|

काठमाडौं : शुक्रबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय कविता महोत्सवको कार्यक्रम थियो। मञ्चमा सय वर्ष टेक्दै गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरे र हालैमात्र सरकारद्वारा वाङ्मय शताब्दी पुरुषका रूपमा सम्मानित संस्कृतिविद् सत्यमोहन जोशी थिए।

राष्ट्रगानदेखि सम्मान ग्रहणसम्म जोशिला देखिएका दुबै शताब्दी पुरुषहरूलाई पछ्याइरहेका राष्ट्रकवि घिमिरेको कविता वाचनबाटै कविता महोत्सवको सुरुवात हुने घोषणा गरे नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले। जोशका साथ मुस्कुराउदै घिमिरेले युवा कविहरूसँग यसरी बस्न पाउँदा खुसी लागेको बताए।

केहीदिन पहिले राष्ट्रकविको निधन भयो भनेर सामाजिक सञ्जालमा अफवाह फैलिएको थियो। जुन कुराले घिमिरेलाई अझै बिझाइरहेको रहेछ। उनले राति सुतेको बेला फैलिएको अफवाह विहान ब्युझिएपछि मात्रै थाहा पाए। 'अब म (माधव घिमिरे) बुढो भए, कविता लेख्न सक्दैन' भन्दै आफूबारे फैलिएको अफवाहपछि केही पंक्ति लेखेको भन्दै गुनगुनाए यी लाइन:

अचम्म भो, अचम्म भो, अचम्म भो

यही जुनीमा अर्को जुनी पाएँ

लाख लाख नेपालीको माया पाएँ

युवाकविहरूसँग सहयात्रा गर्ने इच्छा व्यक्त गरे राष्ट्रकवि घिमिरेले। प्रतियोगितामा सहभागी हुन तयार रहेका प्रतियोगी र कविता वाचन गर्न तयार रहेका अतिथि कविहरूतिर हेर्दै उनले राष्ट्रकविले भने, 'यी कवि मेरा सहयात्री हुन्, यो यात्रा टुटेको छैन। यो यात्रा बढिरहोस्, यो यात्रामा यो बुढो पनि लट्ठी टेकेर हिँड्न पाइरहुँ।'

प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको 'नेपाल प्रज्ञा प्रतिष्ठानको हीरक जयन्ती समापन, ६० औं वार्षिकोत्सव एवम् राष्ट्रिय कविता महोत्सव २०७४' कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका जिवित संस्थापक राष्ट्रकवि घिमिरेलाई हीरक सम्मान स्वरुप दोसल्ला ओढाएर र प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको थियो।

घिमिरे २०४७ सालमा प्रज्ञा-प्रतिष्ठानका कुलपति रहेका थिए। त्यस्तै, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, वैरागी काइँला, मदनमणि दीक्षित र वासुदेव त्रिपाठीलाई पनि हीरक सम्मान प्रदान गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.