पहाडको चुल्ठो भरि फुलेको
गुराँसको रङ
र मधेसको मजेत्रो भरि लत्पतिएको
रगतको रङ
सूर्यको तापले पग्लिरहेको
हिमालको रङ
र आफ्नै पैतालाको प्रेमले पृथ्वीमा उम्रेको
पसिनाको रङ
फरक छन् रङहरू
तर तिमी भन्छौ – रगत सबैको रातो हुन्छ
पसिनाको रङ उस्तै हुन्छ ।
जसरी
फर्फराइरहेको सबै झण्डा
उचालिएका सबै मुठ्ठी
मुक्तिका लागि
हुन सक्दैनन्
गाइएका सबै गीत
लेखिएका सबै कविता
परिवर्तनका लागि हुन सक्दैनन्
त्यसरी नै
फरक छ तिम्रो र मेरो संघर्ष
हो तिमी
जुलुशको अघि-अघि
फहराउँछौ विजयको झण्डा
शहीद मन्च, पार्टी कार्यालय
र जन्मोत्सवहरूमा गाउँछौ गीत
म,
कोदालो, बेल्चा
र आफ्नै हात, पाउ शीर,शरीरलाई
बनाउछु झण्डा
भीर पहरा, खेत खलियान
र आफ्नै असमायिक मृत्युमा गाउँछु जीवनको गीत
तिमी भन्छौ
विचारले
दर्शनले
उदेश्यले
हामी दुई छुट्टिनै नसकिने
गाढा रातो भइसक्यौँ
अथवा
गहिरो नीलो भइसक्यौँ
र भन्छौ –
रगत सबैको रातो हुन्छ
पसिनाको रङ उस्तै हुन्छ
तर मित्र !
मलाई थाहा छ यो धर्तीको दुखको सहस्र अनुहार
त्यसैले,
हामी उस्तै-उस्तै देखिए पनि
हामी दुबै गहुँगोरो देखिए पनि
फरक छ हाम्रो भित्री रङ
फरक छ हामी दुईको पसिनाको रङ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।