महामन्त्री विदेशमा, अर्थमन्त्री राजश्व कार्यालय चहार्दै

|

काठमाडौँ: स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत एक, पाँच र सात नम्बर प्रदेशमा असार १४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवादेखि सांसदसम्म चुनावी दौडधुपमा व्यस्त भएका छन्।

प्रधानमन्त्री देउवा प्रदेश नम्बर सातको चुनावी कार्यक्रममा भाग लिन शुक्रबार त्यसतर्फ लागेका छन्। उनी असार १४ गते मतदान गरेर काठमाडौँ फर्कने कार्यक्रम छ। कांग्रेस नेता रामचन्द्र पौडेल भने बिहीबारदेखि नै पाँच नम्बर प्रदेशको चुनावी कार्यक्रममा व्यस्त छन्। नेता कृष्णप्रसाद सिटौला पनि गृहजिल्ला झापामा असार ३ गतेदेखि नै खटिएका छन्।

कांग्रेसका एक दर्जन बढी केन्द्रीय सदस्य र सांसदहरू मोरङ जिल्लाका स्थानीय तह र विराटनगर महानगरपालिकाको निर्वाचनमा एक सातादेखि व्यस्त छन्। झापामा आधा दर्जन सांसद र केन्द्रीय सदस्य खटिएका छन् भने सात नम्बर प्रदेशका हरेक जिल्लामा केन्द्रीय सदस्यहरू चुनावी दौडाहामा जुटेका छन्।

कुन नेता कहाँ खट्दै छन्?

प्रधानमन्त्री देउवा

पार्टी सभापतिसमेत रहेका देउवा शुक्रबार बिहान बुद्ध एयरमार्फत् धनगढी लागेका छन्। शुक्रबार उनले धनगढीका दुई कार्यक्रम र कञ्चनपुरमा आयोजना हुने चुनावीसभालाई संवोधन गरे। उनले कार्यकर्तासँग भेटघाट गरे। देउवा महेन्द्रनगरमा बास बस्ने र शनिबार डडेल्धुराको जोगबुढामा आयोजना हुने कार्यक्रममा भाग लिने देउवाका सहयोगी केशव जोशीले बताए।

प्रधानमन्त्री देउवा शनिबार बेलुकी डोटीको बुडरमा बास बस्ने कार्यक्रम छ। आइतबार डडेलधुरा सदरमुकाम अमरगढीमा आयोजना हुने चुनावीसभा, कोणसभा र भेलालाई देउवाले सम्बोधन गर्ने भएका छन्। देउवा असार १४ गतेसम्म डडेल्धुराको गन्यापधुरा गाउँपालिका असिग्राम उच्चमावि मतदान केन्द्रमा मतदान गरेर मात्र काठमाडौँ आउने भएका छन्। 

रामचन्द्र पौडेल

नेता पौडेल बिहीबार रूपन्देहीका विभिन्न कार्यक्रममा सहभागी भए। उनले बिहीबार रूपन्देहीका तिलोत्तमा, देवदह र सैनामैनामा आयोजित चुनावीसभालाई संबोधन गरे। नेता पौडेलले शुक्रबार कपिलवस्तुको महाराजगञ्ज, वाणगंगामा आयोजित चुनावीसभालाई पनि संबोधन गरे।

नेता पौडेलले शनिबार दाङ, नेपालगञ्ज र कोहलपुरमा आयोजित चुनावीसभालाई संबोधन गर्ने भएका छन्। उनले आइतबार भैरहवा, बुटवल र बर्दघाटमा आयोजना हुने कार्यक्रममा प्रमुख अतिथिको रूपमा संबोधन गर्ने भएका छन्। उनी सोमबार मात्र काठमाडौँ फर्कने कार्यक्रम भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले थाहाखबरलाई बताए।

महामन्त्री डा. शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कांग्रेसका अन्य नेताहरू स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा दौडधुपमा व्यस्त रहँदा संयुक्त राज्य अमेरिकातर्फ लागेका छन्। श्रीमती सुपात्रासहित मंगलबार अमेरिका लागेका कोइराला असार १४ पछि मात्र नेपाल फर्कने भएका छन्।

प्रकाशमान सिंह

कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह भने चुनाव प्रचारको अभियानको क्रममा शनिबार संखुवासभातिर लाग्ने भएका छन्। उनलाई युरिक एसिडले सताएपछि घरमै आराम गरेर बसिरहेका सिंहका सहयोगी यूपी लामिछानेले बताए।

कृष्णप्रसाद सिटौला

कांग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला गृहजिल्ला झापामा एक सातादेखि व्यस्त छन्। पार्टीले मोरङ जिल्लामा समेत खटाएकोले उनी गत असार ३ गते विराटनगरको चुनावीसभामा सहभागी भएका थिए। असार ४ देखि झापाका विभिन्न गाउँपालिकामा व्यस्त सिटौलाले शनिबार झापाको गौरादह नगरपालिकामा आयोजित चुनावीसभालाई संबोधन गर्ने भएका छन्।

एक दर्जन प्रभावशाली नेता विराटनगरमा 

नेपाली कांग्रेसका तीन प्रधानमन्त्रीहरू बीपी कोइराला, मातृकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको गृहनगर विराटनगर यतिबेला कांग्रेसका नेताहरूको प्रतिष्ठाको लडाइँको केन्द्र भएको छ। एक नम्बर प्रदेशको सबैभन्दा ठूलो स्थानीय तह विराटगरमा केन्द्रीय सदस्यहरू एक सातादेखि खटिएका छन्। 

विराटनगरमा मोरङ क्षेत्र नम्बर ५ का सांसद अमृत अर्याल, क्षेत्र नम्बर ६ का सांसद महेश आचार्य, क्षेत्र नम्बर ७ का सांसद डा. शेखर कोइराला, केन्द्रीय सदस्यहरू डा. मीनेन्द्र रिजाल, डा. डिला संग्रौला, गुरुराज घिमिरे, सांसदहरू असोक कोइराला, भोटनीदेवी खवासलगायतका नेता एक सातादेखि खटिएका छन्।

मोरङका अन्य स्थानीय तहमा भने सांसदहरू दिलीप गच्छेदार, डिकबहादुर लिम्वु, पूर्व सांसद आमोदप्रसाद उपाध्याय खटेका छन्। दोस्रो चनणको निर्वाचनमा सबैभन्दा बढी १७ वटा स्थानीय तह मोरङमा छन्। 

मोरङमा कोइराला परिवारको विरासतलाई बचाई राख्नसमेत कांग्रेस नेताहरू क्रियाशील हुँदा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले शुक्रबार विराटनगरमा आयोजित चुनावीसभालाई संवोधन गरेका छन्। विराटनगरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत क्रियाशील भएपछि कांग्रेसका नेताहरू टोलटोलमा व्यस्त भएका हुन्।

झापामा युवा नेता छ्यापछ्याप्ती

झापामा स्थानीय तहको निर्वाचनमा युवा नेता तथा कांग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, सरिता प्रसाईं, केशवकुमार बुढाथोकी, सांसदहरू महिन्द्र लिम्बु, उषा गुरुङ, अमृतलाल राजवंशी, सुधीरकुमार शिवाकोटी, पूर्व केन्द्रीय सदस्य नरेन्द्रविक्रम नेम्वाङलगायतका नेता गाउँ र वडामा व्यस्त छन्। 

कांग्रेसका चर्चित युवा नेता गगन थापासमेत झापाका विभिन्न स्थानमा आयोजित चुनावीसभालाई संबोधन गरेर फर्किएका छन्। झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत गृहजिल्ला भएकोले नेताले यहाँ चुनाव जित्ने विषयलाई प्रतिष्ठाको रूपमा लिएका छन्।

अन्य नेताहरू

युवा नेता बालकृष्ण खाँड रूपन्देहीमा, मीन विश्वकर्मा सुनसरी र ओखलढुंगामा, भीमसेनदास प्रधान ताप्लेजुङमा, रमेश लेखक र एनपी साउद कैलाली र कञ्चनपुरमा, चन्द्र भण्डारी गुल्मी र पाल्पाका चुनावीसभामा क्रियाशील छन्। 

पार्टीले युवा नेता गगन थापालाई दार्चुला खटाए पनि उनी त्यसतर्फ नगएको भन्दै पार्टीभित्रै गुनासो आएको छ। थापा शनिबार त्यसतर्फ जाने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। 

यी नेता, जो चुनावी कार्यक्रममा खट्न सकेनन\

पार्टी सभापति शेरबहादुर देउवा चुनावी कार्यक्रममा भाग लिन एक साता लामो कार्यक्रममा सहभागी हुन सुदूरपश्चिमतर्फ लागे पनि कोषाध्यक्ष सीतादेवी यादव भने काठमाडौँमै आराम गरिहेकी छन्। यादवका सहयोगी धनेश्वर यादवका अनुसार कोषाध्यक्ष यादव एक सातादेखि सिरहाका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्किएकी हुन्। उनी असार १४ सम्म कतै नजाने भएकी छन्।

त्यस्तै, मृगौला पत्यारोपण गरेका कारण संभावित संक्रमणबाट बच्न प्रभावशाली नेता खुमबहादुर खड्का सानेपास्थित घरमा आराम गरिरहेका छन्। उनी असार १४ गतेको स्थानीय तहको निर्वाचनमा समेत जान नसक्ने पारिवारिक स्रोतले बताएको छ।

यस्तै, पार्टीका पूर्व महामन्त्री कुलबहादुर गुरुङ पनि उमेरका कारण सानेपामै आराम गरेर बसिरहेका थिए। गुरुङ हिजो मात्र झापा पुगेका थिए। शनिबार इलाममा आयोजित चुनावीसभामा भाग लिने गुरुङ अन्य चुनावीसभामा भने सहभागी नहुने उनका स्वकीय सचिव विमल गुरुङले बताए।

ज्ञानेन्द्रबहादुर कार्की 

अर्थमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की भने चुनावीसभामा भाग नलिने भएका छन्। कार्कीको स्वकीय सचिवालयका अनुसार केन्द्रीय सदस्य तथा सांसद कार्की आज विराटनगर गए। उनी आज र भोलि विराटनगर, इटहरी र धरानमा रहेका अर्थमन्त्रालय मातहतका अड्डा र कार्यालयको अनुगमन गरी आइतबार काठमाडौँ फर्कने भएका छन्। 

कार्की आफ्नो गृहजिल्ला भोजपुरमा मतदान गर्न जाने वा नजाने विषयमा समेत निर्णय भइनसकेको उनको सचिवालयले जनाएको छ। सुजाता कोइराला पनि क्यान्सर रोगको उपचारपछि आराम गर्नुपर्ने भएकोले सार्वजनिक चुनावी कार्यक्रममा सहभागी भएकी छैनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.