|

विराटनगर : विकसित देशमा भएको भए चुनावी एजेण्डा के हुन्थे होला अथवा नेपाली नेताका चुनावी आश्वासन सुने भने विकसित देशका जनताले के भन्दा हुन्? यो त कौतुहलताको विषय हो। तर, मोरङको धनपालथान गाउँपालिका ६ (साविक कदमाहा गाविस) को खुला दिसामुक्त अभियान चुनावी एजेण्डाकै कारण प्रभावित बनेको छ।

गाविसले तयार पारेको खुला दिसामुक्त योजना कार्यान्वयन गर्न प्रत्येक घरधुरीबाट २ हजार रकम संकलन गर्ने अभियान चलायो। तर, निर्वाचनको माहोल तात्दै जाँदा पैसा दिनुनपर्ने र आफूले चुनाव जिते निःशुल्क शौचालय बनाइदिने उम्मेदवारहरुको आश्वासनका कारण त्यहाँका जनताले रकम दिएनन्, परिणाम अभियान प्रभावित भएको छ।

‘धेरै मानिसलाई चुनाव पछि फ्रिमा ट्वाइलेट बनाइदिने हो भने,’ स्थानीय माहम्मद नजिम आलमले भने, ‘त्यसपछि रकम पनि उठेन र कार्यक्रम पनि प्रभावित भयो।’खुला दिसामुक्त अभियान सञ्‍चालन गर्न उक्त गाविसका शौचालय नभएका १२ सय घर परिवारबाट २ हजारका दरले रकम उठाउने परिषद्ले निर्णय गर्‍यो। तर, ३ सय ५० घरधुरीले रकम दिए, अन्यले दिएनन्। गाविसले छुट्याएको २६ लाख ४१ हजार बजेटबाट केही खर्च भयो तर, अभियान अधुरै रह्यो।

टेण्डर गरेर बनाइएका शौचालयका रिङ चौरमा थन्किए पैसा तिरेकाहरुको घरघरमा पुर्‍याइएको शौचालयका सामाग्रीहरु ५ मिटर पाइप, चार वटा रिङ, एउटा प्यान र एउटा ढकन पनि यत्तिकै थन्किएका छन्। कतिपयले रिङलाई गाईलाई भुषी खुवाउने डुँड बनाएका छन् भने कतिपयको फुटेर, भत्केर सकियो।

‘गरिब तथा विपन्नलाई गाविसले दिने सेवाबाट वञ्चित हुने डर देखाइयो र पैसा उठाइयो तर, धनी मानिसले पैसै तिरेनन्,’ स्थानीय लिला मण्डलले भनिन्, ‘राजनीतिक दलकै नेताहरु चर्पी बनाउँदैनन्, बनाउनुभन्दा पनि हामीलाई उल्टै गाली गर्छन्, धम्क्याउँछन्।’ स्थानीय राष्ट्रिय जनता पार्टीका नेता मोहम्मद हसिमले स्वास्थ्य चेतना सबैमा भए पनि अझै अटेरी गरिरहेको बताए।

यता, कदमाहा गाविसका सचिव विश्वमणि न्यौपानेले आदिवासी जनजाति, मुस्लिम र दलित समुदायका मानिसको बसोबास भएका कारण खुला दिसामुक्त अभियान चुनौतीपूर्ण बनेको बताए। ‘यो आर्थिक वर्षमा अभियान सम्पन्न होला जस्तो छैन,’ न्यौपानेले भने, ‘काम सहज ढंगले गर्नसक्ने वातावरण नै छैन।’

सन् २००९ देखि उक्त गाविसमा खुला दिसामुक्त अभियान सञ्‍चालन गर्न सुरु भएको हो। तर, अहिलेसम्म सम्पन्न नहुनुमा स्थानीय सरकार र निर्माण भएको समिति जिम्मेवार रहेको स्थानीय बताउँछन्। खानेपानी स्वास्थ्य तथा सरसफाई कार्यक्रमका टिका बिसंखेले अभियानप्रति जनता र गाविस सचिवले अपनत्व लिन नसक्दा समस्या भएको बताए। ‘खुला दिसामुक्त बनाउने अभियान चाहिँ अभियान्ताको मात्रै हो जस्तो गरियो,’ उनले भने, ‘सचिव र स्थानीय कोही जिम्मेवार देखिएनन्।’

सहयोगी संस्था प्लान इन्टरनेशनल मोरङका कार्यक्रम संयोजक सन्तोष पासवानले ७/८ वर्षमा पनि अभियान सफल नहुँदा आफूहरु निराश बनेको बताए। ‘हामीले कर्मचारी दिएका छौं, अभियान चलाएका छौं, बेलाबेलामा गाविस पनि पुगेका छौं, तर यो वर्ष पनि लक्ष्यअनुसार प्रगति भएन,’ उनले भने, ‘सबैको सहयोग देखिएन।’

१७ सय घरधुरी रहेको कदमाहामा १२ सय घरमा अझै शौचालय नभएको गाविसका सामाजिक परिचालक रुपेशकुमार मण्डलले बताए। अहिलेसम्म सरसफाइको कार्ड लाने सर्वसाधरणको संख्या भने १ सयको हाराहारीमा रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.