|

रुकुम : करिब ४ वर्ष अघिदेखि सल्यानको रागेचौर, थदर र टाटके गाउँमा घुमन्ते जीवन बिताउदै आइरहेकी एक महिला जन्म दिएको शिशु बेवारिसे बनेका छन्। कुमारी विक नाम बताउने अन्दाजी ३५ वर्षकी महिलाले सल्यानको कुमाखमालिका नगरपालिका- ४ त्रिवेणीमा एक नवजात शिशुलाई जन्म दिएर बेवारिसे अवस्थामा छाडेकी हुन्। उनको मानसिक स्थिति सन्तुलनमा छैन।

उनले खोला किनारमा शिशु जन्माएको थाहा पाएपछि प्रहरी र स्थानीय महिलाहरुले उद्धार गरी उनलाई चौरजहारी अस्पताल रुकुम पठाएका थिए। अस्पताल ल्याइएका शिशुको अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन्। आमाको भने मानसिक सन्तुलन ठीक नरहेको अस्पतालका मेडिकल डाइरेक्टर कालेब बुढाथोकीले बताए।

चौरजहारी अस्पतालमा मानसिक रोगसम्बन्धी विभाग नरहेकाले सम्बन्धित अस्पतालमा उपचार गराउनुपर्ने आवश्यकता रहेको उनले बताए। बेवारिसे अवस्थाकी सुत्केरी महिलाको सहयोगका लागी चौरजहारी अस्पताल पुगेकी रागेचौर निवासी महिला स्वयमसेविका रत्ना शाही र आमा समूहकी अध्यक्ष रत्ना राणाले उनको रेखदेख गरेका छन्।

रोपाईको समयमा आफ्ना नाबालक छोराछोरीलाई समेत छाडेर मानवीय धर्म निभाएको महिला स्वयमसेविका शाही बताउँछिन्। चौरजहारी अस्पतालले सुत्केरी महिला र शिशुलाई महिला स्वंयमसेविका शाही र आमा समूहकी अध्यक्ष राणाको जिम्मामा छाडेको छ।

बस भाडा समेत दिएर अस्पतालले सुत्केरीको डिस्चार्ज गरेको छ। सुत्केरी र नवजात शिशुलाई इलाका प्रहरी कार्यालय रागेचौर र गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुको जिम्मामा छाड्ने स्वयमसेविका शाहीले बताइन्।

अस्पतालबाट डिस्चार्ज भएकी सुत्केरीको मानसिक उपचार कहाँ गर्ने ? बच्चा र आमाकाे हेरविचार कसले गर्ने ? भन्ने कुरा अझै अन्यौलमै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.