साहित्य

गायक बन्न काठमाडौं छिरेका चन्द्र बने कवि, भन्छन् : 'सपना देखेर मात्र नहुने रहेछ'
SHARES

असार ९, २०७४

    काठमाडौँ:  'म फर्स्ट भएँ है' उनी कसैलाई फोनमा यस्तो भन्दै थिए। उताबाट बधाई आयो होला र भने, 'धन्यवाद।'

    'फस्ट' भएको जानकारी दिने व्यक्ति थिए- चन्द्र रानाहँछा। उनी फस्ट भएका थिए, नेपाल प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको 'राष्ट्रिय कविता महोत्सव'मा।

    बधाईको जवाफ फर्काइरहँदा चन्द्रको मुहारमा गहिरो मुस्कान र विजेताभाव थियो। ओठहरू अलिअलि मुस्कान प्रकट गरिरहेका थिए। उनी खुसी साटिरहेका थिए। उनमा विजेता भएको उत्कट उत्साह भने थिएन।

    जुन लक्ष्य लिएर उनले खोटाङबाट १७ वर्षको उमेरमा काठमाडौँको यात्रा तय गरेका थिए, चन्द्र त्यही भेट्ने यात्रामै भएकाले होला उनमा केही खुट्किला चढेर चौतारो भेटेको उत्साह थियो भने अझै तय गर्नुपर्ने यात्राले उनलाई गम्भीर पनि बनाएको थियो।

    चुनावी चटारोमा रचिएको कविता भयो प्रथम

    आज पुरस्कृत भएको कविता उनले जेठ महिनामा लेखेका रहेछन्। चुनावी चटारो। कामै त्यस्तै थियो, विभिन्न पार्टीका प्रचार सामग्री तयार पार्नुपर्ने, जुन चन्द्रको 'पेट पाल्ने सरोकार' हो उनकै शब्दामा। चित्रकला बनाउँदा बनाउँदै प्रज्ञाप्रतिष्ठानले मागेको कविता पनि दिमागमा फुरिरह्यो।

    जतिबेला पनि कविताकै बारेमा सोच्नुपर्ने बाध्यता पनि थियो चन्द्रलाई, कविताबाट नाम कमाउने हुटहुटी जो थियो। 'दुईवटा कविता लेखेर च्यातिदिएँ, चित्त बुझ्दै बुझेन। यो तेस्रो कविता कसैलाई नदेखाई प्रज्ञामा बुझाए', उनले भने।

    महोत्सवमा यसपालिको  चन्द्रको सहभागिता तेस्रो थियो। यसअघिका प्रतियोगितामा कविता राम्रा दिन्थे उनी तर विजेता भने हुँदैनथे। विवाद मात्रै आउँथ्यो उनको नामले। लेख्नेहरूले राम्रो कविताले पुरस्कार पाएन भनेर लेख्थे। अन्याय भयो त उनलाई पनि लागेकै रहेछ। तर पनि प्रज्ञाप्रति भने उनको गज्जबको सम्मान रहेछ। उनी भन्छन्, 'प्रज्ञाप्रति सम्मान थियो र तेस्रो पटक पनि सहभागिता जनाएँ।'

    उनलाई आफू राम्रो कवि सावित पनि गर्नु थियो, जसका लागि कविता तयार पार्न मन, मस्तिष्क घोटेको उनी बताउँछन्। 'अबचाहिँ कवि भनेर प्रमाणित गर्नै पर्छ भन्ने लागेको थियो', कविता रचना गर्दाको संकल्प सुनाए उनले। आफूलाई विश्वास गरे र कविता साथीसंगी कसैलाई नदेखाई सुटुक्क प्रज्ञामा बुझाए। त्यो कविता पुरस्कृत भयो। सुरुमा खुसी साटे श्रीमती अम्बिका राईसँग, फोनबाटै।

    राजन मुकारुङले छरेको कविताको बिउ

    चन्द्र कक्षा ९ मा पढ्थे २०५१ सालताका। उनलाई नेपाली पढाउने शिक्षक किताबमा मात्रै केन्द्रित गराउँथे। ती नेपाली सरका सट्टा नयाँ सर आए, राजन मुकारुङ। उनी किताब मात्रै लिएर आएनन् कक्षाकोठामा, चन्द्र जस्ता कविताका लागि उर्वर मस्तिष्क र मन भएकाका लागि कविताको बिउ पनि साथमा लिएर आए।

    उपन्यास 'दमिनी भीर'बाट मदन पुरस्कार प्राप्त गरेका राजनले त्यतिबेला विद्यार्थीहरूलाई किताब मात्रै घोकाएनन्, किताबभन्दा बाहिर आएर कविता लेख्न र साहित्य पढ्न उत्प्रेरित गरे। मनकामना जनकल्याण मावि खोटाङ निर्मलीडाँडामा राजनले छरेको कवि बिउलाई चन्द्रले सम्झिए, 'कविताको बिउचाहिँ उहाँले उमारिदिनुभएको हो हाम्रो मस्तिष्कमा। बेलाबेला कविता प्रतियोगिता गराउनुहुन्थ्यो। किताबभन्दा बाहिर निस्केर कविताका भावभूमि सिकाउनुहुन्थो। उहाँले पढाउन थालेपछि कविता लेख्ने भूत चढेको हो।'

    कि गायक कि कवि बन्न काठमाडौँ

    १७ वर्षको उमेरमा २०५३ सालमा चन्द्र काठमाडौँ छिर्दा उनको दिमागमा दुई कुरा खेलिरहेका थिए- कि गायक बन्नुपर्छ कि कवि। गायक बन्नका लागि उनी थोरथोरै गीत पनि लेख्थे, तर भइदिए चित्रकार। उनी भन्छन्, 'कि गायक कि कवि बन्ने सपना बोकेर काठमाडौँ आएको पछि मेरो कर्मले चित्रकार बनाइदियो। त्यो पेट पाल्ने सरोकारसँग जोडियो।'

    उनको दैनिकी बन्न थाल्यो, दिउँसो चित्रकला सिक्ने र बेलुकी आरआर क्याम्पसमा पढाइ। कवि मनले पनि निरन्तरता पाइरहेकै थियो। उनी भन्छन्, 'त्यो बेला कविता पनि लेखिरहन्थे। लेख्यो च्यात्यो वा कापीमा सीमित हुन्थ्यो। साथी सर्कल थिएन। एवं रीतले त्यो भइरहेको थियो।'

    यो थियो २०५८ पहिलेको चन्द्रको दैनिकी।

    बागबजारमा पाइताला खियाउने

    चन्द्रको पाइताला बागबजारमा खिइन थाले। पाइतालाका साथै कवि मनले पनि जागृत हुने बाटो पायो। उनी बागबजार पेट पाल्ने मेसो मिलाउन डेरा लिएर बसेका थिए, 'साकेला आर्ट'को ब्यानरमुनि।

    २०६० वरपरबाट कविहरूसँग चिनजान बढ्न थाल्यो। ती चिनजान हुनेमा थिए, कवि तथा साहित्यकारहरू श्रवण मुकारुङ, विप्लव ढकाल, स्वप्नील स्मृतिलगायत र अन्य साहित्यानुरागी पनि। त्यसको फाइदा  चन्द्रले भने, 'अग्रज र खारिएका कविको साथ पाएँ, धेरै कुरा सिक्ने अवसर पाएँ, यसपछि आफूलाई परिस्कृत गर्दै लगेँ।' 

    कताकता गायक बन्ने भूत निस्किसकेको थिएन चन्द्रको दिमागबाट। उनले यहीबीचमा 'चिनो रुमाल' र 'चौबन्दी किन्दिउँला' एल्बम निकाले, आफ्नै रचना र स्वरमा।

    गायक बन्ने बाटो कठिन देखेछन्। गायक बन्नका लागि उनले रेडियो नेपालमा स्वर परीक्षा पनि दिएका रहेछन्। 'चौतारी' कार्यक्रममा पनि धाएका रहेछन्। रहर त थियो तर चन्द्रलाई लागेछ, 'यो कठिन बाटो हो।'

    प्रज्ञाप्रतिष्ठानको चमेनागृहमा उनले गायक बन्ने भूतबारे सुनाए, 'कविता लेख्नुभन्दा गायक बन्नु जटिल हो भन्ने लाग्न थाल्यो। साँच्चिकै गायक बन्न भने गाह्रो थियो। साधना हुन जरुरी थियो। आवाज हुन जरुरी थियो र साधनाले खारिएका आवाजहरूलाई प्रस्तुत गर्न मञ्च चाहिन्थ्यो।'

    पेट पाल्न चित्रकला छँदै थियो तर मनको धोको भने कवितामै अड्कियो, जुन बाटो सहज थियो भन्छन् उनी। 'कविता त लेख्यो फेसबुकमा हाल्दा पनि हुन्छ नत्र चिनजानका पत्रपत्रिकामा छापेपछि भइहाल्यो', उनको भनाइ छ। उनले कविता लेखेर फेसबुकमा मात्रै हाल्नुपरेन।

    काठमाडौँबाट प्रकाशन हुने ठूलै पत्रिका र अनलाइनमा उनका कविता छापिन थाले। उनले 'थिबिया चराको गीत' कवितासंग्रह नै प्रकाशन गरे। यसअघि नै 'मनमा आँधी चलेपछि' गीतसंग्रह र 'भाउजु लडेको भीर' कथासंग्रह उनले प्रकाशन गरिसकेका थिए।

    चन्द्रको अबको सपना खासै ठूलो केही रहेनछ। 'सपना देखेर मात्र हुन्न रहेछ, जिन्दगीको बाटो सोचेजस्तो सरल र सिधा नहुनेरहेछ', उनी भन्छन्, 'कर्म गर्दै जानेछु, तर कविता लेख्न छाड्दिनँ।' कविताबारे अध्ययन र साधना नै उनका प्राथमिकता हुन् रे अब!

    यस्तो छ चन्द्र रानाहँछाको प्रथम घोषित कविता

    अाँधीको यात्रा

    • चन्द्र रानाहँछा

     

    हातमा सपनाको फूल

    र पाउमा घामको साइत बोकेर

    पर्खिरहेछु आँधीको यात्रा...।

     

    सखारैदेखि

    मेरो बिदाइमा

    गाइरहेछन् चराहरू

    सुसाइरहेछ खोला

    भुर्भुराइरहेछ आगो...।

     

    मलाई लिन

    अँध्याराका सहस्र बाँधहरू भत्काउँदै

    आउनेछ आँधी।

     

    कतै अलमलिएला भनी बाटो देखाउन

    मुस्कुराउँदै

    उदाउनेछ जून।

     

    म हिँडेपछि

    गृहकार्य गरिरहेकी छोरीलाई

    सोध्नेछन् अक्षरहरूले

    जीवनको सौन्दर्य।

     

    एक्लै खेलिरहेको छोरालाई

    टक्क रोकिएर बतासले

    सोध्नेछ समय।

     

    साँझपख

    आँसु पुछिरहेकी मेरी प्रियतमालाई

    जलिरहेको मैनबत्तीले

    बुझाउनेछ प्रेमको अर्थ।

     

    जुन बेला म

    गर्जिरहेको मेघ र रिसाइरहेको चट्याङलाई सम्झाउन

    सद्भावको गीत गाउँदै

    छोइसक्नेछु आकाशलाई।

     

    काँप्नै लागेको भूकम्प र खस्दै गरेको पहिरोलाई छेक्न

    उज्यालोको लौरो टेक्दै

    पुगिसक्नेछु क्षितिजमा।

     

    मसँग 

    मेरो हत्केला जो छ

    मुठी कस्दा पृथ्वी बन्छ

    मुठी खोल्दा आकाश खुल्छ।

     

    आमा!

    यही हत्केलामा कोरिएको बाटोले डोर्‍याउँदै

    एक दिन

    ल्याइपुर्‍याउनेछ मलाई तिम्रो काखमा।

जयसिंह महरा

महरा संसदीय मामिला, राजनीति, समाज, कला, साहित्य र संस्कृतिबारे कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]