|

दमकः नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिकामा निर्माणाधीन रंगशाला कांग्रेस र माओवादीका कारण रोकिएको बताएका छन्।

दोस्रो चरणको स्थानीय चुनावको प्रचारका क्रममा गृहजिल्ला झापा आइपुगेका अध्यक्ष ओलीले विवादास्पद निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको रंगशालाका विषयमा मुख खोलेका हुन्। यो रंगशालालाई आदिवासी रंगशाला भनेर निर्माण सुरु गरिएको भए पनि एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएपछि नाम परिवर्तन गरेर मदन भण्डारी रंगशाला राखिएपछि निर्माण अलपत्र परेको थियो। 

उनले रंगशाला बनाउन खोज्दा कांग्रेस र माओवादीले विवाद झिकेको आरोप लगाए। उनले भने, ‘कांग्रेस र माओवादी विकासविरोधी हुन्, उनीहरूले नाममा बखेडा झिकेर विकासमा विरोध गरे।’

एमालेले आदिवासीको पहिचानलाई नामेट पार्न खोजेको भन्ने हल्ला मात्र भएको बताए। ‘कांग्रेस र माओवादीका साथीहरूले हल्ला गरेजस्तो हामीले आदिवासीको पहिचान मेट्न खोजेका होइनौँ’, उनले भने, ‘आदिवासी जनजाति समुदायका पुर्खाको चिहान उत्खनन् गरेको हामीलाई थाहा छ, त्यसैले हामीले उहाँहरूको सम्मानका लागि त्यहाँ स्मृति पार्क र तीर्थस्थल बनाउने भनेका हौँ।’ कांग्रेस र माओवादीले त्यस क्षेत्रमा राजनीति गरेर विकास हुन नदिएको उनको आरोप थियो।

जसले विरोध गरे पनि अब यहाँ अन्तर्राष्ट्रियस्तरको रंगशाला एमालेले बनाई छाड्ने दाबी पनि उनले गरे। ‘जसले विरोध गरे पनि यहाँ भव्य अन्तर्राष्ट्रिय स्टेडियम बनारै छाड्छौँ’, अध्यक्ष ओलीले भने, ‘जनजाति तथा आदिवासीको सम्मानका लागि स्मृति पार्क पनि भव्य बनाइनेछ।’

चुनावीसभालाई संबोधन गर्दै ओलीले राष्ट्रियताको सवालमा एमालेले कसैसँग सम्झौता नगर्ने बताए। उनले भने, ‘हामी नेपाली–नेपाली लडेको हेर्न चाहँदैनौँ, हामी देश टुक्रन पनि दिँदैनौँ, राष्ट्रिय एकताको सवालमा हामी दृढ छौँ।’

गृहजिल्लामा ओलीलाई भ्याई नभ्याई
चार दिनअघि गृहजिल्ला झापा आइपुगेका एमाले अध्यक्ष ओलीलाई यतिबेला भ्याई नभ्याई छ। उनलाई चुनावी कार्यक्रमदेखि असन्तुष्ट कार्यकर्तालाई फकाउन यतिबेला भ्याई नभ्याई भएको हो। 

उनी दैनिकजसो ४/५ वटा कार्यक्रममा सहभागी हुँदै छन्। उनी कोठे बैठक तथा छलफलमा पनि त्यतिकै सक्रिय छन्। ओलीले गृहजिल्ला आएका समयमा टिकट वितरणका क्रममा असन्तुष्ट भएका आफ्ना कार्यकर्तालाई समेत फकाउन भ्याएका छन्।

ओली चार दिनको गृहजिल्ला बसाइपछि आजै भद्रपुर विमानस्थलबाट काठमाडौँ जाने कार्यक्रम रहेको एमालेले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.