|

रुपन्देही : रामदास गुप्ता चुनाव चिन्ह ‘जर्किन’ लिएर कपिलवस्तु नगरपालिकाका मतदाताका घरदैलोमा व्यस्त छन्। कपिलवस्तु नगरपालिका घोषणा भएदेखि लगातार मेयर बनेका उनी यसपटक पनि नगर प्रमुख बन्ने दौडमा छन्।

राष्ट्रिय जनता पार्टी नेपालले चुनाव बहिस्कार गर्ने निर्णय गरेसँगै उनले पार्टीको निर्णय विपरीत चुनाव लड्ने निर्णय गरे। ‘मैले कपिलवस्तुमा ५ पटक चुनाव जितेको छु। यहाँका जनताले म चुनावमा आएको हेर्न चाहन्थे, म आन्दोलनमा गएको भन्दा चुनावमा आउनुपर्छ भनिरहेका थिए, यसैकारण म आन्दोलन छाडेर चुनावमा आएँ’ उनले भने।  

उनको दृष्टिकोण छ, 'बन्द हडतालबाट हैन शान्तिपूर्ण ढंगले जनताका कुराको सम्बोधन गर्न, समस्या समाधान गर्न सकिन्छ, त्यो हो चुनाव।’ चुनावी अभियान तीब्र बनाएका उनी अब पछि हट्नेवाला छैनन्। भन्छन् ‘म हिजोपनि जनताको बीचमा थिएँ र आज पनि छु, जनताले चुनावमा भाग लिन प्रेसर गरे, पार्टीले संघर्षमा जानुस् भन्यो तर मैले जनताको इच्छा रोजेँ।’

राजनीतिको ३२ वर्षे जीवनमा उनले धेरै दलहरुको विचार बुझे। कतिपय अवस्थामा उनी पार्टी छाड्दै अर्को पार्टीमा पनि पुगे। उनले ३२ वर्षको राजनीतिको समीक्षा गरे 'मैले त जनताका लागि पो राजनीति रोजेको थिएँ, जनताकै विरुद्धमा जानका लागि त थिएन नि, जब राजनीति गर्छु भनेर बसेको पार्टी जनताकै हित विपरीत जान खोज्यो मलाई मन परेन।’

रामदास चुनावी अभियानमा होमिएसँगै केही दिन अघिसम्म अशान्त बन्न थालेको कपिलवस्तुको सदरमुकाम तौलिहवा शान्त छ। टोलटोलमा चुनावी नारा घन्किन थालेका छन्, दलहरु झण्डा बोकेर मतदाताका घरघरमा पुगेका छन्।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल भन्छन् ‘पहिले जसरी आँकलन गरिएको थियो त्यो भन्दा विल्कुलै फरक माहोल छ, सुरक्षाको हिसाबले सुधारोन्मुख अवस्था छ, चुनौतीपूर्ण र संवेदनशील मानिएका स्थानीय तहमा दलहरुले निर्वाध गतिविधिहरु गरिरहेका छन्।’

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका १ खुनगाईका सर्वसाधारण ओमप्रकाश जयसवाल भन्छन् ‘सबै पार्टीहरु चुनावको लागि हिडिरहेका छन्, भोट मागिरहेका छन्, रमाइलो छ, पहिले जसरी चुनाव बहिस्कार हुन्छ र अशान्ति हुन्छ भन्ने लागेको थियो, त्यस्तो छैन, एकदमै राम्रो माहोल बनेको छ।’

चुनावी माहोल शान्तिपूर्ण हुनुको जस भने राष्ट्रिय जनता पार्टी नेपाललाई नै जान्छ। राजपाले बन्द हडतालका कार्यक्रमलाई भन्दा बढी शान्तिपूर्ण आन्दोलनलाई प्राथमिकता दिदै जनतामाझ पुगेको छ। ‘हाम्रो आन्दोलन पूर्ण रुपमा शान्तिपूर्ण छ, हामी जनतालाई चुनावमा भोट नहाल्न अनुरोध गरिरहेका छौं' राजपाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारी भन्छन् ‘मोटरसाइकल र्‍याली, अन्तर्क्रिया कार्यक्रम, भोट नहाल्न दबाब सिर्जना गर्ने कार्यक्रम हामी गर्ने छौं, तर ती सबै आन्दोलन शान्तिपूर्ण रुपमै हुनेछन्।’

राजपामा रहेका नेताहरुले दिएको उम्मेदवारीको भने उनी आलोचना गर्छन्, भन्छन् ‘राजपाको निर्णय विपरीत उम्मेदवारी दिने उनीहरु हाम्रो पार्टीका मान्छे हैनन्।’

राजपाको यही निर्णय चित्त नबुझेर रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिएका मनमोहन चौधरी भने राजपाको निर्णय नै गलत भएको बताउँछन्। ‘जनताभन्दा माथि त हामी होइनौँ नि। आन्दोलन एक्लै गरेर हुँदैन, भोलि त जनता चाहिएला नि। जनताको साथ छाडेर कहीँ जान्न’ राजपा छाडेर स्वतन्त्र उम्मेदवार बनेका चौधरी भन्छन्। 

राजपामा आवद्ध रहेका रुपन्देही र कपिलवस्तुका नेताहरुले रुपन्देहीका ४ र कपिलवस्तुका ४ स्थानीय तहमा उम्मेदवारी दर्ता गरेका छन्। उनीहरु चुनावी अभियान लिएर मतदाताका घरदैलोमा पुग्न थालेका छन्। ‘हामी मतदाताका घरदैलोमा पुगिरहेका छौं, हामीलाई देखेर मतदाता खुशी छन्, शान्ति होस्, आन्दोलनको सट्टामा विकासका कुरा होउन् भन्ने चाहना राखेका छन्–कपिलवस्तु नगरपालिकाको वडा नम्बर १ मा घरदैलोमा व्यस्त उम्मेदवार रामदास गुप्ता भन्छन्–म जनताका चाहना पुरा गर्न तयार छु।’

तराई–मधेसमा यस्तै उम्मेदवारी परेकाले नै वातावरण शान्त भएको विश्लेषण सुरक्षा निकायको छ। ‘जुन हिसाबको अप्ठेरो थियो, त्यो अहिले केही सुरक्षित महसुस भएको छ', रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह भन्छन् ‘हामी उम्मेदवारी दर्ताभन्दा अगाडिको अवस्थाको मूल्यांकन गरेर थ्रेट भएका स्थलहरुको बारेमा एकदमै तयारी गरेका थियौं, जे आँकलन गरिएको थियो त्यो भएन, यो राम्रो कुरा हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.