|

काठमाडौं : असार १४ गते हुने दोश्रो चरणको स्थानीय तह निर्वाचन आउन अब तीन दिन मात्र बाँकी छ। राजनीतिक दलका नेता कार्यकर्तामात्र होइन, सर्वसाधारण समेत मतदान गर्न आफ्नो गाउँ नगर पुगिरहेका छन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, प्रवक्ता पम्फा भुसाल, हेडक्वार्टर सदस्यहरू अग्निप्रसाद सापकोटा, देव गुरुङ, गिरीराजमणी पोख्रेल लगायतका नेताले बैशाख ३१ गतेको पहिलो चरणको निर्वाचनमा मतदान गरिसकेका छन्।

दोश्रो चरणको निर्वाचनमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, वर्षमान पुन अनन्त, जयपुरी घर्ती, मणि थापा, लेखराज भट्ट, गोपाल किराती लगायतका नेताले मतदान गर्नेछन्। 

देउवा सरकारका उपप्रधान मन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले रोल्पाको लिवाङ नगरपालिका वडा नम्बर १ दामरुकमा रहेको श्री तारा माध्यामिक विद्यालयबाट मतदान गर्नेछन्। चुनावी प्रचारका लागि दुई साता अगाडि नै प्रदेश नम्बर ५ का विभिन्न जिल्लाहरूमा पुगेका महरा १४ गते हुने चुनावमा मतदान गर्न शनिबार रोल्पा पुगेका छन्। 

१० स्थानीय तह रहेको रोल्पा जिल्लाको एक मात्र नगरपालिका लिवाङमा पूर्ण केसी (करेन्ट) र उपप्रमुखमा मनकुमारी घर्ती (कमला) ले उम्मेदवारी दिएका छन्। माओवादी केन्द्र रोल्पाका सचिव समेत रहेका केसी नातामा महराका छोरी ज्वाईँ हुन् भने जिल्ला सदस्य रहेकी घर्ती नेता वर्षमान पुन अनन्तकी बहिनी हुन्।

चुनावी सभालाई सम्बोधन गर्न प्रदेश नम्बर ५ मा पुगेका रोल्पाली नेता वर्षमान पुन अनन्तले लिवाङकै वडा नम्बर ७ मा रहेको बालोदय माध्यामिक विद्यालय माडिचौरबाट मतदान गर्नेछन्। दाङका चुनावी सभा सकेर बाँकेको नेपालगञ्ज पुगेका नेता पुनले मतदानका लागि असार १३ गतेमात्र रोल्पा पुग्ने बताए। सभामुख ओनसरी घर्तीले पनि सोही केन्द्रबाट मतदान गर्नेछिन्।

माओवादी हेडक्वाटर कमिटीकी सदस्य जयपुरी घर्तीले रोल्पाकै दुईखोली गाउँपालिका वडा नम्बर २ मा रहेको राङसी माध्यामिक विद्यालयबाट मतदान गर्नेछिन्। घर्ती एक महिनादेखि चुनाव प्रचारका लागि रोल्पामा छन्। दुईखोली गाउँपालिका प्रमुखमा कृष्णबहादुर महराका स्वकीय सचिव जितजङ डाँगीले उम्मेदवारी दिएका छन्।

माओवादीका अर्का वरिष्ठ नेता टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्बर ९ अर्घा रहिसचौरमा रहेको मतदानकेन्द्रबाट मतदान गर्नेछन्। त्यसको लागि नेता रायमाझी एकसाता अघि नै गृहजिल्ला अर्घाखाँची पुगिसकेका छन्। 

प्रदेश नम्बर ७ का संयोजक रहेका नेता लेखराज भट्टले कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १मा रहेको घन्टेश्वर माध्यामिक विद्यालय अत्तरियाबाट मतदान गर्नेछन्। चुनावी प्रचारप्रसारमा जिल्लातिरै व्यस्त रहेको नेता भट्टले जानकारी दिए।

प्रदेश नम्बर १ का संयोजक गोपाल किरातीले सोलुखुम्बुको सोताङ गाउँपालिकामा रहेको श्री हुलु निम्न माध्यामिक विद्यालयबाट मतदान गर्नेछन्। पूर्वका विभिन्न जिल्लामा भएका चुनावी सभालाई सम्बोधन गरेर नेता किराती शनिबार नै गृहजिल्ला सोलुखुम्बु पुगेका छन्। 

हेडक्वार्टर सदस्य नारायण शर्माले दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १७मा रहेको जनकल्याण उच्च माध्यामिक विद्यालय दुधरासबाट मतदान गर्नेछन्। शर्मा एकहप्ता अगाडि नै गृहजिल्ला दाङ पुगिसकेका छन्।

नेता तिलक परियारले बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२मा रहेको ज्ञानज्योती माध्यामिक विद्यालयबाट मतदान गर्नेछन्। उनी एक महिनादेखि बाँकेमा चुनावी प्रचारमा छन्। कोहलपुरमा माओवादी केन्द्रका तर्फबाट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने प्रमुखको उम्मेदवार छन्।

केही महिना अगाडि माओवादी केन्द्र प्रवेश गरी हेडक्वार्टर सदस्यमा बढुवा भएका नेता टंक राईले खोटाङको दिक्तेल नगरपालिकास्थित जाल्पा उच्च माध्यामिक विद्यालयबाट मतदान गर्ने नेता गोपाल किरातीले जानकारी दिए।

नेता मणि थापाले प्युठान जिल्लाको प्युठान नगरपालिका वडा नम्बर ८मा रहेको गेजवाङ निम्न माध्यामिक विद्यालयबाट मतदान गर्नेछन्। थापा चुनावी प्रचारको लागि प्युठान पुगिसकेका छन्।

पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले प्युठान नगरपालिका वडा नम्बर ७ बिजुवारमा रहेको स्वर्गद्वारी क्याम्पसबाट, पूर्व खेलकुद मन्त्री दलजीत श्रीपाइलीले रुकुमको भुमही गाउँपालिकाको महतबाट र पूर्व कृषिमन्त्री गौरीशंकर चौधरीले कैलालीको कैलारी गाउँपालिकामा रहेको विजयपुर माविबाट मतदान गर्नेछन्।

यो पनि पढ्नुस्ः एमाले नेताहरू कसले कहाँ भोट हाल्दै?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.