यस्त हुने देउवाले ७ नम्बर प्रदेशका अन्य जिल्ला दार्चुला, बैतडी, डोटी, बाजुरा र बझाङका स्थानीय नेता र कार्यकर्तासँग भेट गर्नेछन्। प्रधानमन्त्रीको १२ गतेको राजनीतिक कार्यक्रमको कार्यसूची तयार नभए पनि उनी डडेलधुरा नै रहने भएका छन्। 

प्रधानमन्त्रीले असीग्राममा मतदान गर्ने 

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ असीग्राम मावि केन्द्रमा प्रधानमन्त्री देउवाले मतदान गर्ने भएका छन्। साविकको असीग्राम गाविस वाडा नम्बर पाँच रुवाखोलाका स्थायी बासिन्दा देउवाले सपरिवार नै मतदानकै लागि डडेल्धुरा जाने भएका हुन्। प्रधानमन्त्री देउवासँगै पत्नी डा. आरजु राणा देउवा ७ नम्बर प्रदेश जाँदैछिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.