|

सोलुखुम्बु : विगत ६ दिनयता कुनै हवाइ उडान नहुँदा बाह्य पर्यटक तथा स्थानीय यात्रु मारमा परेका छन्। प्रतिकुल मौसमका कारण सगरमाथा प्रवेशद्धारको एक मात्र विमानस्थलमा उडान नहुँदा सयौं यात्रुहरु मारमा परेका हुन्।

बाक्लो हुस्सु तथा वर्षातका कारण पछिल्लो ४ दिनमा तारा एयरको मात्र १६ वटाभन्दा बढी उडान रद्ध भएको छ। जसका कारण एक सयभन्दा बढी विदेशी पर्यटक तथा सोही संख्यामा स्थानीय यात्रु मर्कामा परेको तारा एयर, लुक्लाका स्टेशन ईन्चार्ज फुनुरु शेर्पाले जानकारी दिए। 

शेर्पाका अनुसार ताराबाहेक अन्य एयरलायन्सले पर्यटकिय सिजन सम्पन्न भएपश्चात उडान नगरेपछि थप समस्या उत्पन्‍न भएको हो। आरोहणको सिजन सम्पन्न भएसँगै अन्य एयरलायन्सले पश्चिमतर्फ आफ्नो उडान केन्द्रित गरका कारण यात्रुहरु मारमा परेको स्थानीयको गुनासो छ।

अन्य एयरलायन्सले पर्यटकिय सिजनबाहेक अन्य सिजनमा एउटै उडान नभर्दा स्थानीयमा आक्रोश समेत पैदा भएको स्टेशन ईन्चार्ज शेर्पाको भनाइ छ।
असार २ गतेबाट तारा एयरले समेत खराब मौसमका कारण उडान भर्न नसकेपछि अहिले विदेशी तथा स्वदेशी यात्रुहरु पैदलयात्रा मार्फत सदरमुकाम सल्लेरीतर्फ लागेका छन्।

२ दिन लामो समय लाग्ने सल्लेरीसम्मको यात्रा समेत त्यत्ति सहज नभएको यात्रुहरु बताउँछन्। बाटो बिग्रिएका कारण हिँड्न मुस्किल भएको उनीहरुको प्रतिक्रिया छ।

प्रतिकुल मौसमका कारण अहिले हेलिकोप्टरले समेत लुक्लामा विमानस्थलमा उडान भर्न सकेको छैन। फाट्टफुट्ट रुपमा कुनै समय हेलिकोप्टरले विमानस्थलबाट करिब एक घण्टाको दुरी तल रहेको सुर्केबाट यात्रुको उद्धार गर्ने गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.