|

काठमाडौं : दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एक वडाध्यक्षसहित ३८ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन्।

प्रदेश नम्बर १ मा १२, प्रदेश नम्बर ५ मा १२ र प्रदेश नम्बर ७ मा १४ जना निर्विरोध भएको प्रारम्भिक विवरण आयोगमा प्राप्त भएको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए। उनले १५ जिल्लामा जनप्रतिनिधि निर्विरोध भएको बताए। निर्विरोध हुनेमा नेपाली कांग्रेस र नेकपा एमालेका १४–१४ तथा नेकपा माओवादी केन्द्रका १० जना छन्। निर्विरोध हुने वडाध्यक्षमा बझाङ काँडा गाउँपालिका वडा नम्बर ५ का धनञ्जय बोहोरा हुन्। निर्विरोध भएका ३७ सदस्यमध्ये २४ दलित महिला सदस्य रहेको विवरण प्राप्त भएको छ।

यहीँ असार १४ गते हुने दोस्रो चरणको निर्वाचन एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका, २१५ गाउँपालिका गरी ३३४ स्थानीय तहमा भई १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछ। निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताको सहभागिता हुनेछ।

दोस्रो चरणको निर्वाचनका लागि चार हजार ५८१ मतदानस्थल र आठ हजार ३६४ मतदान केन्द्र कायम गरिएको जनाउँदै निर्वाचन आयोगले उक्त निर्वाचनमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने जनाएको छ। आयोगले छ हजार ७१७ पर्यवेक्षकलाई अनुगमनका लागि अनुमति प्रदान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.