चुनाव जित्नेमा यस्ता छन् आ-आफ्नै एजेण्डा

|

झापा : संघारमै आइपुगेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मेची अञ्चलकै व्यापारिक केन्द्र झापाको बिर्तामोड नगरपालिकाबाट विभिन्न पार्टी र स्वतन्त्रबाट १३ जना प्रमुख पदमा चुनाव लड्दै छन्।

बिर्तामोडको नगर प्रमुखका लागि काँग्रेसले जलकुमार गुरुङ, एमालेबाट ध्रुव शिवाकोटी, माओवादी केन्द्रले सिपी कडरियालाई, राप्रपाका तर्फबाट भक्ति सिटौला, नेकपा मालेबाट मन्दिरा बराल, क्रान्तिकारी नेकपा माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट बालकृष्ण बुढाथोकी र संघीय समाजवादी फोरम नेपालबाट पदमबहादुर ग्याबक तामाङ, राष्ट्रिय जनमोर्चा नेपालका तर्फबाट प्रमुखमा अबिचन्द्र भण्डारी, मंगोल नेसनल अर्गनाइजेसनबाट राजकुमार लावतीलाई, स्वतन्त्रबाट प्रमुख पदका लागि गोबिन्द प्रसाद अधिकारी, सिर्जना सिटौला, बालकृष्ण बुढाथोकी र रमेश कुमार कार्की प्रमुख पदका लागि चुनावी मैदानमा उत्रदै छन्।

यस्ता छन् प्रमुख चार दलका उम्मेदवारको एजेण्डा

जलकुमार गुरुङ, नेपाली कांग्रेस

जलकुमार गुरुङ, नेपाली कांग्रेसबाट प्रमुखको उम्मेदवार बनेका छन्। उनी २०४६ सालपछि निरन्‍तर राजनीतिक यात्रामा छन्। उनलाई खेल क्षेत्रमा विशेष चिनिने गरेको छ। बिर्तामोड-४ निवासी गुरुङ अहिले नेपाली कांग्रेसको जिल्ला सदस्यको छन्।

कांग्रेसका तर्फबाट उम्मेदवार बनेका गुरुङले बिर्तामोड नगरपालिकालाई व्‍यवस्थित गर्न आफू गुरुयोजनाका साथ अघि बढेको बताएका छन्। सामाजिक सुरक्षा, न्याय र विकासलाई एकैसाथ अघि बढाउने उनले बताए। उनले भने,‘बिर्तामोडमा प्रमुख जिति सकेपछि मेरो पहिलो उद्देश्य सुशासनको हुने छ, म भ्रष्टाचाररहित नगरको परिकल्पना साथ अघि बढेको छु’।

उनले तयार पारेको घोषणा पत्रमा पनि बिर्तामोड नगरपालिकालाई सुन्दर नगरपालिका बनाउन सरसफाई कार्यलाई तीव्ररुपमा उल्लेख छ। उनले आपफू खोलाको व्यवस्थापन, खानेपानी र सुकुम्बासी समस्याको समेत समाधानका लागि योजनाबद्ध ढंगबाट अघि बढेको बताए।

उनले भने, ‘समाजसँग जोडिएको समस्या समाधानका निम्ति मेरो पहिलो प्राथमिकता रहन्छ र अन्य कुराहरुलाई विस्तारै अघि बढाउँछु।’ उनले नगरप्रमुखका रुपमा आफूले पाएको तलब भत्ता समेत नगरको विकासमा खर्चने बताए।

ध्रुव शिवाकोटी एमाले

बिर्तामोड- ५ का ध्रुवकुमार शिवाकोटी २०३७ सालबाट राजनीतिमा प्रवेश गरेका हुन्। नेकपा एमालेको नगर पार्टी सदस्य, तत्कालीन पार्टी नगर सचिव हुँदै जिल्ला सदस्य र हाल नेकपा एमालेको जिल्ला कमिटी सल्लाहकार सदस्यका रुपमा कार्यरत छन्। उनी अनारमनी गाविसको अध्यक्ष समेत बनिसकेका छन्।

बिर्तामोडमा विषादीको प्रयोग ब्यापक रुपमा बढेकाले ५ वर्ष भित्रमा बिर्तामोडलाई विषदीमुक्त बनाउने प्रसाई बताउँछन्। उनी भन्छन्,‘ यहाँ विषादीको प्रयोग ब्यापक छ, म प्रमुख बनिसकेपछि बिर्तामोडलाई विषदीमुक्त र प्रदुषणमुक्त सहर बनाएरै छाड्नेछु, यो मेरो पहिलो काम हुने छ’। उनले यही तरिकाले विषदी प्रयोग भएको खाद्यन्न खाने हो भने अबको २० वर्षमा कोही पनि बृद्धाभत्ता खाने उमेर सम्म बाँच सक्ने अवस्था नरहेको बताए।

आफ्नो नारानै ‘सम्बृद्धि, समानता र पूर्वाधार विकासमा हाम्रो जोड, सुन्दर, शान्त, स्वच्छ र सुरक्षित बिर्तामोड’ भएकाले बिर्तामोडलाई समृद्ध बनाउन आफू लागि पर्ने उनले बताए। आफू बिजयी भएमा अर्का पार्टीसँग सामाजिक सद्भाव राखेर सबैको भावनलाइै समेटेर विकास गर्ने उनी बताउँछन्।

सिपी कडरिया माओवादी केन्द्र

कडरिया माओवादीका पूर्व-लडाकु हुन्। उनी विकासप्रेमी युवा नेताका रुपमा परिचित छन्। २०४९ सालदेखि राजनीतिमा प्रवेश गरेका कडरिया नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्।

आफूले बिर्तामोड नगरपालिकाको प्रमुख पदमा विजयी हासिल गरेमा सर्वप्रथम बिर्तामोडलाई सफा बनाउने कडरिया बताउँछन्। उनी भन्छन्,‘बिर्तामोड मेची अञ्चलको व्यापारिक केन्द्र भए पनि व्यवस्थित बन्न सकेको छैन यस नगरलाई म सबैभन्दा पहिला सफा र ब्यवस्थित बनाउछु, फोहोर व्यवस्थापनमा म उचित कदम चाल्ने छु’।

उनले बेरोजगारी समस्याको चाँडै समाधान गर्ने बताए। बिर्तामोड अदुवा खोला, देउनीया खोला, घाग्रा खोला, भुसुडी, रेखा खोला लगायतका खोलाको कटानको चपेटामा रहेकाले खोला नियन्त्रणमा उचित कदम चाल्ने उनले बताए। उनले सुकुम्बासी समस्यालाई समाधान गर्ने व्यवस्थित र वैज्ञानिक उपाय अपनाउने समेत बताए।

भक्ति सिटौला राप्रपा

२०३५ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका सिटौला लामो समयसम्म नेपाली कांग्रेसमा आबद्ध रहेर विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्। उनी अहिले राप्रपाको केन्द्रीय सदस्य र संगठन विभाग सदस्य सचिवको जिम्मेवारी बहन गरिरहेका छन्।

सिटौलाले पनि आफूले नगर प्रमुख जितेमा बिर्तामोडलाई संमृद्ध नगर बनाउने बताएका छन्। बिर्तामोडमा अहिले फोहोर व्यवस्थापन चुनौती रहेको भन्दै आफूले सरसफाइ गर्ने र फोहोरमुक्त बिर्तामोड बनाउने उनले बताए।

उनले भने,‘ बिर्तामोड मेची अञ्चलकै व्यापारिक केन्द्र हो त्यस कारण पनि बिर्तामोडमा टफिक व्यवस्थापन चुनौती छ, त्यसका लागि म उचित पार्किङ्गको ब्यवस्था मिलाउँछु, सरसफाइको त अभियान नै चलाउँछु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.