|

लुम्बिनीः बुद्ध जन्मस्थल रूपन्देहीको लुम्बिनी प्रवेशद्वार अगाडि आयोजित एक चुनावी कार्यक्रममा संघीय समाजवादी फोरमका तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकामा प्रमुख पदका उम्मेदवार फकरुद्दिन खान भन्दै थिए, ‘अहिलेसम्म लुम्बिनी पछि पर्नुको कारण बौद्ध धर्मको अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार हुन नसक्नु नै हो।’ अब यो आफ्नो एजेण्डा हुने र विश्वभर बौद्ध धर्मको प्रचार गरेर लुम्बिनीमा पर्यटक ल्याउने उनले बताए। 

चुनावी कार्यक्रम सकिनेबित्तिकै उनी रमजानको नमाज पढ्न गए। 

फकरुद्दिन जस्तै बुद्धस्थल लुम्बिनी सांस्कृतिक नगरपालिकामा उम्मेदवार बनेका अधिकांश उम्मेदवार मुस्लिम समुदायका छन्। फकरुद्दिनलाई संघीय समाजवादी फोरमले प्रमुखको उम्मेदवार बनाएको छ। २०७० सालको संविधानसभा दोस्रो निर्वाचनमा तत्कालीन तमलोपाका नेता कमलेश्वर पुरीसँग एक हजार ८०० मत अन्तरले पराजित भएका खान यस पटक पुरीकै साथ लिएर चुनावी मैदानमा छन्। 

खान भन्छन्, ‘लुम्बिनी अहिलेको अवस्थामा आउनुमा मुस्लिम समुदायको ठूलो योगदान छ र यसको विकास गर्ने जिम्मा पनि यहाँका मुस्लिम समुदायकै हो।’ उनले लुम्बिनीको अपेक्षित विकासमा अवरोध देखेको अर्को कुरा हो– लुम्बिनी विकास कोषमा पदाधिकारी नियुक्त हुने प्रणाली। ‘मलाई विजयी बनाउनुभयो भने मैले लुम्बिनीको विकास मात्रै होइन, यहाँका बासिन्दाको पनि आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रको स्तर वृद्धि गर्नेछु’, उनी भन्छन्, ‘त्यो लुम्बिनीको विकासबाट संभव छ, लुम्बिनी विकास कोषलाई सिईओ प्रणालीबाट लैजानुपर्छ, दलीय भागवण्डाको क्षेत्र बनाउनुहुन्न।’ 

फकरुद्दिन जस्तै मुस्लिम समुदायका अर्का उम्मेदवार हुन्, राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहम्मद सफिक (समीर)। उनले पनि मुख्य एजेण्डामा लुम्बिनीको विकासलाई राखेका छन्। ‘बुद्धस्थलको विकास नै यो क्षेत्रको विकास हो’, उनी भन्छन्, ‘यहाँ सामाजिक सद्भाव कायम राख्न र बौद्धमार्गीहरूलाई बढीभन्दा बढी ल्याउन सक्नुपर्छ अनि मात्रै यहाँका बासिन्दाको पनि प्रगति हुन सक्छ।’ 

साविकका सातवटा गाउँ विकास समिति मिलेर २०७१ सालमा नगरपालिका बनेको लुम्बिनी देशको एक मात्रै सांस्कृतिक नगरपालिका हो। जनगणना २०६८ अनुसार यहाँको जनसंख्या ७२ हजार ४९७ छ।

सबैजसो दलका एजेण्डा लुम्बिनीको विकाससँग सम्बन्धित छन्। कांग्रेसको तर्फबाट उम्मेदवार बनेका मुस्लिम समुदायकै मोहम्मद सइद खाँ पनि लुम्बिनीको विकास नभएसम्म लुम्बिनीवासीको स्तर वृद्धि हुन नसक्नेमा सहमत छन्। ‘यहाँ मुस्लिम समुदायको बाक्लो बस्ती रहेको छ’, उनी भन्छन्, ‘हामीले धार्मिक हिसाबले एकता गर्ने र आपसी सहिष्णुता कायम राख्नेबारे नै बढी जोड दिनुपर्छ अनि मात्रै सबै मिलेर लुम्बिनीको विकास गर्न सकिन्छ।’ 

उनले स्थानीयको आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक र स्वास्थ्यको स्तर उकास्नका लागि लुम्बिनीमा बढीभन्दा बढी पर्यटक ल्याउनुपर्ने बताए। ‘हामीले यहाँका बासिन्दालाई सीपयुक्त बनाउनुपर्छ र आएका पर्यटकलाई धेरैभन्दा धेरै दिन बास बस्न सक्ने वातावरण दिनुपर्छ’, उनी भन्छन्, ‘अनि मात्रै यहाँको विकास हुन्छ। धार्मिक हिसाबले विभाजित भएर, तेरो र मेरो गरेर केही गर्न सक्दैनौँ।’

एमालेले प्रमुखमा उम्मेदवारी नदिए पनि उपप्रमुखमा मुस्लिम समुदायकै उम्मेदवार बनाएको छ। एमाले उम्मेदवार इन्साफ मुसलमान लुम्बिनीको विकासका लागि प्रतिवद्ध रहेको बताउँछन्। ‘लुम्बिनीको विकास नगरेसम्म यहाँका बासिन्दाको स्तर परिवर्तन हुँदैन’, उनी भन्छन्, ‘यहाँका बासिन्दासमेत समेटिने गरी लुम्बिनीको विकास गर्नुपर्छ।’ 

लुम्बिनीमा कांग्रेस, एमाले, राप्रपाबाट मात्रै होइन, स्वतन्त्र उम्मेदवारहरू पनि मुस्लिम समुदायका छन्। लुम्बिनीको प्रमुखका लागि कांग्रेसका मोहम्मद सइद खाँ, समाजवादी फोरमका फकरुद्दिन खान, राप्रपाका मोहम्मद सफिक (समीर) र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सजरुद्दिन मुसलमान चुनावी मैदानमा छन्। 

यस्तै, उपप्रमुखका लागि एमालेका सफिउर रहमान अन्सारी, अब्दुल रहमान मुसलमान, हजरत बेलाल फकिर र अब्दुल मुविन उम्मेदवार बनेका छन्। 

लुम्बिनीमा प्रमुख पदका लागि १७ र उपप्रमुख पदका लागि १८ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.