|

रुकुम : पुथा उत्तरंगा गाउँपालिका १३, पद्मीका शान्त बुढा विगतमा ४–५ पटकसम्म बहुमुल्य यार्चागुम्बा संकलनका लागि रन्मामैकोटको पाटन पुगेका थिए। पछिल्लोपटक यार्सा संकलनबाट घाटा व्यहोर्नुपरेपछि उनले यार्सा खोजी यात्रा बन्द गरेका छन्।  

‘कुनै पटक केही आम्दानी हुन्थ्यो। कहिलेकाँही यार्साको आम्दानी आउन–जानमै ठिक्क हुन्थ्यो। पछिल्लोपटक त घाटै  भयो,’ यार्सा संकलनमा जान छाड्नुको कारण खोल्दै उनले भने,‘विगतमा ४–५ पटकसम्म यार्सा संकलनका लागि गएको थिएँ। अब यार्सा नै पाइन छाड्यो।’

उनी मात्र होईन यार्चा पाइने क्षेत्रकै स्थानीय शिव बुढा पनि यसपटक यार्सा संकलनका लागि गएनन्। पहिले–पहिले यार्सा संकलनबाट राम्रो आम्दानी भएको भएपनि पछिल्ला वर्षहरुमा यार्सा पाउन छाडेपछि उल्टै घाटा व्यहोर्नुपरेको अनुभव उनले सुनाए। 

शान्त र शिवमात्रै नभएर अघिल्लो पटक यार्सा संकलन गर्न जाने क्रममा घाटा व्यहोर्नेहरु धेरै छन्। त्यसैले यार्साको सिजन सुरु भइसकेपनि धेरैले संकलनमा चासो देखाएका छैनन्। 

हजारौंको संख्यामा संकलकहरु पुग्ने रन्मामैकाटको दुले क्षेत्रमा यसपटक यार्सा संकलनका लागि थोरै मात्र उपस्थित थिए। विगत सिजन खुल्ला हुनअघि नै यार्सा चोरी भएका कारण पनि यसपटक विगत वर्षभन्दा कमैमात्र यार्सा पाइएको छ।

यसबाहेक स्थानीय चुनावमा केन्द्रित भएका कारण यार्सा संकलनमा जान नपाउनेको संख्या पनि ठूलो छ। स्थानीय समितिको वर्चश्व र जिल्लास्थित नियमक निकायहरुको बेवास्ताका कारण पनि यार्सा संकलकहरुको संख्या घट्दो छ। 

यस वर्षमात्रै नभएर विगत केही वर्षदेखि निरन्तर यात्रा संकलकको संख्या घट्दो छ। कुनै समय गाउँमा गाईवस्तु हेर्ने मान्छे र सिकिस्त बिरामीलाई मात्रै छाडेर धेरैजना यार्सा संकलनमा जाने गरेका थिए। 

‘पहिले पहिले त यार्सा सिजनमा यहाँ गाउँ–घरमा केही मान्छे हुँदैथे सबै पाटनतिर हो, गाउँका बालबच्चा, महिला, बुढाबुढी देखि गर्भवति महिलाहरु पनि टिप्न गएर गाउँ सुनसान हुन्थ्यो,’ उनले भने,‘ धेरै गर्भवती महिलाहरु यार्सा टिप्न आउँथे। फर्कदा यार्सासँगै नवजात शिशु बोकेर फर्कन्थे। अहिले त्यस्तो अवस्था छैन।’

यार्सा सिजन व्यवस्थापन समितिले यस वर्ष हालसम्मकै कम संकलकहरु पुगेको अनुमान गरेको छ। यसपटक जेठ १४ गतेदेखि रुकुममा यार्सा टिप्नको लागि सर्र्वसाधारणहरुलाई समितिले अनुमति दिएको थियो। ‘यसपटक १५ सय जति मात्र यार्सा संकलनका लागि गएको अनुमान छ,’ यार्सा सिजन व्यवस्थापन समितिका सल्लाहकार भरतकुमार पुनले भने, ‘यो संकलक संख्या त विगतका वर्षहरुभन्दा निकै कम हो।’ 

यार्सा पाउन छोडेपछि संकलहरु वर्षेनी घट्दै गएको उनले बताए। ‘३–४ वर्ष पहिले ४० हजार बढी संकलक हुन्थे। २ वर्षअघि १५ हजार जति थिए। अघिल्लो वर्ष त्यो संख्याबाट घटेर १० हजार जति थिए भने यो वर्ष १० हजारभन्दा कम छन्।’

माग अनुसारको संकलन नभएपछि मूल्य वृद्धी 

यार्सा संकलन कम भएपनि यार्साको माग घटेको छैन। त्यसैले यार्साको मूल्य बढेको छ। यस वर्ष सामान्य यार्साको मूल्य ५ सय रुपैयाँदेखि ६ सय रुपैयाँसम्म पुगेको छ। विगतमा ३ सय रुपैयाँदेखि ५ रुपैयाँसम्मका सामान्य यार्सा पाइन्थ्यों। 

राम्रो यार्साको मूल्य १ हजार रुपैयाँदेखि १२ सय रुपैयाँसम्म पुगेको छ। छिपिएको, पोटिलो, ठूलो र नभाँचिएर तानेको यार्सालाई राम्रो र अन्यलाई सामान्य यार्साको रुपमा लिइन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.