|

  • मणिकुमार श्रेष्ठ-

सुनसरीः असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा सुनसरीको सबैभन्दा बढी मतदाता रहको स्थानीय तह धरान उपमहानगरपालिकामा त्रिपक्षीय प्रतिस्प्रर्धा हुने देखिएको छ। 

यस उपमहानगरपालिकामा २०४८ सालदेखि स्थानीय निकायको निर्वाचनमा विजयी हुँदै आएको नेकपा एमाले तथा नेपाली कांग्रेस र माओवादी केन्द्र नेतृत्वको संयुक्त गठबन्धनबीच चुनावी प्रतिस्प्रर्धा हुने भएको हो। 

दलहरू उम्मेदवारसहित घरदैलो अभियानमा व्यस्त भइरहेको बेला बिहीबार नेकपा माओवादी केन्द्रको नेतृत्वमा आठ दलीय संयुक्त गठबन्धन संयुक्त रूपमा स्थानीय तहको चुनावी मैदानमा उत्रन लागेको हो।

संयुक्त गठबन्धनले बिहीबार पत्रकार सम्मेलन गर्दै धरान उपमहानगरपालिकाको निर्वाचनमा माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार अइन्द्रविक्रम वेघालाई सघाउने निर्णय सार्वजनिक गरेका हुन्। संयुक्त गठबन्धनमा नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान मञ्च, नयाँ शक्ति पार्टी नेपाल, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेकपा माले र नेकपा संयुक्तले प्रमुखमा माओवादी केन्द्रका अइन्द्रविक्रम वेघाको पक्षमा चुनावी प्रचार प्रसार गर्ने बताएका हुन्। 

संयुक्त गठबन्धनले जारी गरेको सहमतिपत्रमा धरान उपमहानगरको वडा तहसम्ममा चुनावी तालमेल गरेर जाने बताइएको छ।  

संयुक्त गठबन्धनले संयुक्त रूपमा प्रमुख पदका उम्मेदवार वेघालाई सहयोग गरेसँगै धरानमा प्रष्ट रूपमा त्रिपक्षीय प्रतिस्प्रर्धा हुने देखिएको छ। धरान उपमहानगरपालिकाको चुनावमा अहिले नै कुन पार्टीले प्रमुखमा जित्छन् भनेर भन्न सकिने स्थिति भने नदेखिएको स्थानीय बुद्धिजीवी बताउँछन्।

चुनावी मैदानमा रहेको नेकपा एमाले विगतदेखिको आफ्नो शाख जोगाउने उद्देश्यका साथ निर्वाचनमा होमिएको छ। एमालेले प्रमुखमा धरान उपमहामनगरपालिका विशेष इलाका समितिका अध्यक्ष तारा सुब्बालाई उम्मेदवार बनाएर लिम्बु समुदायको भोट तान्ने रणनीतिमा रहेको भए तापनि माओवादी केन्द्रबाट समेत लिम्बु समुदायकै अइन्द्रविक्रम वेघालाई उम्मेदवार बनाएपछि भोट एकआपसमा काटिने संभावना बढेको छ। 

संविधानसभाको निर्वाचनदेखि नै जातीय मुद्धा हावी हुँदै आएको धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले भने किरात समुदायको बहुमत आफ्नो पक्षमा पार्ने उद्देश्यसहित पार्टीका धरान उपमहानगरका सभापति तिलक राईलाई प्रमुखको उम्मेदवार बनाएको छ। 

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील हुँदै आएका प्रमुखका उम्मेदवार तिलक राई धरानका विभिन्न सामाजिक संघसंस्थामा आवद्ध व्यक्ति हुन्। उनी पार्टीभित्रका स्वच्छ छवि भएका नेताका रूपमा समेत चिनिन्छन्। 

यदि जातीय ‘सेन्टिमेन्ट’ हावी भएमा तिलक राईले धरानको प्रमुखमा बाजी मार्न सक्ने अनुमान गर्न थालिएको छ। धरानमा किरात समुदायको मत १६ हजारभन्दा बढी छ। 

यसैगरी विगत लामो समयदेखि कम्युनिष्ट राजनीतिमा क्रियाशील रहँदै आएका तारा सुब्बा पार्टीभित्रका इमान्दार नेताका रूपमा चिनिन्छन्। तर उनलाई पनि निर्वाचनमा विजयी हुनका लागि निकै गाह्रो हुने देखिन्छ। किनकि पछिल्लो समय उनकै पार्टीका केही नेताहरू समेत माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार अइन्द्रविक्रम वेघाले जित्न सक्ने बताउन थालिसकेका छन्।

यदि धरान उपमहानगरको निर्वाचनमा सुब्बाको पराजय भएमा धरानमा विगतदेखि रहँदै आएको एमालेको पकड गुम्नेछ। 

यता, माओवादी नेतृत्वको संयुक्त गठबन्धनले भने जातीय ‘सेन्टिमेन्ट’ हावी नभएमा आफ्ना उम्मेदवारले जित्ने दाबी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.