|

  • उर्मिला कोइराला, काभ्रेपलान्चोक

 

आँगनमै पोखिएको छ उज्यालो

कहिलेकाहीँ उज्यालो नै

उज्यालोको बाधक भयो भन्छन् मान्छेहरु

अहँ म मान्दिन

आफ्नै आँखा छोपेर

कसरी भनुँ सुर्य अँध्यारो छ !

 

उज्यालो नै कुल्चिनुपर्छ

उज्यालो पोखिएको आँगन

पुग्नुपर्छ मझेरीमा

जहाँ छ अगेना आगोको पनि

र चेतनाको पनि

जस्तो मझेरीमै चल्छ तातो बहस घरघरको

तातो भनेको आगोमात्र होइन

जस्तोः एक ओच्छ्यान न्यानो र एक पाखा छानो

जस्तोः एक गाँस भात र एक धरो लुगा

जस्तोः परिवारको एकता र सद्भाव

जस्तोः सुन्दर सपना र भविष्यको तानाबाना

सपरिवार बसेको अगेनाको छेउ

त्यो घरको संसद हो

कार्यपालिका हो र न्यापालिका त्यै हो

उज्यालो आँगनमा राखेर

अगेनाछेउ उँगिरहन्छौ त

आखिर उज्यालो आफैंले के दिन्छ ?

 

उज्यालो उज्यालो मात्रै पनि हैन

उज्यालोकै छातीमा छ हिजोको गहिरो अँध्यारो

उज्यालोको आँखामा छ रगत र

रगत टेकेर उठेको विश्वास

बन्द निश्वास, उकुसमुकुस र छातीको ढुकढुकी

किताबका जस्तै पाना हुन्छन् उज्यालाका पनि

पानापानामा छन् युद्ध र बुद्ध

पानापानामा छन् चीत्कार र निर्वाण

विद्रोह र मुक्ति

पानापानामा हामी सबै अट्छौं र

अटेकाछौं त्यही उज्यालोमा

 

नझुक्किनु

डढेलो र घर जलेको आगो उज्यालो होइन

खास उज्यालो त शान्ति भएर उभिन्छ

समृद्धि भएर फल्छ

र मुसुक्क मुस्कुराउँछ निर्दोष ओठभरि !

 

आँगनमा छ उज्यालो

र आँगनै टेकेर निस्कनुछ यात्रामा

आफैं उज्यालो नभई बाँड्न सकिन्न उज्यालो

छाँया राखेर आफ्नो गोडामा

उज्यालो बाँडेर उभिन्छ उज्यालो

उज्यालो आफुतिर राखे देश अँध्यारो हुन्छ

देश उज्यालो पार्न गोडामा अँध्यारो सहनुपर्छ

यात्रामा सबै छन्

तर प्रष्ट छैनन्

उज्यालोको ऐनामा आफै मुहार हेर्ने कि

देश हेर्ने ?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.