|

काठमाडौं : स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी सिट जितेको दल नेकपा एमालेले दोस्रो चणको निर्वाचनका लागि पनि चुनावी अभियानलाई तीव्रता दिएको छ। प्रदेश नं. १, ५ र ७ का ३३४ स्थानीय तहमा यही असार १४ गते हुन गइरहेको निर्वाचनका लागि एमाले शीर्ष नेताहरु चुनाव प्रचारप्रसारमा खटिएका हुन्।

एमाले अध्यक्ष केपी ओलीसहित स्थायी समित, पोलिट्ब्यूरो र केन्द्रीय कमिटी सदस्यहरुलाई एमालेले विभिन्न जिल्लामा खटाएको छ। केन्द्रकै निर्देशनमा नेताहरु पार्टीलाई चुनाव जिताउन आ-आफ्नो क्षेत्रमा पुगेकाछन्।

कुन नेता कहाँ ?

चुनावी प्रचारका क्रममा सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगे। चार दिनको झापा बसाइका क्रममा ओलीले २० वटा सभालाई सम्बोधन गरे भने, थुप्रै भेटघाट कार्यक्रममा सहभागी भए। बुधबार र बिहीबार चार-चारवटा सभामा सहभागी भएका अध्यक्ष ओली बिहिबार राजधानी फर्किए।

अभियानका क्रममा ओलीले विर्तामोड, काँकडभिट्टा, लखनपुर, बुद्धशान्ति, गौरादह, भद्रपुरलगायतका क्षेत्रमा आयोजना गरिएको सभालाई सम्बोधन गरे। चार दिनको झापा बसाइका क्रममा उनले आफूले बाल्यकाल बिताएको गाउँ शरणामति पुगेर त्यहाँ आफन्त र बालसखाहरुसँग समेत भेटेका थिए।

यस्तै पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाल गृहजिल्ला इलामको निर्वाचन प्रचारप्रसारमा सक्रिय छन्। एक हप्तादेखि वरिष्ठ नेता खनाल गृहजिल्ला इलामका विभिन्न चुनावी सभाहरुमा सभागी हुँदै आएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए। यता अर्का नेता माधवकुमार नेपाल आफ्नो गृहजिल्ला रौतहटमा चुनाव स्थगित भए पनि अन्य जिल्लामा आयोजना गरिएका चुनावी सभाहरुमा सहभागी हुदै आएका छन्।

पाध्यक्ष वामदेव गौतम गृहजिल्ला प्यूठानका विभिन्न सभामा सहभागी भएर अहिले निर्वाचन क्षेत्र बर्दियामा छन्। असार ४ गतेसम्म प्युठानमा रहेका उपाध्यक्ष गौतम अहिले बर्दियामा रहेको गौतमका स्वकीय सचिव दीपक टमटाले जानकारी दिए। उम्मेदवार चयनका बेलादेखि नै प्यूठानमा रहेका उनी निर्वाचन अवधिभर प्यूठान र बर्दियामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

उपाध्यक्ष युवराज ज्ञवाली दाङमा सक्रिय छन्। ६ नम्बर प्रदेश संयोजक रहेका नेता ज्ञवाली प्रदेश ६ मा चुनाव सकिएकाले आफ्नो निर्वाचन क्षेत्र दाङमा क्रियाशिल हुँदै आएका हुन्। उपाध्यक्ष भीम रावल तीन सातादेखि सुदूरपश्चिमका जिल्लाहरुमा व्यस्त छन्। सात नम्बर प्रदेश प्रमुखसमेत रहेका नेता रावल सुदूरपश्‍चिमका विकट जिल्लाहरुमा आयोजित सभामा सहभागी भएर कार्यकर्तालाई उत्साहित पारिरहेका छन्।

महासचिव ईश्वर पोखरेलको आफ्नो क्षेत्रमा निर्वाचन सम्पन्न भए पनि ७ गते ओखलढुंगाका आयोजना गरिएको सभालाई सम्बोधन गरेका छन् भने १० गते भोजपुर र ११ गते धनगढीमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

उपमहासचिव तथा पाँच नम्बर प्रदेश संयोजक विष्णु पौडेल एक महिनादेखि रुपन्देहीमा क्रियाशिल छन्। नेता पौडेल बुटवल र आसपासका क्षेत्रमा आयोजित सभाहरुमा सहभागी भइरहेका छन्। उपमहासचिव घनश्याम भुसाल रुपन्देही क्षेत्रमै क्रियाशिल छन्। तिलोत्तमा नगरका मतदातासमेत रहेका नेता भुषाल आफ्नो क्षेत्रमा उम्मेदवार तथा कार्यकर्तालाई परिचालन गरिरहेका छन्।

सचिवहरु प्रदीप ज्ञवाली र गोकर्ण विष्ट गुल्मीमा क्रियाशिल छन्। प्रदेश नम्बर ४ को निर्वाचन पहिलो चरणमा सम्पन्न भए पनि सचिव पृथ्वीसुब्बा गुरुङ एक नम्बर प्रदेशको ओखलढुंगामा आयोजित सभामा सहभागी भएका छन्।

सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङमा छन्। जिल्लामा आयोजना भएका विभिन्न चुनावी सभामा सक्रिय भट्टराई जेठको अन्तिम साता गृहजिल्ला पुगेका थिए। सचिव तथा प्रदेश नम्बर १ का संयोजक भीम आचार्य आफ्नै प्रदेशमा क्रियाशिल छन्। समग्र प्रदेशमा समन्वय गरिरहेका आचार्य सुनसरीमा आयोजित कार्यक्रमहरुमा सहभागी भइरहेका छन्।

एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ गृहजिल्ला इलाममा छन्। गृहजिल्ला सक्रिय नेम्वाङ जिल्लाका विभिन्न चुनावी सभाहरुमा सक्रिय छन्। एमाले स्थायी समिति सदस्य शंकर पोखरेल २ सातादेखि गृहजिल्ला दाङमा छन्। घोराही र तुल्सीपुर उपमहानगरपालिका साथै समग्र १० स्थानीय तहमा पार्टीलाई विजयी बनाउन नेता पोखरेल क्रियाशिल छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.