|

काठमाडौं : सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा डा. किरण रेग्मीलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयमा कार्यरत १२ औं तहकी स्त्रीरोग विशेषज्ञ चिकित्सक रेग्मीलाई सचिवमा नियुक्त गरेको हो।

सरकारबाट बिहीबार नियुक्तिपत्र बुझेकी उनले स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरिन्। उक्त कार्यक्रममा उनले स्वास्थ्य संस्थालाई संघीय संरचनामा रुपान्तरण गर्ने आफ्नो मुख्य काम भएको बताइन्। 'देश संघीयतामा गइसकेकाले स्वास्थ्य क्षेत्रलाई पनि संघीयता अनुसार रुपान्तरण गर्नुपर्छ' उनले भनिन् 'मेरो लागि स्वास्थ्य मन्त्रालय नौलो होइन। कर्मचारीहरुलाई राज्यका नीति नियममा रहेर काम गर्न आग्रह गर्छु।'

पदभार ग्रहण गर्दा सचिव बनिन् भावुक

डा. किरण रेग्मी राष्ट्रकवि माधवप्रसाद घिमिरेकी छोरी हुन्। बिहीबार सरकारबाट स्वास्थ्य सचिवको नियुक्ति लिएपछि उनी बाबुलाई भेट्न पुगेकी थिइन्। पदभार ग्रहण कार्यक्रममा उनले आफ्ना आमाबाबुलाई सम्झेर भावुक बनिन्। 'म सचिवको पत्र बुझेर सिधै बुबालाई भेट्न गएँ। बुबाले हर्षको आशु झार्नुभयो' उनले भनिन् 'मेरो पनि आँखाबाट आशु झर्‍यो।'

आफूले स्वास्थ्य सचिव हुन्छु भनेर जीवनमा नसोचेको भन्दै यहाँसम्म आइपुग्नुमा बाबुआमाको महत्वपूर्ण भूमिका रहेको सचिव रेग्मीले स्मरण गरिन्। 'मैले यहाँसम्म आउँछु भनेर सोचेको पनि थिइन। मध्यम वर्गीय परिवार भए पनि शिक्षा ठूलो भन्ने परिवारमा जन्मेको थिएँ। उहाँहरुकै प्रेरणाले यो स्थानसम्म आइपुगेँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.