|

विराटनगर : पहिलो चरणको निर्वाचनमा भरतपुर महानगरपालिकालाई दलहरुले प्रतिष्ठाको विषय बनाएका थिए। यस पटकको निर्वाचनमा विराटनगरमा दलहरुबीच प्रतिष्ठाको लडाँई चल्ने भएको छ। 

कांग्रेसको प्रभाव क्षेत्र मानिएको विराटनगर महानगरपालिकामा एमालेले फोरम लोकतान्त्रिक नेपालसँग तालमेल गरेर उम्मेदवारी दिएको छ। माओवादीले संघीय समाजवादीसँग चुनावी तालमेल गरेको छ। दुबै गठबन्धनका घटकले कांग्रेसको किल्ला तोड्ने दाबी गरेका छन्। 

उनीहरुले चुनावी तयारीलाई तिव्र बनाएका छन्। दुबै गठबन्धनका तर्फबाट शीर्ष नेताहरुले विराटनगरमा सम्बोधन गर्ने कार्यक्रम छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १० गते आयोजना हुने संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यस कार्यक्रममा माओवादीको गठबन्धन साझेदार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्नेछन्। 

१० गते नै एमाले र फोरम लोकतान्त्रिकको गठबन्धनले आयोजना गर्ने चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओली तथा फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष विजयकुमार गच्छदारले सम्बोधन गर्ने कार्यक्रम छ। 

कांग्रेसले पनि केन्द्रीय नेताको उपस्थितीमा चुनावी सभा आयोजना गर्ने जनाएको छ। तर अहिलेसम्म न त मिति तय भएको छ न प्रमुख वक्ताको नाम नै सार्वजनिक भएको छ। 

विराटनगर महानगरपालिकाको प्रमुखका लागि कांग्रेसबाट भीम पराजुली उम्मेदवार छन्।  एमाले र फोरम लोकतान्त्रिक गठबन्धनबाट एमालेका विनोद ढकाल उम्मेदवार छन्। त्यस्तै माओवादी र संघीय समाजवादीको तर्फबाट माओवादीका उमेश यादव तथा राप्रपाबाट प्रल्हाद साह उम्मेदवार छन्। नगरप्रमुखका लागि स्वतन्त्र समेत गरेर जम्मा १४ जनाले उम्मेदवारी दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.