|

 

ओखलढुंगा : मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ओखलढुंगामा चुनावी सभा र घरदैलो अभियानलाई तीव्र पारेका छन्। तीनै दलले चुनावी सभालाई शक्ति प्रदर्शनको माध्यम बनाएका छन्। 

उम्मेदवारी दर्तादेखि नै आफ्नो शक्ती देखाउन दलहरुले तामझामका साथ जुलुस निकालेका थिए। अहिले जिल्लाका मुख्य बजार क्षेत्रमा हुने चुनावी सभामा केन्द्रीय नेता उतार्ने होडबाजी चलेको छ।

एमालेका महासचिव ईश्वर पोखरेलसहित एक दर्जन केन्द्रीय नेताहरु ओखलढुंगामा छन् भने कांग्रेसले केन्द्रीय सदस्य मीन विश्वकर्मा र गुरु घिमिरेलाई जिल्लाका सभामा बोलाउने गरेको छ। नेकपा माओवादी केन्द्रका चार जना पोलिटब्यूरो सदस्य जिल्लामा खटेका छन्।

सुरेन्द्र कार्की घर–दैलोमा
नेकपा माओवादी केन्द्रका पोलिव्यूरो सदस्य तथा पूर्व सञ्चारमन्त्री सुरेन्द्र राम कार्की चुनावी सभा सकेर सदरमुकाम केन्द्रित घरदैलो र भेलामा जुटेका छन्। बाबुराम गौतम र मोहन खड्का लिखुको अभियानमा छन्। केशव राई चिसंखसगढीमा छन्। पेशल खतिवडा सिद्धिचरण नगरपालिका र मोलुङ गाउँपालिकामा केन्द्रित भएका छन्। 

को कहाँ खटिए ?

नेकपा एमाले केन्द्रीय नेताहरुलाई जिल्ला बोलाउनेमा सबैभन्दा अघि छ। एमालेको  उम्मेदवारी घोषणा सभामै केन्द्रीय नेताहरु सहभागी भएका थिए। अहिले एक दर्जन केन्द्रिय नेताहरु घरदैलो र चुनावी सभामा व्यस्त छन्।

महासचिव ईश्वर पोखरेलसहितका केन्द्रीय नेताहरु चुनावी सभाका लागि चिसंखुगढी गाउँपालिकामा छन्। पोलिटब्युरो सदस्य पशुपति चौलागाई र जिरी नगरपालिकाका मेयर टंक जिरेल खिजीदेम्वा गाउँपालिकाको कार्यक्रममा सहभागी हुँदैछन्। 

त्यस्तै देवशंकर पौडेल, लोककृष्ण भट्टराई र नानीबाबु बुढाथोकी लिखुको अभियानमा छन् भने केन्द्रीय लेखा आयोगका सदस्य शंकर कार्की चम्पादेवी गाउँपालिकामा खटिएका छन्। केन्द्रीय विभागका सदस्यहरु उत्तम राई र सिताराम गुरुङ सिद्धिचरण नगरपालिका र आसपासका क्षेत्रमा खटिएका छन्।
एमाले सचिव पृथ्वीसुब्वा गुरुङ मानेभञ्ज्यांग गाउँपालिकोको चुनावी सभा सकेर राजधानी फर्किएका छन्।

केन्द्रीय सदस्य यज्ञराज सुनुवारले जिल्लाको अनुगमन गरिरहेका छन्। चुनावी सभाको ‘अलराउण्डर’ वक्ताका रुपमा उनी जिल्लाका धेरैजसो स्थानीय तहमा हुने कार्यक्रममा सहभागि छन्। स्थानीय चुनावमा एमालेलाई ०५४ सालको विरासत जोगाउन चुनौति छ। एमालेले साबिकका ५६ मध्ये ३१ स्थानमा जितेको थियो। 

कांग्रेसले यसपटक एमालेभन्दा धेरै स्थान विजयी हुने आन्तरिक रणनीति बनाएर घर-दैलो अभियान गरिरहेको छ। नेपाली कांग्रेसले विभिन्‍न अभियानमा मीन विश्वकर्मालाई जिल्ला ल्याउने गरेको छ। अन्य नेताहरु कमै आउँछन्।

विश्वकर्मा चुनावी सभा सहभागी भएर फर्किएका छन् भने सांसद् रामहरि खतिवडा जिल्ला दौडाहामा छन्। कांग्रेसले चुनावी सभाभन्दा पनि घरदैलो अभियानलाई प्राथमिकता दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.