|

रुपन्देही : प्रादेशिक राजधानी बनाउने चर्चामा रहेको बुटवलमा अर्को एउटा चर्चा छ-एमालेको विरासत कायम रहन्छ कि कांग्रेसको पुनरागमन हुन्छ? बुटवलमा लगातारका दुई निर्वाचनको नतिजा आफ्नो पक्षमा पारेको नेकपा एमाले जितलाई निरन्तरता दिने रणनीति सहित मैदानमा छ। त्यसलाई चिर्दै कांग्रेसले पुनरागमन गर्न चाहेको छ।

कांग्रेस-माओवादी गठबन्धनबाट कांग्रेसका नगरसभापति खेलराज पाण्डे प्रमुख र माओवादीबाट व्यवसायी जगतबहादुर पोखरेल उपप्रमुख पदमा उम्मेदवार छन् भने एमालेबाट जिल्ला अध्यक्ष शिवराज सुवेदी प्रमुख र मजदुर नेतृ गुमादेवी (गोमा) आचार्य उपप्रमुख पदमा उम्मेदवार छन्। 

विगतका चुनाव र नतिजा

बुटवलका सदावहार प्रतिस्पर्धी कांग्रेस र एमाले नै हुन्। विगतमा दुई-दुईपटक स्थानीय चुनाव जितेका यी दुई दलको यो तेस्रो प्रतिस्पर्धा हो। ०४९ मा कांग्रेसले प्रमुख, उपप्रमुखसहित १२ वटा वडामा जितेको थियो भने एमालेले ३ वटा वडामा मात्रै चित्त बुझाएको थियो। ०४९ मा कांग्रेसका सूर्यप्रसाद प्रधान र रामप्रसाद खनाल विजयी भएका थिए। यो नतिजा २०५४ मा एमालेले पूरै उल्ट्यायो।

कांग्रेसले जसरी प्रमुख, उपप्रमुख र १२ वटा वडामा जित हात पारेको थियो, त्यसैगरी एमालेका भोजप्रसाद श्रेष्ठ र विमलबहादुर शाक्यले जिते। त्यसबेला कांग्रेसको भागमा २ वटा वडा मात्रै परेका थिए भने एउटा वडामा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका थिए।

२०५४ मा नगरपालिकामा प्रवेश गरेको एमालेले बुटवलमा संगठन मात्रै बलियो बनाएन, नगरपालिकामा आफ्ना कार्यकर्तालाई व्यापक रुपमा भर्ना गर्‍यो। जसका कारण बुटवलमा एमालेलाई संविधान सभा निर्वाचन जित्न बल पुग्यो।  

०५६ सालमा विष्णु पौडेललाई पराजित गरेका कांग्रेसका सूर्यप्रसाद प्रधान ०६४ र ०७० सालको संविधानसभा चुनावमा पौडेलसँगै पराजित भए। पौडेलले बुटवल सहितको रुपन्देही क्षेत्र नम्बर ४ मा १९ हजार ५ सय ७७ मत प्राप्त गरी विजयी भएका थिए। दोस्रो स्थानमा रहेका कांग्रेसका सूर्यप्रसाद प्रधानले १३ हजार ६ सय ३२ मत प्राप्त गरेका थिए।

तत्कालीन एकीकृत माओवादीका वरिष्ठ नेता तथा पूर्व-प्रधानमन्त्री बाबुराम भट्टराईलाई कांग्रेस र एमाले दुवैले पछि पारेका थिए। भट्टराईको ११ हजार ९ सय ३४ मत आएको थियो। अघिल्लो चुनावमा कांग्रेस र माओवादी दुवैले प्राप्त गरेको मत जोड्दा २५ हजार ५ सय ६६ मत हुन आउँछ। यो एमालेले एक्लैले पाएको मतभन्दा ५ हजार ९ सय ८९ मत बढी हो।

रुपन्देहीको क्षेत्र नम्बर ४ मा तत्कालीन बुटवल नगरपालिकासहित साविक मोतीपुर र पर्रोहा गाविस पर्दछ। २०७२ साल बैशाखमा बुटवल नगरबाट उपमहानगरमा स्तरोन्नति हुँदा मोतीपुर त बुटवलसँग समेटियो। तर पर्रोहा अर्को साविक गाविससँग मिलेर नगरपालिका बन्यो। तर बुटवलमा क्षेत्र नम्बर ३ मा रहेको साविक सेमलार गाविस पनि समाहित भयो।

एमाले चाहन्छ नतिजामा निरन्तरता, कांग्रेस चाहन्छ पुनरागमन

एमाले संविधान सभा निर्वाचनमा पूर्वप्रधानमन्त्री समेत रहेका क्षेत्र नम्बर ४ का उम्मेदवार बाबुराम भट्टराईलाई मत नदिएर विष्णु पौडेललाई जिताएका मतदाताको मन नबदलिनेमा ढुक्क छ। ‘एमालेले विगतमा गरेका काम र अहिलेसम्मको नतिजाकै आधारमा बुटवलको चुनाव जित्छ,-बुटवलका पूर्वप्रमुख तथा एमाले रुपन्देहीका पूर्व-अध्यक्ष भोजप्रसाद श्रेष्ठ भन्छन्। एमालेले बनाएको संगठनको प्रभावले आफ्ना मतदाता परिवर्तन नभई तटस्थ भएको तर्कसहित कांग्रेस बुटवलमा कांग्रेसको पुनरागमन हुने बताउँछ।

‘बुटवलमा एमालेले एकपक्षीय राजनीति गरेको छ, उसलाई बुटवलबाट हराएर समान खालको सामाजिक अस्तित्व होस् भन्ने चाहना मतदाताको छ, यसकारण पनि हामी जित्छौं–कांग्रेस बुटवलका उपसभापति विमलराज भट्टराई भन्छन्।

उम्मेदवार चयनमा भएको विवादका कारण एमालेका केही सांगठनिक मतदाताले नै कांग्रेस–माओवादी गठबन्धनलाई मतदान गर्ने उनी तर्क गर्छन्। एमालेभित्रको विवादको फाइदा गठबन्धनलाई हुने उनको दाबी छ। तर व्यक्तिले नभई संगठनका कारण एमालेले चुनाव जित्नेमा ढुक्क देखिन्छन् पूर्व अध्यक्ष श्रेष्ठ। ‘चुनाव व्यक्तिले हैन, पार्टीले जित्छ, उनी भन्छन्।

एमाले उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल निर्वाचित भएको क्षेत्र भएका कारण पनि बुटवल उपमहानगरको चुनावलाई प्रतिष्ठाको विषय बनाएको छ। बुटवलमा कांग्रेस–माओवादीको गठबन्धन विजयी भएमा पौडेलले आगामी निर्वाचनमा जित हात पार्न नसक्ने विश्लेषण पार्टीपंक्तिमा उठेपछि पौडेल नै एमाले उम्मेदवारलाई विजयी बनाउन अनुरोध गर्दै घरदैलोमै सहभागी भएका छन्।

राजधानी कार्ड र भौगोलिक परिवर्तनले नतिजा प्रभावित होला?

प्रदेश नम्बर ५ को सम्भावित राजधानी र आर्थिक केन्द्रको रुपमा विकास हुँदै गरेको बुटवललाई राजनीतिक दलहरुले बढी चासोको रुपमा हेरेका छन्। बुटवलमा जीत निकाल्नु साविकको लुम्बिनी अञ्चलकै नेतृत्व गर्नु सरह हुने नेताहरुको बुझाई छ। त्यसैले पनि बुटवलको चुनाव राजनीतिक प्रतिष्ठाको विषय बनेको छ।  अखण्ड पाँच नम्बर प्रदेशको आन्दोलन र बुटवल नगरपालिका उपमहानगरपालिका बन्दा गाभिएका साविकका गाविसका मतदाताको आस्थाका कारण मत विभाजन हुनसक्ने दलहरुको आँकलन छ। 

दलहरुले प्रादेशिक राजधानीको कार्ड अघि सारेका छन्। कांग्रेस–माओवादी गठबन्धन र एमालेले बुटवललाई राजधानी बनाउने एउटै एजेन्डा प्रचारमा ल्याएका छन्। अखण्ड ५ नम्बरको नारालाई एमालेले जोडतोडका साथ प्रचार गरिरहेको छ।

साविकका दुई गाविस सेमलार र मोतीपुर गाभिएर उपमहानगर बनेको बुटवलमा झण्डै साढे ६६ हजार मतदाता रहेका छन्।  भूगोल फेरिएसँगै नतिजामा पनि परिवर्तन आउनसक्ने आँकलन पनि दलहरुले गरेका छन्। निर्वाचन क्षेत्र नम्बर ४ बाट साविकको सेमलार गाविस बुटवलमा गाभिनु र पर्राहा गाविस छुट्निुले नतिजामा परिवर्तन ल्याउने आँकलन दलहरुको छ। छुट्टिएको पर्राहा एमालेको पकड क्षेत्र हो भने सेमलारमा कांग्रेसको। जसका कारण पनि एमालेविरुद्ध जित हात पार्ने दाउमा छ कांग्रेस।   

कुन वडामा कसका मत कति ?, ध्यानजति वडा नम्बर ११ मा

बुटवल उपमहानगरमा १९ वटा वडा छन्। कांग्रेसले केही वडामा माओवादी र जनमुक्तिसँग तालमेल गरेको छ। जसका कारण गठबन्धनले सबै वडा जित्ने उसको तर्क छ। ५ वटा वडा कांग्रेस एक्लैले जित्ने र अरु केहीमा गठबन्धनले जित्ने कांग्रेसको आँकलन छ। एमालेले १३ वटा वडामा जित हात पार्ने आँकलन गरेको छ।  माओवादी केन्द्रले ६ वटा वडामा आफ्नो पार्टी बलियो रहेको दाबी गर्छ।

बुटवलको नतिजामा धक्का दिनसक्ने वडा हो वडा नम्बर ११। यो वडाको अधिकांश बस्ती लालपूर्जाविहीन छ। यही कमजोरीको फाइदा उठाउँदै दलहरु लालपूर्जा कार्ड पनि चुनाबी नाराको रुपमा ल्याएका छन्। ११ हजार ६ सय ५० मतदाता रहेको वडा नम्बर ११ मा दलहरुले बिहानदेखि रातीसम्म मतदाता आकर्षित गर्न कसरत गरिरहेका छन्।

विगतका चुनावमा पनि चामल, सारी, खानपिन जस्ता विवादास्पद घटनाहरु सार्वजनिक हुने सो वडा अहिले पनि दलहरुकै निगरानीमा छ। ५ हजार मतदाताले सो वडाबाट एमालेलाई भोट हाल्ने आँकलन गरिरहँदा कांग्रेस–माओवादी गठबन्धन ३ हजार भन्दा बढी मत ११ नम्बर वडाबाट आए सजिलै जित हात पार्न सकिने बताउँछन्। प्रमुख र उपप्रमुखसहित ९७ जना निर्वाचित हुने उपमहानगरमा प्रमुख दलसहित ४ सय ३४ जना उम्मेदवार चुनावी मैदानमा छन्।

प्रमुखका उम्मेदवार यसो भन्छन्

भूगोलको हिसाबले पाण्डे र सुवेदी एउटै बेल्टका हुन्। पाण्डे स्याङ्जाबाट बुटवल आएका हुन् भने सुवेदी कास्कीबाट। विद्यार्थी राजनीतिबाट मुलधारको राजनीतिमा प्रवेश गरेका यी दुईको अनुभव उत्तिकै छ। बुटवल उपमहानगरमा कांग्रेसको राजनीति गर्दै पाण्डे दुईपटकसम्म नगरसभापति भइसके भने सुवेदी त्यसभन्दा केही माथि पुगेका छन्।

सुवेदी जिल्ला सचिव हुँदै अहिले अध्यक्ष हुन्। उनीहरुका एजेण्डा पनि उस्तैउस्तै छन्। प्रदेश नम्बर पाँचको राजधानी बुटवललाई बनाउने, तिनाउ र दानव नदीलाई व्यवस्थित गर्दै लाभ लिने, सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड सुरक्षित बनाउन सुरुङमार्ग बनाउने वा वैकल्पिक मार्ग बनाउने, बुटवललाई महानगरपालिका बनाउने, शैक्षिक–आर्थिक केन्द्र बनाउने जस्ता योजना दुवैका प्रतिवद्धताका सूचीमा समेटिएका छन्।

उनीहरु दुवैले एउटा अर्को समान दाबी गर्छन्–जितको। ‘हाम्रो संगठन र विगतका कामको मूल्यांकन हेरेर पनि मतदाताले मलाई नै चुन्नेछन्, यसमा म ढुक्क छु’–एमालेका उम्मेदवार सुवेदी भन्छन्।

कांग्रेस उम्मेदवार पाण्डेको दाबी पनि उही नै हो–‘बुटवललाई एमालेको दृष्टिबाट मात्रै हेरेर हुँदैन, यहाँ सबैको समान अस्तित्व हुनुपर्छ भन्ने यहाँका बासिन्दाको चाहना छ, त्यसैले नै हामीले अरु पार्टीहरुसँग पनि एकसाथ हिड्ने निर्णय गरेका छौं, जित गठबन्धनकै हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.