|

कालीकोटः नजिकै कर्णाली राजमार्गमा गाडी गुडिरहेका छन्। छेउमै रहेको कर्णाली करिडोरमा जीपहरू चलिरहेका छन्। सडक निर्माण कार्यको काम तीब्र रूपमा भइरहेको छ।

तर, नजिकै रहेको नरहरिनाथ गाउँपालिकाका बासिन्दा भने आफ्नो गाउँमा कहिले मोटर आउने हो भनेर कुरेर बसिरहेका धेरै भयो।

कर्णाली राजमार्गका खुलालुबजार, जितेगडा बजार र कर्णाली करिडोरका लालीघाट बजारसम्म जाने गर्छन् किनमेलका लागि यहाँका बासिन्दा। यस गाउँपालिबाट किनमेलका लागि भारी बोकेर घरमा खाद्यान्न, लुगाफाटो लिन आएका प्रशस्त मानिस देखिन्छन् यस क्षेत्रमा। 

नरहरिनाथ गाउँपालिका– ५ का लालीघाट बजारबाट सामान किनमेल गरेर घर फर्कंदै गरेकी बिमला सहरकारी पसिना पुछ्दै दुखेःसो पोख्दै थिइन्, ‘हाम्रो गाउँमा सडक बनाउने छोरो को होला? यी दुःखका दिन कहिले सकिएलान्?’ उनी ‘सडक भएर गाडी आउने भए त यस्तो खच्चडको जस्तो जीवन किन हुन्थ्यो र!’ भन्दै भाग्यलाई सराप्छिन्।

नरहरिनाथका स्थानीयको गाडी चढ्ने सपना एका देशको कथा जस्तै बनेको छ। गाउँमा सडक संजालको पहुँच नभएकै कारण भारी बोकेर नुनतेल गर्नुपर्ने बाध्यता छ यहाँका मानिसलाई। 

गाउँमा सडक नबनेका कारण निकै दुःख खेप्नुपरेको स्थानीय रमा बुढा बताउँछिन्। ‘नजिकैका बजारमा गाडी गुड्छन् तर हाम्रो गाउँमा गाडी कहिले आउला?’, उनी भन्छिन्, ‘विकट जिल्ला कालीकोट, त्यसमाथि पनि सडक नभएको नरहरिनाथ, सडक कहिले बन्ला यहाँ?’

कालीकोट हुँदै जुम्ला जाने सडकले खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, रास्कोट नगरपालिकामा छोएको छ भने अन्य गाउँपालिकामा सडक संजालले छोएको छैन।

करिडोरले नरहरिनाथ गाउँपालिकास्थित कर्णालीको तीर छोएको भए पनि त्यहाँबाट गाउँ जाने बाटो निर्माण भएको छैन। 

गाउँमा सडक नहुँदा यहाँ स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजका वस्तु पनि बजारीकरण गर्न समस्या भएको स्थानीय बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.