|

उदयपुर : जिल्लामा क्रियाशील राजनीतिक दलहरूबीच निर्वाचन आचारसंहिताविपरीत भड्किलो शैलीमा चुनाव प्रचार प्रसार गर्ने हाेडबाजी चलेको छ। निर्वाचन आयोगले प्रभावकारी अनुगमन नगर्दा राजनीतिक दलका उम्मेदवारले मनोमानी रूपमा चुनाव प्रचार प्रसार गर्दै आइरहेका हुन्।

कांग्रेस, एमाले र माओवादी केन्द्र आचारसंहिता उल्लंघनमा अगाडि छन्। सार्वजनिक स्थलमा पोष्टर, पम्प्लेट टाँस्ने, झण्डा राख्ने, चुनाव चिह्नअंकित टिसर्ट तथा टोपी लगाएर चुनाव प्रचार गर्ने, भित्तेलेखन गर्ने, सवारी साधनमा चुनाव चिह्नअंकित झण्डा राखेर र्‍याली गर्ने कार्य  बढिरहेका छन्। 

अर्कोतिर बालबालिकाको प्रयोग गर्ने, भोजभतेर आयोजना गर्ने लगायतका काम जारी रहेको दलकै कार्यकर्ताको भनाइ छ। ‘केको निर्वाचन आचारसंहिता पालना हुनु!, दल र अाफ्नो नाम नबताउने शर्तमा एक नेताले भने, रातभरि होटलमा कार्यकर्ताले भोज खान भ्याएकै छन्।’

निर्वाचन आचारसंहिता २०७२ को परिच्छेद २ को ४ नम्बर ‘झ’ मा निर्वाचनसम्बन्धी प्रचारप्रसारका लागि धार्मिक, साँस्कृतिक, पुरातात्त्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना लगायतका कुनै पनि सार्वजनिक स्थलमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने उल्लेख छ।  तर गाईघाट, कटारी, बेल्टार, रामपुर, लगायतका क्षेत्रमा जताततै यस्ता दृश्य प्रशस्त देखिन्छ। 

गाईघाट बजारमा दौडिने सिटी सफारीदेखि टेम्पोसम्मले लाउड स्पीकर राखेर दलका चुनावी गीतको बजाउँदै हिँडेका छन्। ‘ सुरुमा दिनको ५ सय लिइयो’, टेम्पो ड्राइभर सुनिल घलेले भने, 'पछि दलका उम्मेदवारले एक पछि अर्को गरी पैसा बढाउँदै जाँदा अहिले दिनको २५ सय रुपैयाँ पुगेको छ।’

गाईघाट बजारमा दैनिक रुपमा ३ सयभन्दा बढी टेम्पो, सिटी सफारी, साना बोलेरो गाडीले दलका उम्मेदवारका झण्डा राखेर गीत बजाउँदै यात्रु बोक्ने गरेका छन्। यात्रु नभएको बेला गीत बजाउँदै बजार परिक्रमा गर्छन्। उदयपुरका कटारी, बेल्टार, गाईघाट र रामपुर क्षेत्रमा निर्वाचन आँचर संहित अनुमगन नहुँदा उल्लंघन भइरहेको छ । 

जिल्लाका निर्वाचन आचारसंहिता अनुगनकर्ता कृष्ण पौडेलले निरन्तर रूपमा निर्वाचन आचारसंहिता पालना गराउन निरन्तर अनुगमन भइरहेको बताए। ‘राजनीतिक दलबाट एकले अर्कालाई दोष लगाउने गरी दुईतीन वटा लिखित उजुरी परे,’ उनले भने, ‘आचारसंहिता उल्लंघनका काम रोक्न हामीले आग्रह गरेका छौं। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.