|

काठमाडौें : सम्पन्‍न भइसकेका आयोजनाको बिल भुक्तानीको व्यवस्था मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्माण व्यवसायीहरुले आग्रह गरेका छन्। 
बिहीबार प्रधानमन्त्रीसँगको भेटमा नेपाल निर्माण व्यवसायी महासंघको टोलीले बिल भुक्तानी हुन नसकेको गुनासो गरेको हो। 

सम्पन्न भइसकेका आयोजनाको लागि बिल भुक्तानी पेश गरेता पनि रकम उपलव्ध नभएको उनीहरुको गुनासो छ। भुक्तानीको लागि सम्बन्धित निकायलाई निर्देशन दिन महासंघले प्रधानमन्त्रीलाई आग्रह गर्‍यो। 

त्यस्तै लामो समय देखि वक्यौता रहेको आयकर, मुल्य अभिवृद्धि कर लगायतका राजश्वहरु बुझाउन नसकेका व्यावसायीले बुझाउन बाँकी राजश्व वक्यौतामा लागेको व्याज, हर्जना र जरिवाना मिनाहा गरि साँवा कर मात्र चुक्ता गरी वक्यौता फर्छयौट गर्न समेत महासंघ टोलीले आग्रह गरेको छ।

 व्यवसायीहले निर्माण व्यवसाय ऐन, २०५५ र निर्माण व्यवसाय नियमावली, २०५६ समय सापेक्ष संशोधन गरी निर्माण व्यवसायीहरुको वर्ग कायम गर्न र वर्ग अनुसार निर्माण कार्य गर्ने गराउने व्यवस्था लागु गर्न समेत प्रधानमन्त्री ध्यानाकर्षण गराएका छन्। 

महासंघको टोलिले राष्ट्रिय गौरवका ठूला आयोजनाहरुमा निर्माण व्यवसायीहरुको क्षमता अनुसार अनिवार्य सहभागि हुने व्यवस्था मिलाइदिनको लागि समेत प्रधानमन्त्रीसँग अनुरोध गरेको छ।  जवाफमा प्रधानमन्त्री देउवाले सम्बन्धित मन्त्रालयका पदाधिकारीहरुसँग छलफल गरी व्यवसायीहरुका माग सम्बोधन गर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.