|

  • अमृता स्मृति, धादिङ

फूलहरु जान्दैनन् युद्ध गर्न

उडाउँदैनन् कहिल्यै हठले भरिएको बेलुन

ओठहरुमा शब्दहरुको रमिता भिरेर

देखाउँदैनन् सार्वजनिक मञ्चहरुबाट तमासा

 

सुनगाभा र मखमलीहरुले

वेदनाको हाट लगाएर

कहिल्यै गरेनन्

वर्षौंदेखि मुटुभित्र पोलिरहने आगोको कुरा

गुनगुनाएनन् आँधीले लछार-पछार गरेका गुनासाहरु

किनकी हृदयमा बुद्ध बोकेर हिँडेका उनीहरुहरुलाई गर्नुछैन युद्ध

 

अचम्म भएको छ

यसपाली फूलदानीमा बैठक बसेका छन्

कलिला फूलहरु

छलफल गरिरहेका छन्

दैनिक जस्तो हजारौंको सपना बोकेर उड्ने जहाज

भरूभूमिमा अवतरित हुँदै

हराएका नूपुरहरुको

 

भ्रमको पर्दा च्यातेर

म नियाली रहेछु ती फूलहरुलाई र सोची रहेछु

फूलहरु किन जान्दैनन् युद्ध गर्न ?

मैले अनुभूत गरेको छु

उनीहरुको बैठकपछिको छलफललाई कदर गर्दै

हराएका खुस्बुहरुको निमित्त

आँखाहरुको बादल हटाउन

मैले लेख्नुपर्छ फूलहरुको कविता

 

म कविताहरु ओढेर

शब्दहरुको जुलुस मात्र निकाल्न चाहान्न

काँडाहरुलाई काव्यको बल्छीमा उनेर

बनाउन चाहान्छु फूलहरुको देश

 

गोधुलीमा गुलाबी रङ्ग बोकेर

यो हावाको खल्तीमा सुटुक्क सुवास पठाएको छु

तिम्रो बगैंचामा रत्यौली खेल्न

अब तिम्रो बगैंचामा फूलहरुका निमित्त

यस्तो रत्यौली नाचिने छ

जस्तोकी फूलहरु निचोर्दै रङ्गीन बनेर मात्तिएका

सिउँडीका काँडाहरु स्वयं छिया-छिया हुनेछन् ।

 

प्रत्येक रातहरुलाई पुनम बाँढिनेछ

शुक्लपक्षसँगै उदाउनेछ पुर्वी किरण

र त्यही बगैंचाबाट निस्कनेछ

विचित्र रङ र भुगोल बोकेर एकहुल पुलतीको जुलुस

निसाफ माग्नेछन् उनीहरु

भविष्यसँग वर्तमानले गरिरहेको खेलवाडको

त्यतीबेला पनि फूलहरु जान्दैनन् युद्ध गर्न

किनकी मनमा बुद्ध बोकेर हिँडेका उनीहरुलाई गर्नुछैन युद्ध ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.