|

प्युठान : सुरुमा एउटै पदमा बाबु-छोराले फरकफरक पार्टीलाई भोट माग्दै हिँड्दा धेरैले पत्याएनन्। वास्तविकता त्यस्तै भयो, अन्तिम नामावलीमा प्यूठान नगरपालिका-९ को वडाध्यक्षमा कांग्रेसबाट ६४ वर्षीय भरतबहादुर केसी र राप्रपाबाट ४१ वर्षीय बाचुन केसीले उम्मेदवारी दिए। छुट्टा छुट्टै निर्वाचन चिह्नमा एकाघरका बाबुछोरी भोट माग्दा धेरै जना दंग छन्।

सहमति गरेर अघि बढ्ने प्रयास भए पनि कुरा नमिलेपछि बाबु-छोरा नै उम्मेदवार बनेर निर्वाचन प्रचारमा लागेको बताउँछन्। दुवै जनाले आफ्नो जित सुनिश्चत भएको दाबी गर्दै मतदातामाझ भोट माग्दै हिँडेका छन्। ‘बुबालाई उम्मेदवार मनोनयनपछि पनि फिर्ता लिएर सहयोग गर्नुस् भनेँ,’ छोरा बाचुनले भने, ‘फिर्ता गर्नु त भएन भएन मेरो धेरै विरोध बाले नै गर्दै हिँड्नुहुन्छ।’

बाचुन विद्यार्थी जीवनदेखि राजनीतिक क्षेत्रमा लागेका हुन्। उनलाई राप्रपाले सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार बनाएको हो। ‘बुबा हाम्रो पार्टीबाट चुनाव लडेमा साथ दिन सकिन्थ्यो,’ बाचुनले भने, ‘कांग्रेसमै रहेकाले साथ दिने अवस्था रहेन।’ बुबासँग चुनाव लड्न खल्लो महसुस भएको बाचुनले बताए।

‘सायद यस्तो घटना बिरलै हुन्छ’, बाचुनले भने, ‘घरपरिवार नै पक्ष-विपक्षमा छन्।’ गाउँका धेरै साथीभाइको साथ पाएकाले उम्मेदवार बनेको उनले बताए। राप्रपाबाट बुबाको राजनीति यात्रा सुरु भएको स्मरण गर्दै ‘पुरानै घर’ फर्कन बुबालाई धेरै पटक आग्रह गरेको बताए।

बाबु-छोराको उम्मेदवारीलाई गाउँका धेरैले रोचकका साथ हेरेका छन्। २०५२ सालदेखि कांग्रेस पार्टी प्रवेश गरेका भरत बीपीको विचार र सिद्धान्त मन परेर कांग्रेसमा लागेको बताए। उनले छोरा बाबुको लाइनमा आउनुपर्ने बताए। कांग्रेसले आफूलाई सर्वसम्मत वडाध्यक्षको उम्मेदवार बनाएको उनले बताए। गाउँका ७०/८० प्रतिशत मतदाताले उनको पक्षमा भोट हाल्ने उनको दाबी छ।

२०४३ सालको पञ्चायतकालमा समेत तत्कालीन मरन्ठाना गाविसको राप्रपाबाट उपप्रधान पञ्चमा विजयी भएको उनले इतिहास सुनाए। ०४९ सालको स्थानीय निकाय निर्वाचनमा राप्रपाबाट गाविस अध्यक्ष उठदा ५० मत अन्तरले राजमोबाट पराजय हुनुपरेको उनले सुनाए। ‘राजनीति एउटा नशा हो,’ भरतले भने, ‘एउटै पदमा बाबु-छोरा लड्नुपर्ने भयो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.