|

  • सन्तोष अधिकारी

गोरखा : अजिरकोट गाउँपालिका ३ काफलडाँडा स्थित अमृत परियारको घरमा बुधबार बास माग्न एक अपरिचित जोडी आयो। अमृत परियारले उनीहरुसँग चिनजान गरे। पछि थाहा भयो उनीहरु आफन्त नै पर्ने रहेछन्। 

पाहुना जोडी दिपा परियार र रावल परियारले  अमृतको परिवारसँग बेलुकी खाना खाए। राती अमृतकै घरमा सुते। बिहानको खाना खाए। त्यसपछि पाहुना जोडीलाई बिदा गरेर अमृतको परिवार धान रोप्न खेततर्फ लाग्यो। दिउँसो २ बजे खाजा लिनका लागि अमृतकी छोरी घर आइन्। त्यतिबेला घरको ताला फोडिएको थियो। दराजको ताला फोडिएको थियो। सामानहरु अलपत्र अवस्थामा थिए। 

‘असारको महिना परिवार सबै खेतमा थियौं,’ अमृतले भने ‘दिउँसो २ बजे छोरी खाजा लिन भनेर घरमा जाँदा घरको ढोका तथा दराजको ताल्चा सबै फोडिएको रहेछ। दराज फुटेको रहेछ।’

छोरीले खबर गरेपछि रोपाई छाडेर पूरा परिवार घरमा आएको अमृतले बताए। उनले आफ्नो घरमा पाहुना लागेको जोडीमाथि नै शंका गरे। त्यसपछि प्रहरीमा खबर गरे। प्रहरीले उनका कुरा सुनेपछि दीपाको फोटो देखायो। 

‘दीपा पाहुना आएकी थिइन् र उनीमाथि शंका छ भनेर प्रहरीलाई भनेको मात्रै के थिएँ। प्रहरीले उनको फोटो नै देखायो। उनी विरुद्ध यसअघि अजिरकोट गाउँपालिकाको खरिबोटमा आफ्नै बुबाको १ लाख रुपैयाँ चोरेको उजूरी रहेछ। प्रहरीको फरार सूचिमा पो रहिछन्,’ अमृतले भने। 

घर फोडेर दिपाको जोडीले ल्यापटप, सुनको तिलहरी, सुनकै जन्तर र अन्य लत्ताकपडा चोरी गरेको अमृतले बताए। भच्चेक प्रहरी चौकीका प्रमुख हवल्दार प्रकाश भूजेलले घर चोरी गरेर दीपा र रावलको जोडी लम्जुङको बाटो हुँदै भागेको हुनसक्ने बताए।

‘अमृत जी ले भने अनुसार मैले दीपाको फोटो देखाएँ,’ हवल्दार भूजेलले भने,‘अमृतजी र गाउँका अन्य मानिसहरुले पनि तिनै दीपा अमृतको घरमा आएको बताएका छन्। अमृतजीहरु मेलामा निस्केको बेला आफु पनि निस्केर गएको जस्तो गरेर फेरी घर फुटाएर सामान चोरेको अनुसन्धानबाट पत्ता लागेको छ। दीपा विरुद्ध उनकै बाबु शेरबहादुरले १ लाख रुपैयाँ चोरेको उजूरी गरेका छन्। उनी प्रहरीको फरार सूचिमा छिन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.