|

काठमाडौं : संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति अन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध उपसमितिले भारतीय आयल निगमबाट एलपी ग्यास ढुवानी गर्ने बुलेट सञ्चालन अनुमतिको लागि कुटनीतिक पहल थाल्न सरकारलाई निर्देशन दिएको छ।

बिहीबार बसेको उपसिमतिको बैठकले ढुवानीको लागि प्राप्त हुनुपर्ने अनुमति पत्र लामो समयदेखि हुन नसकेको अवस्थामा कुटनीतिक पहल थाल्न निर्देशन दिएको हो। 'परराष्ट्र मन्त्रालयले प्रभावकारी कुटनीतिक पहल गरी भारतीय आयल निगमबाट एलपीजी ढुवानी गर्ने बुलेट सञ्चालन अनुमतिको लागि आवश्‍यक पर्ने अनुमति लिने कार्यमा कुटनीतिक सहजीकरण गरिदिने कार्य गर्न परराष्ट्र मन्त्रायलाई निर्देशन दिने' उपसमितिको निर्णयमा भनिएको छ।

त्यस्तै उपसिमतिले बुलेट सञ्चालनमा अनुमति लिन आवश्‍यक पर्ने सबै प्रकारको पहलको लागि प्रभावकारी काम गर्ने आपूर्ति मन्त्रालय र आयल निगमलाई समेत निर्देशन दिएको छ।

यसअघि आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राईले मन्त्रालय एक्लैको प्रयासबाट अनुमति दिलाउन नसकिएको बताएका थिए। त्यस्तै व्यवसायीहरुले समेत कुटनीतिक पहलका लागि आग्रह गर्दे आएका थिए। यसअघि भारतीय ग्यास बुलेटबाट एलपी ग्यास आयात गरिएकोमा अहिले चार सय नेपाली ग्यास बुलेटबाट आयात गर्न नेपाली व्यवसायी लागेका छन्।

ग्यास व्यवसायीले बुधबार मात्रै भारतीय आयल निगमबाट अनुमति नपाएमा ग्यास आयात पूर्ण रुपमा ठप्प हुने भन्दै सरकारलाई सचेत गराएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.