|

काठमाडौं : प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट पाँचजनालाई पक्राउ गरेको छ। अपराध अनुसन्धान महाशाखाको टोलीले एक अपहरण घटनाको अनुसन्धानका लागि काठमाडौंका विभिन्न स्थानबाट पाँचजनालाई पक्रेको हो। पक्राउ परेका मध्ये एकजना पत्रकार छन्। उनी बागबजारबाट पक्राउ परेका हुन्। 

महाशाखाका डिएसपी अजय केसी नेतृत्वको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। डिएसपी केसीका अनुसार शनिबार दिउसो अञ्जु भारती, मदनकृष्ण महर्जन, शक्ति विश्वकर्मा, दिपेश शाही र अर्का व्यक्ति पक्राउ परेका छन्। 

'बालाजुमा अपहरण भएको कुरा आएको थियो। त्यसैको अनुसन्धानका लागि तीनजनालाई पक्राउ गरिएको हो। अनुसन्धान जारी छ।' डिएसपी केसीका अनुसार रामेछाप घर भएका राजुबाबु श्रेष्ठ र उनकी श्रीमतीलाई शनिबार बिहान काठमाडौंको गौशालाबाट अपहरण गरिएको सूचनाका आधारमा उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।  

'चिया पिउँदै गर्दा समातियो'

पक्राउ परेका मध्येका एक दिपेश शाही पत्रकार हुन्। उनी विभिन्न अनलाइनहरूमा समाचार/लेख लेख्छन्। उनलाई चिया खाइरहेको अवस्थामा बागबजारबाट पक्राउ गरिएको घटनाका प्रत्यक्षदर्शी पत्रकार नरेश ज्ञवालीले बताए।

शनिबार दिउसो बागबजारस्थित जिफन्ट कार्यालय नजिकै चिया खाइरहेको बेलामा अचानक प्रहरीले दिपेश शाहीलाई भ्यानमा हालेर लगेको ज्ञवालीले जानकारी दिए। 'जिफन्ट अगाडि हामी चिया खाइरहेका थियौँ। अचानक उनलाई उठाएर लग्यो', ज्ञवालीले भने, 'प्रहरी अरु नै केसका लागि आएको जस्तो लाग्थ्यो। के भएछ भनेर उनी पनि हेर्न गएका थिए। गाडीमा हालेर लगिहाल्यो।'

दिपेशले आफूलाई के का लागि पक्राउ गरिएको हो र कतिबेला छोडिन्छ भन्ने जानकारी नदिइएको बताए। 'मलाई किन ल्याइएको हो र कतिबेला छोडिन्छ थाहा छैन', डिएसपी केसीको फोनबाट थाहाखबरसँग उनले भने।  

पक्राउ परेका सबैजना टेकुस्थित महाशाखामा छन्। अपडेटः शनिबार दिउँसो पक्राउ परेका पत्रकार दिपेश शाही रिहा भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.