|

झापा : दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनका कारण सीमावर्ती झापाको काँकडभिट्टामा भारतीय पर्यटक घटेका छन्। दार्जिलिङमा भइरहेको आन्दोलनका कारण सीमावर्ती भारतीय नक्सलवाडी, सिलिगुडी, दार्जिलिङ, खर्साङ, कालिम्पोङ, मिरिक, सिक्किम, कोलकाता, गुजरात, बम्बईलगायतका ठाउँबाट पर्यटक आउन छाडेका हुन्।

भारतीय पर्यटक आउन छाडेपछि सीमामा रहेका करिब ६४ वटा ट्राभल व्यवसायीहरूको फुर्सदिला बनेका छन्। पछिल्लो एक सातामा पर्यटक ह्वातै घटेको योग सहारा ट्राभल्स एण्ड टुर्सका सञ्चालक कृष्ण शर्माले बताए। ‘यहाँ दार्जिलिङ, कालेङपुङ, सिकिम लगायतका पर्यटकहरु धेरै आउने हुन्’,उनले भने, ‘आसाम, कोलकाता लगायत क्षेत्रबाट पर्यटक कमै मात्रमा आउँछन्।’

जिल्ला ट्राभल संघ, झापाका अनुसार अहिले जिल्लाभरिकै ट्राभल व्यवसायीहरुको आर्थिक कारोबार दयनीय बन्दै गएको छ। गोर्खाल्याण्ड आन्दोलनको असर ट्राभल व्यवसायमा प्रत्यक्ष देखिएको व्यवसायीहरू बताउँछन्। अहिले भारतीय पर्यटक नेपाल आउने र नेपाली पर्यटक भारत जाने भन्दा पनि अग्रिम टिकट रद्द गर्ने नै बढी हुने गरेको नेपाल एसोसिएसन टुर्स एण्ड ट्राभल, पूर्वाञ्चल क्षेत्रीय समितिका महासचिव उदयकुमार बताए। उनले भने, ‘दार्जिलिङ जाने र त्यहाँबाट नेपाल आउन टिकट बुकिङ त शून्य नै छ, अझै अघि टिकट बुकिङ गरेकाले पनि अब त धमाधम टिकट रद्द गर्न थाले,  व्यवसाय नै धरापमा पर्न लाग्यो।’ जिल्लाका अधिकांश ट्राभल व्यवसायी भारतीय पर्यटकका भरमा चलेको उनले बताए।

दार्जिलिङको आन्दोलन दिन दिनै झन् आक्रमक बन्दै गएपछि पर्यटकको आवतजावत शून्य जस्तै बनेको क्षेत्रीय होटल व्यवसायी संघ मेचीनगरका महासचिव रामबहादुर तामाङले बताए।

आन्दोलनले  काँकडभिट्टा र आसपासको होटल व्यवसायीको कारोबार चौपट बनेको उनले बताए। उनले भने,‘ पहिला होटलहरु सबै भरिने गथ्र्यो, तर अहिले पर्यटकनै आएका छैनन्, होटलहरु खाली जस्तै छन्’, उनले भने अहिले व्यवसायमा ५० देखि ६५ प्रतिशतले गिरावट आएको छ, झन् आन्दोलन बढ्दै गयो भने त के होला?’ आफूजस्ता व्यवसायीको व्यवसाय ७० प्रतिशत भारतीय पर्यटकले धानेको उनले बताए।

आन्दोलनका कारण मान्छेहरूको आवतजावत कम हुँदा दैनिक ज्यालादारी गरेर दैनिकी चलाउनेलाई असर परेको छ। विशेषगरी झापाको काँकभिट्टाबाट भारतको सीमावर्ती पानी ट्यांकीसम्म रिक्सा चलाउनेहरूको जाीवनयापनमा प्रभाव परेको छ। आन्दोलनका कारण किनमेल र घुम्न भारततर्फ जाने र भारतबाट नेपाल आउनेको संख्या दैनिक पातलिँदै जाँदा समस्या भएको ६५ वर्षीय रिक्सा चालक धिरेन राजवंशीले बताए।

‘के भएको छ भन्ने त मलाई थाहा छैन, तर एक्कासि मान्छे घटे, पहिला ओहोरदोहोर गर्न भ्याई–नभ्याई हुन्थ्यो अहिले काम नै छैन’, उनले भने, ‘पहिला दैनिक ५ सय भारु कमाइन्थ्यो, अहिले मुस्किलले एक सय कमाइ हुन्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.