|

काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धानको दायरालाई फराकिलो पार्नुपर्नेमा जोड दिइएको छ। सरकारलाई परिषद्ले नीति तथा कार्यक्रम तर्जुमा, स्वास्थ्य अनुसन्धानमा नियमन तथा स्वास्थ्य अनुसन्धानको क्षमता अभिवृद्धिमा दुई दशकदेखि सहयोग गर्दै आएको छ।

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा परिषद्ले सञ्चालनमा ल्याएको वेबपोर्टलको उद्घाटन गर्दै स्वास्थ्य मन्त्रालयका सचिव किरण रेग्मीले परिषद्मा सङ्ख्यात्मक अनुसन्धानमा निकै वृद्धि भए पनि गुणस्तरीय अनुसन्धान प्रतिवेदनमा निकै थोरै मात्र उपलब्धि हासिल भएकाले गुणस्तरीय अनुसन्धानको दायरा फराकिलो पार्न परिषद्को ध्यानाकर्षण गरे। 

उनले नेपाली अनुसन्धान, लेख आदि अन्तर्राष्ट्रिय क्षेत्रमा लगेर अनुभवको आदानप्रदान गर्नुपर्ने बताउँदै प्रयोगशाला तथा सम्बन्धित क्षेत्रमा गई गरिने अनुसन्धानलाई नयाँ आयाम थपेर व्यवस्थित गर्नुपर्नेमा जोड दिए।

परिषद्का कार्यकारी अध्यक्ष डा. अञ्जनीकुमार झाले परिषद्लाई बदलिँदो परिवेशमा स्वतन्त्र रुपमा काम गर्ने वातावरण तयार पार्नुपर्नेमा जोड दिए। परिषद्का मानार्थ अध्यक्ष डा. मृगेन्द्रराज पाण्डे, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ विनोद श्रेष्ठलगायतले नेपालमा स्वास्थ्य क्षेत्रमा चुनौती थपिँदै गएकाले सरकारको विशेष ध्यान केन्द्रित हुनुपर्ने बताए।

सङ्घीयतामा जाँदा परिषद्को ढाँचा तयार गर्न प्रतिवेदन तयार पारिएको, परिषद्ले गरेको राष्ट्रिय दीर्घ रोग सर्वेक्षणमा नसर्ने रोगका रोगीको प्रतिशत ६० भन्दा बढी रहेको, मानसिक स्वास्थ्य सम्बन्धमा इलाममा अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने काम भइरहेको जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.