|

चितवन : चितवनको मुग्लिन नारायणगढ सडक अन्तर्गत घुमाउनेमा गएको चैत २१ गते सुख्खा चट्टाने पहिरो खस्यो। गन्तव्यमा जाँदै गरेकामध्ये पहिरोमा पुरिएर बा १० प ४८४४ नम्बरको मोटरसाइकल चालक लम्जुङ सुन्दरबजारका ४५ वर्षिय रेशमराज राना रानाको मृत्यु भयो। छोरा सन्दिप घाइते भए।

सँगै आउँदै गरेको ना ४ ख ५४१९ नम्बरको ट्याङ्करका सहचालक भारतको वेतियाका २५ वर्षीय विनय कुमार कोइरीको मृत्यु भयो। चालक पर्सा लक्ष्मनुवा १८ का ३६ वर्षिय बनु पटेल घाइते  बने। घटनामा रा १ ख ७७९ नम्वरको मिनि ट्रक, बा १६ च ३९०७ नम्बरको कार र ना ६ ख ६६६४ नम्बरको ट्रक परेको थियो।

यो बीचमा दर्जनौं पटक पहिरो खस्यो। नियमितजसो ढुंगा झरिरहने भएकाले जोखिममा यात्रा गर्नु बाध्यता भएको चितवन सौराहाका पर्यटन व्यवसायी प्रकाश भट्टराई बताउँछन्। यही असार ४ गते पनि उक्त सडकको कालिखोला मै पहिरो खसेर ८ घण्टा सवारी जाम हुँदा गाडी खुलाउन दिनभर नै लाग्यो। यात्रुहरु पहिरो खस्ने त्रास मै दिन बिताए ।

त्यसको तेस्रो दिन असार ७ गते विहानको पहिरोले पनि यात्रुलाई दिनभर प्रभावित बनायो। उक्त पहिरो खस्दा पर्यटन व्यवसायी भट्टराई काठमाडौबाट चितवन आउँदै थिए। ‘मुग्लिन कटेपछि आङ सिंरिङ्ग हुन्छ', भट्टराईले भने, 'यसरी जीवन कै बाजी राखेर यात्रा कहिलेसम्म?’

काठमाडौबाट हिंडेका सूर्य अधिकारी पनि त्यही पहिरोमा दिनभर सडक बस्नुपर्‍यो। मुख्यगरी चारकिलो र कालिखोलाको पहिरोले यात्रुलाई प्रभावित पार्दै आएको छ। जीवनकै बाजी थापेर हिँड्नुपर्ने अवस्था मुग्लिन सडकमा भएको अधिकारी बताउँछन्।

घुमाउनेपछिको ठुलो दुर्घटना बिहीबार राति  भयो। बिहीबार राति ८ बजेदेखि नै सडक गस्ती र सानातीना पहिरो पन्छाएर मुग्लिनतर्फ फर्कँदै गरेको प्रहरीको भ्यान र एउटा ट्रक राती १ बजे कालिखोलाको पहिरोले बगायो।

२ प्रहरीको ज्यान गयो भने अन्य २ प्रहरी वेपत्ता छन्। जिल्ला ट्रफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक सन्तोष पन्त पहिरोको जोखिमसँगै सडक विस्तारको क्रममा रहेकाले ग्राभेल सडकका कारण पनि सवारी साधनहरु दुर्घटनामा परेको बताउँछन्।

अघिल्लो बर्ष रौतहटको एउटा बस दुर्घटना हुँदा २३ जना यात्रु घटनास्थल मै मृत्यु भएको र २ वटा ट्रक समेत नदीमा खसेर बेपत्ता भएको सोही क्षेत्र रहेको उनको भनाइ छ। 

जिल्ला प्रशासन कार्यालय चितवनको पहलमा मुग्लिन नारायणगढको ३४ किलोमिटर सडकमा जोखिम पहिचान गरेर आवश्यक सावधानी अपनाउने गरिएको उक्त सडक निर्माण आयोजनाका ईन्जिनियर शिव खनाल बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.