|

बाजुरा : जिल्लामा रहेका केही मतदान केन्द्र सूचनाविहीन रहने भएका छन्। मतदान केन्द्रमा के भयो भन्ने थाहा पाउन मात्र दुई–तीन दिन लाग्ने अवस्था छ। जिल्ला प्रशासन कार्यालय बाजुराले हिमालभक्ति प्रावि, बिच्छँया मावि, ठूलाकोट निमावि र गंगा निमावि बौडीस्थित मतदान केन्द्र सञ्चारविहीन रहेको जनाएको छ।

भौगोलिक रूपमा विकट भएकाले जिल्लाका चारवटा मतदान केन्द्र पूर्ण रूपमा सूचनाविमुख रहेका छन्। ती मतदान केन्द्र सदरमुकामबाट पाँच दिनको पैदल दूरीमा छन्। बाजुराको निकै विकटमा रहेका बिच्छँया मतदान केन्द्रको सूचना आदानप्रदान गर्न दुई दिन लगाएर कवाडी प्रहरी चौकीमा पुग्नुपर्ने हुन्छ।

बिच्छँयाका चार मतदान केन्द्रमा कर्मचारी काम सकेर फिर्ता भएपछि मात्रै जानकारी पाइने प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए। १४ असारका लागि हुने चुनावका लागि बिहीबारबाट सो क्षेत्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन्।

‘मतदान केन्द्रमा बीचमा केही समस्या भएमा रुगिनको कवाडी प्रहरी चौकीमा आएमा मात्र खबर हुन्छ, नभए हुन्न,’ उनले भने । प्रहरीको सेटबाट समेत सम्पर्क नहुने प्रहरीले जनाएको छ। साबिकको बिच्छँया गाविसमा अहिलेसम्म टेलिफोन सेवा विस्तार नभएकाले यस्तो समस्या भएको हो।

हिमाली, पाण्डवगुफा र गौमुल गाउँपालिकामा स्थापना भएका निर्वाचन कार्यालयमा टेलिफोन सम्पर्क हुँदैन। जिल्लामा ९२ वटा मतदान केन्द्र रहेका छन्, तीमध्ये ४२ वटा मतदान केन्द्र अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। ४० वटा संवेदनशील र १० वटा सामान्य छन्। भौगोलिक विकटता, सञ्चारको पहुँच र अन्य सुरक्षाको हिसाबले ४२ वटा मतदान केन्द्र अति जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.