|

बाँके (कुसुम) : राप्ती–सोनारी गाउँपालिका–१ खासकुश्माका खुना समुदायले गरिब समुदायको प्रतिनिधित्व गर्ने उम्मेदवारलाई भोट दिने बताएका छन्। ‘गरिबले मात्र गरिबको कथा, व्यथा बुझेको हुन्छ र बुझ्न सक्छ’, खासकुश्मा अम्बादेवीपुरका प्रेमबहादुर खुनाले भने, ‘धनीले गरिबको व्यथा महसुस गर्नै सक्दैन।’ 

राप्ती–सोनारी गाउँपालिका–१, कुशुमकी शारदा खुनाले पनि गरिबको पक्षमा लाग्ने उम्मेदवारलाई भोट दिने बताइन्। उनले गरिबका लागि आएका सेवा, सुविधा गरिबकै लागि खर्च गर्ने राजनीतिक दल र उनीहरूका उम्मेदवारलाई मतदान गर्ने योजनामा रहेको भनाइ राखिन्। ‘सम्पन्न परिवारका उम्मेदवारले आफ्ना नातागोतालाई मात्र हेर्छन्, गरिबको व्यथा कस्तो हुन्छ भन्ने नै महसुस हुँदैन',शारदाले भनिन्, त्यस्तालाई भोट दिएर के गर्ने!’  

स्थानीय तहमा सबैको नेतृत्व गर्न सक्ने र पछि परेका समुदाय र जातिको भलो चिताउने उम्मेदवारलाई भोट दिने सोही वडाका भुवन खुनाले बताए। उनले हाम्रो पिरमर्का हाम्रै वर्गकाले मात्र बुझ्न सक्ने भएकोले त्यस्ता उम्मेदवारलाई भोट दिने बताए। ‘खुकुरीको पिर अचानोलाई मात्र थाहा हुन्छ, हामी गरिबको पिर हाम्रो वर्गबाहेकले बुझ्न सक्दैन’, उनले भने, ‘आफ्नो पार्टीका कार्यकर्तालाई भन्दा सबै पक्षलाई समेट्ने व्यक्तिलाई भोट दिने योजना छ।’ 

सूचीकृत गराउने दललाई पहिलो प्राथमिकता

साविक खासकुश्मा गाविसमा करिव २ सय परिवारका झण्डै ५ सय मतदाता छन्। अल्पसंख्यक र सीमान्तकृत समुदाय सूचीकृत भएर राज्यबाट सामाजिक सुरक्षा भत्ता तथा अन्य सेवा, सुविधा पाए पनि बाँकेमा २ हजारको हाराहारीमा रहेका खुना जाति अहिलेसम्म सूचीकृत हुन सकेको छैन। ‘सीमान्तकृत समुदायमा सूचीकृत गराउने र व्यवस्थित बसोबासका लागि पहल गर्ने राजनीतिक दललाई हाम्रो हुनेछ,’ भुवनले भने ।   

राप्ती नदीको बालुवा चालेर सुन खोज्ने यो समुदायको आफ्नो जमिन छैन। अहिलेसम्म ऐलानी जमिनमा बस्दै आएका छन्। बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि उनीहरूको पेशा संकटमा परेको छ। परम्परागत पेशा संकटमा परेपछि खान, लाउन समस्या भएको शारदा खुनाले बताइन्। ‘खेती किसानी गरेर खाउँ भने जग्गा जमिन छैन, निकुञ्जका कारण मौलिक पेशा पनि गर्न नपाइने भयो,’ उनले भनिन्, ‘पेशा गर्ने वातावरण मिलाउनेलाई हामीले पनि निर्वाचनमा सम्झिने छौं।’

पुल नहुँदा शिक्षाबाट वञ्चित

ऐलानी जमिनमा बस्दै आएका खुनाका छोराछोरी पढ्ने अवसरबाट समेत वञ्चित छन्। आर्थिक अवस्था र भौगोलिक विकटताका काण शिक्षाबाट वञ्चित हुनु परेको भुवन खुनाले बताए । 

उनका अनुसार हालसम्म ४ जनाले स्नातक, १० जनाले प्लस टु र २०–२५ जनाले एसएलसी उत्तीर्ण गरेका छन्। ‘कक्षा ५ उत्तीर्ण गरेपछि राप्तीपारि पढ्न जानुपर्ने र १२ उत्तीर्ण भएपछि बाहिर पढ्न जान सक्ने अवस्था छैन, एसईई उत्तीर्ण गरेकाहरू समेत रकम नभएर घरमै छन्,’ उनले भने। 

उनले राप्ती नदीमा पुल नभएका कारण साना बालबालिका कुशुममा आएर पढ्न नसकेको बताए। ‘नदीमा पुल नभएका कारण १५ मिनेटमा पुगिने बाटो २ घण्टा हिड्नु पर्ने हुन्छ,’ खुनाका अगुवा समेत रहेका भुवनले भने। 
  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.