मोबाइल बाँड्ने काठमाडौं महानगरपालिकाको जनप्रनिधिको काम अनुचित

|

विराटनगर : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको नाममा उम्मेदवारसँग रकम असुलेको बारे छानबिन हुने बताएका छन्। विराटनगरमा शुक्रबार भएको पत्रकार सम्मेलनमा पोखरेलले पार्टीको हितविपरीत भएका जनुसुकै काम गरेको भए पार्टीका जोसुकैलाई कारबाही गरिने बताए।

आफूसँग रकम मागेको र रकम दिन नसक्दा अरुबाटै रकम लिएर टिकट बिक्री भएको भन्दै मोरङको मिक्लाजुङका एमाले नेता भेषराज काफ्लेले पार्टीबाट राजीनामा दिएका थिए। उनले आफूसँग एमाले वैकल्पिक केन्द्रीय सदस्य तथा मोरङ सह–इञ्चार्ज रुपनारायण श्रेष्ठले मागेको २१ लाख रुपैयाँ दिन नसकेपछि आफूलाई उम्मेदवार नबनाएको दाबी गरेका छन्।

सोही प्रसंगलाई लिएर सोधिएको प्रश्नमा पोखरेलले छानबिन गर्ने बताएका हुन्। ‘उम्मेदवारसँग पैसा लिएर टिकटको जिम्मा लिने मात्रै होइन, पार्टीको गतिविधिविरुद्ध जाने कोही पनि कारबाहीको दायरामा आउनुपर्छ,’ पोखरेलले भने, ‘हामी यस्ता घटनाको छानबिन गर्छौं।’

अर्को प्रसंगमा पोखरेलले काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले मोबाइल बाँड्ने र सेवा सुविधा तोक्ने गरी गरेको निर्णय जनताको विरुद्धमा हुने बताए। ‘मैले यो विषयमा आधिकारिक निर्णय भएको हो होइन भन्ने विषयमा थाहा पाएको छैन,’ पोखरेलले भने, ‘यदि त्यस खालको निर्णय भएको हो भने त्यो निर्णय सच्याउनुपर्छ, गलत भयो।’

‘प्रस्ट ढंगले ऐन कानुन बनिनसकेको स्थितिमा केही अलमल र अनुचित कुरा भएको हुन सक्छ,’ पोखरेलले भने, ‘जनप्रतिनिधिले जनसरोकारका कुराभन्दा बाहिर गएर निर्णय गर्नु हुँदैन।’ पोखरेलले सरकारका मन्त्रीहरु आचारसंहिताको धज्जी उडाउँदै गाउँ-गाउँमा गएर अनावश्वक प्रलोभन दिँदै भोट मागेको आरोप लगाए। ‘कुनै पनि संवैधानिक आयोगहरु सरकारको छाया बन्नु हुँदैन,’ निर्वाचन आयोगप्रति लक्षित गर्दै पोखरेलले भने, ‘सरकारका मन्त्रीहरुले गरेका आचारसंहिता विपरीतका कार्य रोक्नुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.