|

काठमाडौँ : निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनमा शान्ति कायम गर्दै निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने वातावरण बनाउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ। दोस्रो चरणको निर्वाचनका लागि 'पोलिटिकल थ्रेट' अझै कायम रहेको भन्दै आयोगले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि समन्वय गर्न राजनीतिक दलहरुलाई आग्रह गरेको हो।

रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनविरोधी कार्यक्रम नगर्न राजनीतिक दलहरुलाई आग्रह गरे। 'निर्वाचन विरोधी कार्यक्रम हुँदा पोलिटिकल थ्रेट अझै कायम छ, जनतालाई मतदानबाट बञ्चित गर्ने काम राजनीतिक दलहरुबाट नहोस्। निर्वाचन आयोग दलहरुबाट शान्तिपूर्ण वातावरण र निर्वाचनको सफलताका लागि समन्वयात्मक भूमिकाको अपेक्षा गर्छ,' प्रमुख आयुक्त यादवले भने।

दोस्रो चरणको निर्वाचनका लागि मतदाता परिचयपत्र ११, १२ र १३ गते वितरण गरिने आयोगले जनाएको छ। दोस्रो चरणको निर्वाचन मतदाता शिक्षा कार्यक्रम प्रभावकारी भएको भन्दै प्रमुख आयुक्त यादवले मतदाता परिचपत्र वितरण गर्ने दिनसमेत मतदाता शिक्षा जारी राख्ने जानकारी दिए। 'पहिलो चरणको निर्वाचनबाट पाठ सिकेर हामीले दोस्रो चरणको निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाएका छौँ। यसपटक मत बदरको अनुपात कम हुन्छ,' यादवले भने।

निर्वाचनका लागि भरपर्दो शान्ति सुरक्षा मिलाउन आयोगले सरकारसँग माग गरेको छ। उम्मेदवारी दर्ताको दिन बाजुरा कपिलवस्तु लगायतका जिल्लामा घटना भएको भन्दै आयोगले सबैले शान्तिपूर्ण रुपमा मतदान गर्ने किसिमले सुरक्षा प्रबन्ध मिलाउन सरकारसँग माग गरेको हो।

आयोगले यसपटकको निर्वाचनको परिणाम छिट्टै सार्वजनिक हुने भएको बताएको छ।'हामीले निर्वाचन अधिकृतहरुलाई विशेष तालिम दिएका छौँ। पहिलो चरणको निर्वाचनभन्दा यसपटकको निर्वाचनको परिणाम छिटो सार्वजनिक हुन्छ,' प्रमुख आयुक्त यादवले भने।

निर्वाचन आयोगको सचिव गोपीनाथ मैनालीको सरुवाको विषयमा भने उनले त्यसमा आयोगको कुनै हात नरहेको जिकिर गरे। ' सचिवको सरुवामा हाम्रो कुनै हात छैन, नेपाल सरकारले गरेको हो यसलाई आयोगले स्वभाविकरुपमा लिएको छ,' यादवले भने।

प्रदेश नम्बर १ ३ र ७ मा असार १४ गते हुने निर्वाचनमा १५ हजार ३८ जनप्रतिधि चयन हुनेछन् । त्यसका लागि ६१ हजार जनाले उम्मेदवारी दिएका छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.