|

बैतडी : असार १४ गते स्थानीय तहको निर्वाचनमा बैतडीको दशरथचन्द नगरपालिकामा जिल्लाकै सबैभन्दा ठूलो प्रतिस्पर्धा हुने देखिएको छ। जिल्लाकै पहिलो तथा जिल्ला सदरमुकाम रहेको यो नगरपालिकालाई सबै दलले आफ्नो प्रतिष्ठाको केन्द्र बनाएका छन्।

दशरथचन्द नगरमा दलहरुले उम्मेदवार घोषणा गर्नुपूर्व नेपाली कांग्रेसले जित्ने चर्चा हुन्थ्यो। तर कांग्रेसभित्रको किचलोको फाइदा उठाउदै नेकपा एमाले र माओवादी केन्द्रको आक्रामक प्रचार प्रसारले फेरि त्रिपक्षीय प्रतिस्पर्धाको चर्चा हुन थाल्यो।

जब अखण्ड सुदूरपश्चिम आन्दोलनका कमाण्डर पुष्करराज जोशी ‘लख्खाभाइ’ले राप्रपाबाट दशरथचन्द नगरपालिका प्रमुखमा उम्म्देवादरी दर्ता गरे त्यसपछि नयाँ आँकलन सुरु भएको छ। कांग्रेसको बलियो पकड रहेको यो नगरमा उसको भोट काट्ने उम्म्मेदवार लख्खाभाइ हुन्।

दशरथचन्द नगरपालिकामा नेपाली कांग्रेसले नरेन्द्र थापा, नेकपा एमालेले देवदत्त भट्ट र नेकपा माओवादी केन्द्रले खिमानन्द भट्टलाई प्रमुखको उम्मेदवार बनाएको छ। त्यस्तै उपप्रमुखमा कांग्रेसबाट मीना चन्द, एमालेबाट सरस्वती नेपाली, माओवादी केन्द्रबाट कमला कार्की र राप्रपाबाट अम्विका भण्डारी उम्मेदवार बनेका छन्।

यसकारण लख्खाभाइको सम्भावना

पहिलो संविधानसभा विघटन हुनुअघि ३२ दिनसम्म सुदूरपश्चिममा आमहड्तला गरेर उनकै नेतृत्वमा अखण्ड सुदूरपश्चिम आन्दोलन चलेको थियो। २०७० संविधानसभाको दोस्रो निर्वाचनमा अखण्ड सुदूरपश्चिम पार्टी खोलेर बैतडीको क्षेत्र नम्बर २ बाट लडेका उनले सम्मान जनक हार बेहोरेका थिए।

लख्खाभाइ नेपालमा भन्दा पनि भारतको छिमेकी राज्य उत्तराखण्ड र उत्तर प्रदेशमा चर्चित छन्। २०६० मा कुमाउँ विश्वविद्यालय, नैनितालको छात्र महासंघको सभापति निर्वाचित भएर उनले चर्चा बटुलेका थिए। नेपालबाहिरका विश्वविद्यालयमा निर्वाचनबाट विद्यार्थी संगठनको नेतृत्वमा पुग्ने उनी पहिलो नेपाली विद्यार्थी हुन्।

उत्तर प्रदेशबाट उत्तराखण्ड अलग हुँदा आन्दोलनको नेतृत्व गरेका कारण पनि उनी उत्तरप्रदेश र उत्तराखण्डमा चर्चित छन्। उनकै पहलमा सन् १९७१ मा भारतको पिथौराढमा मारिएका बैतडीको पुर्चौडीका सोभान सिंह नेपालीको २०६० मा भारत सरकारले शालिक निर्माण गरेको थियो। 

२०५४ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृहजिल्ला बैतडीमा जिल्ला सभापतिसहति अधिकांस गाविसमा राप्रपाले जितेको थियो। अहिले जिल्लाभरी त्यो अवस्था छैन तर अखण्ड सुदूरपश्चिम पार्टी राप्रपामा विलय भएपछि राप्रपाको केन्द्रीय सदस्य रहेका लख्खाभाइ दशरथचन्द नगरपालिकाको प्रमुखमा उम्मेदवार उठ्दैछिन्। राप्रपाले प्रतिष्ठा जोगाउनकै लागि लख्खाभाई जिताऔ अभियान तीब्र पारेको छ। दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका बासिन्दा लख्खाभाइले दशरथचन्द नगरपालिकामा उम्मेदवारी घोषणा गरेपछि ठूला दल झस्किएका छन्। किनकी यो नगरमा लख्खाभाइको बलियो पकड छ।

नगरपालिकामा सबैभन्दा बढी मतदाता रहेको ग्वाल्लेक लख्खाभाइको गाउँ हो। अखण्ड सुदूरपश्चिम आन्दोलनको सफल नेतृत्व गरेकाले युवा नेता लख्खाभाइको पक्षमा युवाहरुको आकर्षण छ। ‘राजनीति कसरी गर्नुपर्छ, विकास कसरी गनुपर्छ भन्ने देखाउन मेयरको उम्मेदवार बनेको हुँ’ उनले भने।

यस्तो छ कांग्रेसको दबदबा

२०७० सालको संविधानसभाको निर्वाचनमा कांग्रेसले जितेको क्षेत्र नम्बर २ मा पर्ने दशरथचन्द नगरपालिकाको मुख्य दाबेदार नेपाली कांग्रेस नै हो। इमान्दर छविका कांग्रेस जिल्ला सभापति थापा स्वयं यो नगरमा प्रमुख उठेपछि जनमत कांग्रेसको पोल्टामा जाने आंकलन गरिन थालिएको छ। ‘मेरो उम्मेदवारी जित सुनिश्चित गर्नका लागि हो’ घरदैलो अभियानमा जुटेको थापाले भने।

एमाले र माओवादी केन्द्रको जित्ने आधार के?

एमाले र माओवादी केन्द्रले पनि दशरथचन्द नगरपालिकामा जित्ने दाबी गरेका छन्। कांग्रेसको भोट लख्खाभाइले काट्ने र आफ्ना उम्मेदवारको पक्षमा नतिजा आउने दुबै पार्टीको आंकलन छ। यो नगरमा हामी विगतमा कमजोर भएपनि अहिले जनमत बढेको छ,’ एमालेबाट मेयरका उम्मेदवार देवीदत्त भट्टले भने, ‘कांग्रेस कमजोर बन्दै गएको वेला राप्रपाले उसलाई झन डुबाउँछ।’ 

यस्तै माओवादी केन्द्रले मेयरमा उठाएका खिमानन्द भट्ट यस क्षेत्रका बुहसंख्यक दलित समुदायमा लोकप्रिय छन्। मदिरा तथा सुर्तीजन्य पदार्थ विरोधी अभियन्ता भट्ट महिलाहरुको पनि मन जितेका उम्मेदवार हुन्। उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत उनलाई उद्योगी व्यवसायीहरुको भोट पनि तान्नेछन्।

इमान्दार छवि भएका माओवादीका उम्मदेवार भट्टको नगरभित्रका अधिकांश गाउँमा इष्टमित्रको बाक्लो उपस्थिति छ। ‘गाउँगाउँमा मेरा इष्टमित्र छन्’ प्रमुखका उम्मेदवार भट्टले भने, ‘मेरो पक्षमा दलित समुदायदेखि महिला दिदिबहिनीहरुको पनि ठूलो समर्थन छ।’

कांग्रेसको भोट राप्रपाले काट्दा माओवादी केन्द्रका उम्मेदवार भट्टलाई पनि प्रतिस्पर्धा गर्न सजिलो भएको पार्टीका नेताहरुले बताउने गरेका छन्। जिल्लाका अन्य तहमा भने त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.