|

  • दीपेन्द्र उपाध्याय, दाङ

 

म विश्व हूँ विशाल हूँ स्वतन्त्रता प्रशान्त हूँ

म भूपदेखि भुक्षुमा सुकर्म तारतम्य हूँ ।

म शान्तिपूर्ण दीप हूँ र शान्तिकै म मन्त्र हूँ

नयाँ भविष्य ल्याउने स्वयम् म लोकतन्त्र हूँ ।।

 

नरेट व्यर्थमै गला नमारिने विचार छन्

विचार वेग क्रान्ति हो र टाउकै हजार छन् ।

हजार काटिए भने लिएर लाख उठ्दछु

नरेटिने नमारिने अमर्त्य लोकतन्त्र हूँ ।।

 

सबै प्रजा समान हुन् म जातपात मान्दिन

प्रपञ्च गर्न लिप्त भै, म राष्ट्रघात जान्दिन ।

थिचोमिचो विरुद्धमा म लड्न तम्तयार छु

प्रजाधिकारपूर्ति नै हुने म लोकतन्त्र हूँ ।।

म रेल हैन लीकमा कदापि गुड्न सक्दिन

म पिल्सिएर दुर्दशा सहेर मौन बस्दिन ।

समस्त राज्यतन्त्रमा म एक मूलमन्त्र हूँ

अथाह चाहना हुने उही म लोकतन्त्र हूँ ।।

 

म सर्वश्रेष्ठ यान हूँ चलाउछन् नि शासक

म खस्न सक्छु भीरमा परे भने कुचालक ।

खराबदेखि जोगिए सुमार्गमा म हिँड्दछु

प्रजा मताधिकारको सवार लोकतन्त्र हूँ ।।

 

हिमालको, पहाडको, मधेसको, म देशको

सधै हितार्थ चाहने मिलाप हूँ स्वदेशको ।

अनेकभित्र एकता रुचाउने म मन्त्र हूँ

प्रजा र राष्ट्र निम्ति निर्विकल्प लोकतन्त्र हूँ ।।

 

छ अन्धकार नै भने दियो जलाउने गर

दियो निभाउलान् अरु तिमी सचेतना छर ।

युवा र नौजवानमा सदैव जग्जगाउछु

समस्त देशवन्धुको अनन्य लोकतन्त्र हूँ ।।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.